मनिषा बस्नेत
ललितपुर, १० असार । ललितपुर महानगरपालिका–२७ मा पर्ने सुनाकोठीमा एउटा कृषि फर्म छ । फर्मभित्र काँक्रा र फर्सीका लहरा झाँगिएका छन् । लहरामा पहेँला फुलहरु फक्रिँदै छन् । हरिया बुट्टामा खुर्सानी फस्टाउँदै छ । लहरामा सिमी र बोडीहरु हुर्किँदै छन् । टनेलभित्र र बाहिर काउली उसैगरी हुर्किँदै छ । फर्मभित्र स्थानीय परिश्रमी महिलाहरु दिनरात नभनी सक्रिय छन् ।
तिनै परिश्रमी एकल महिलाहरुले सञ्चालनमा ल्याएको ‘छहारी कृषि एकल महिला फर्म’ तरकारी उत्पादनका लागि उदाहरणीय मात्र छैन, ‘एकल’हरुले केही गर्न सक्दैनन् भन्ने परम्परागत सोचलाई चुनौती दिइरहेको छ ।
हुन पनि एकल महिला भन्नेबितिकै हाम्रो मानसपटलमा ‘विधवा’ महिलाको चित्र घुम्छ । एकल भइसकेपछि एक्लो हुन्छन् भन्ने सोच यद्यपि कायम छ । समाजमा जरा गाडेर बसेको एकलप्रति सोच अब फराकिलो बन्दै गइरहेको छहारीले पुष्टि गर्दै गइरहेको छ ।
पछिल्लो समय वैदेशिक रोजगारी कारणले होस् या दुर्घटनामा परेर या सम्बन्धविच्छेदका घटना बढिरहँदा एकल महिलाको संख्या बढ्दै गएको छ । दशवर्षे माओवादी सशस्त्र द्वन्द्वमै पनि नौ हजारभन्दा बढी महिला एकल भएका थिए । अन्य थुप्रै घटनाहरुका कारण एकल भएका सुनाकोठीका महिलाहरु भने अब्बल सावित भएका छन् ।
‘छहारी’को नेतृत्व गरिरहनुभएको छ सबिता मर्हजनले । २२–२३ वर्षमा दौडिरहेका बेला दुर्घटनामा परी श्रीमान् गुमाउनुभएकी सविताले केही एकलहरुलाई संगठित गरेर सुरु गर्नुभएको थियो कृषि फर्म । एकल महिलाहरुको अधिकार र उद्यमशिलतालाई केन्द्रबिन्दुमा राखेर संगठित भएका उनीहरुले कृषि फर्ममार्फत गतिलो उदाहरण पस्किदिएका छन् ।
आर्थिक र शैक्षिक अवस्था फरक भए पनि जुनसुकै उमेरका एकल महिला धर्म र संस्कारका नाममा भेद्भाव सहँदै आइरहेको गुनासो सबिताको छ । श्रीमान श्रीमती मिलेर पसल सञ्चालन गर्दै आइरहनुभएकी सविता श्रीमान्को मृत्युपछि पसल गर्दाको भोगाइ सम्झिँदा अहिले पनि त्रसित हुन्छिन् । तर, हिम्मत नहारेको स्वीकार्छिन् ।
“त्यो बेला मेरो पसल थियो । सेतो लुगा लगाएर पसलको लागि सामान लिन जाँदाको भोगाइ आज पनि ताजा लाग्छ । तर, अहिलेका महिलाले त्यस्तो भोग्नु परेको छैन होला । श्रीमान्को मृत्युपछि रातो लगाउन नहुने संस्कार रहेकाले एक वर्षसम्म सेतो लुगा लगाउँदा सेतो देखेरै तर्सिन्थे । कति गाह्रो भयो भनेर साध्य छैन । विभिन्न आरोप लगाउने, सुन्नै नसक्ने शब्दहरुको प्रयोग गरेको सुन्दा मन कुडिन्थ्यो,’ उहाँले विगत स्मरण गर्दै भन्नुभयो ।
तर, उहाँकै अगुवाइमा सुनाकोठीका दुःखी, गरिब र वेसहारा एकल महिलाहरुको दुःख भुल्याउने सारथीका रुपमा छहारी एकल महिला कृषि फर्म सञ्चालनमा ल्याएको महर्जनले जानकारी दिनुभयो । एकल महिलाहरुको सीप र क्षमतालाई उत्पादनसँग जोडेर नयाँ पहिचान स्थापित गराउन कृषि क्षेत्र रोजेको उहाँले बताउनुभयो ।
अहिले कृषि फर्मका टनेलहरुमा गोलभेँडा, काँक्रो र बोडीहरु फलिरहेका छन् भने टनेल बाहिर मकै र सिमी फस्टाएका छन् ।
विषदीरहित तरकारी उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फर्ममा बेसारदेखि पिडालुसम्म रोप्ने गरिएको छ । आफूले भोग्नुपरेको दुःख अरु एकल महिलाले भोग्नु नपरोस् भनेर छहारी एकल महिला समूह र कृषि फर्मको सुरुवता गरेको सविताले बताउनुभयो ।
२८ रोपनीमा फैलिएको फर्ममा सुरुवाती दिनमा २५ जना सदस्य थिए । अहिले त्यो संख्या बढेर ३६ पुगेको छ । सामूहिक रुपमा काम गर्दा आफूमात्र नभइ दुःखलाई सुखमा परिणत गर्ने स्थल भएकोले छहारी नाम दिइएको पनि उहाँले सुनाउनुभयो ।
२०६८ सालमा एकल महिला समूह गठन भएपछि ०७१ सालतिर फर्म सुरु गरिएको उहाँले जानकारी दिनुभयो । फर्ममा ३५ देखि ७० वर्ष उमेर समूहका महिलाहरु दिनरात सक्रिय छन् ।
खुसी बिसाउने छहारी
कृषि फर्ममा आबद्ध भएका महिला र केही स्थानीयहरुका लागि उक्त फर्म आत्मरिर्भर रहने मात्र नभइ खुसी बिसाउने माध्यम पनि बनेको छ । ३८ वर्षको उमेरमा एकल हुन पुगेकी प्रेम कुमारी महर्जन घरमा बस्नुभन्दा फर्ममा काम गरी आफ्नो जीवनयापन गरिरहेको बताउनुहुन्छ । फर्ममा जाँदा आफू मात्र एकल नभएको महसुस हुने भएकाले खुसी बिसाउने छहारी बनेको सुनाउनुहुन्छ ।
“३८ वर्षको उमेरमा श्रीमान् क्यान्सरले बित्नुभयो । त्यसबेला छोरी ११ वर्ष र छोरा १४ वर्षको थियो । छोराछोरी पढाउन र हुर्काउन सविताको माध्यमबाट फर्ममा आवद्ध भएकी हुँ,” उहाँले भन्नुभयो, “घरमा बस्नुभन्दा दिनभरि फर्ममा काम आत्मसन्तुष्टि मिलेको छ ।”
फर्मकी अर्की सदस्य श्याम माया महर्जन उस्तै साथीहरुसँग मिलेर काम गर्दा रमाइलो हुने र दुःख बिर्सिने बताउनुहुन्छ । उहाँले उत्पादन भएका तरकारीले उचित मूल्य नपाउँदा ज्याला पाउन नसकेको गुनासो गर्नुभयो ।
“काम त भइरहेको छ तर श्रमको उचित्र मूल्य पाएका छैनौँ । किनभने हामीले उत्पादन त गर्यौँ तर आफ्नो मूल्यमा बेच्न पाएनौँ । राम्रो हुँदाहुँदै पनि बेच्न सकेका छैनँ,” उहाँले भन्नुभयो, “तैपनि काम गर्ने उत्साह छ । उस्तै उमेरका साथीहरु छौँ । घरमा भन्दा फर्ममा काम गर्दा कति रमाइलो कति रमाइलो । दुःख पनि बिर्सिने, बोल्न, हास्न पाइने रहेछ । मिलेर काम गर्न पाइन्छ ।”
यस्तै, अर्की सदस्य चनमाया महर्जनले आफूहरु संगठित भएको १५ वर्ष वितेकाले धेरै कुरा सिक्न पाएको सुनाउनुभयो । “हामी संगठित भएको १५ वर्ष वित्यो । सुरुमा एकल महिला समूह थियो । बचत उठाउथ्यौँ । कोहीलाई नाम पनि लेख्न आउँदैनथ्यो । अहिले लेखपढ गर्नपनि जान्ने भएका छौँ,” उहाँले अगाडि भन्नुभयो, “ दिनभर यही फर्ममा आउँछौँ । दिनभरि काम गर्छौँ अनि खाजा खाएर जान्छौँ । काम गर्न रमाइलो छ । उत्पादिन सामग्रीको उचित बजार नपाएकाले ज्याला लिन पाएको छैन, अब पाइन्छ की भन्ने आश हुन्छ । फाइदामा भयो भने ज्याला पाइएला ।”
बजारीकरणको समस्या
फर्ममा उत्पादन भएको तरकारीहरुले उचित मूल्य पाउन नसकेको फर्मका सदस्यहरुको गुनासो छ । “बजारमा विषादी भएको र अर्गानिक पनि त्यही मूल्यमा बेच्नुपर्दा मारमा परेका छौँ । दुईथरी तरकारीको उहीँ मूल्या पाउन सकिरहेका छैनौँ । अर्गानिक उत्पादन त गरेका छौँ तर मूल्य पाएका छैनौँ । सबैभन्दो ठुलो समस्या भनेकै बजारको छ,” सबिताले भन्नुभयो ।
आफूहरुले थोरै उत्पादन गर्ने तर स्वस्थ गर्ने भएको भए पनि अर्गानिक र विषादी मिसिएको तरकारीबारे बुझाउन नसकिएको र उपभोक्ताले पनि बुझ्न नचाहैको उहाँको गुनासो छ । सम्बन्धित निकायले विभिन्न ठाउँमा हाटबजार राखिदिए राम्रो हुने उहाँले बताउनुभयो । सरकारले बजार मात्र राम्रो व्यवस्थापन गरिदिए जतिपनि सामग्री उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।
यता, बाग्मती प्रदेश सांसद रघुनाथ महर्जनको राज्यले एकल महिलाहरुलाई दिने रकम प्रर्याप्त नभएको भन्दै सम्बन्धित ठाउँमा आवाज नपुगेको बताउनुभयो । एकल महिलाहरुको डाटा संकलन गरेर अवस्थाअनुसार राहत र अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
एकल महिलाहरुको श्रेणी छुट्याएर राज्यले काम गर्नुपर्ने औंल्याउनुभयो । उहाँले बागमती सरकारले संघीय सरकारलाई दबाब सिर्जना गर्ने साथै प्रदेशले आवश्यक समन्वय गर्ने बताउनुभयो । -नेपाल न्यूज बैंक