आकांक्षा धामी
काठमाडौँ, ८ असार । नेपाली संगीत क्षेत्रका चर्चित संगीतकर्मी अर्जुन पोखरेलको संगीत यात्रा उहाँको बाल्यकालमै सुरु भएको हो । उहाँका बुबा चितवन भजन टोलीका अध्यक्ष हुनुहुन्थ्यो भने आमा लोकदोहोरी गायिका । यही पारिवारिक वातावरणले उहाँलाई संगीतप्रति प्रेरित गर्यो ।
पोखरेलले बाल्यकालमै मादल बजाउन सिके र बुबाआमासँगै भजन गाउँथे । “म चार–पाँच कक्षादेखि नै चर्चित थिएँ, ’उहाँ सम्झनुहुन्छ, “त्यतिबेला डिजिटल प्लेटफर्म भएको भए, म भाइरल बालक नै हुन्थेँ ।”
एसएलसीपछि काठमाडौँ यात्रा
एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उहाँ काठमाडौं आएर संगीत अध्ययन थाल्नुभयो । “बुवाआमाले भने, जुन विषय मन पर्छ, त्यहीँ पढ्,” पोखरेल भन्नुहुन्छ । यतैबाट उहाँले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्यो’ जस्ता गीतमार्फत् लोकगायनमा आफ्नो उपस्थिति जनाउनूभयो ।
संघर्षपूर्ण यात्रा
उहाँको प्रारम्भिक संघर्ष सजिलो थिएन । “त्यो बेला फिल्मका हिरो, हिरोइन, निर्माता भेट्नु अति कठिन थियो,’ उहाँले भन्नुभयो,‘हामीसँग प्रतिभा थियो, तर अवसर थिएन । आजको जस्तो डिजिटल सजिलो नभएकाले आफूजस्ता संगीतकर्मीले कति संघर्ष गर्नुपर्यो भन्ने कुरामा समाज अझै बेखबर छ ।”
संगीतमा सिर्जना र रोयल्टीको चुनौती
पोखरेलका अनुसार, संगीतकारको मूल शक्ति भनेको नवीन ‘मेलोडी’ सिर्जना गर्ने क्षमता हो । “तर, यति धेरै फरक फर्मुला प्रयोग गर्दा पनि हामीले सबै ठाउँबाट रोयल्टी सजिलै पाएका छैनौँ,” उहाँ गुनासो गर्नुहुन्छ । उहाँले भाषा र संगीत ज्ञानलाई अत्यन्तै आवश्यक मान्नुभएको छ । “‘गीत चल्दो छ, तर भाषागत रूपमा अशुद्ध छ भने त्यो दीर्घकालीन हुँदैन,” उहाँ भन्नुहुन्छ ।
जीवनसँग जोडिएका गीत
पोखरेलले गीतहरूलाई जीवनका यथार्थ अनुभवमा आधारित बनाउने गर्नुहुन्छ । “सम्भव नहुने कल्पना म लेख्दिनँ,” उहाँ स्पष्ट पार्दै भन्नुहुन्छ । हालै श्रीमतीलाई समर्पण गरेर तयार गरेको गीत चाँडै सार्वजनिक गर्ने तयारीमा छन् पोखरेल ।
उहाँको गीत ‘मेरी प्यारी छोरी’ पनि व्यक्तिगत भावनासँग जोडिएको छ । “संगीत दिवसको एक दिनअघि मात्रै उहाँको छोरी जन्म भएको थियो,’ उहाँ सम्झनुहुन्छ ,‘त्यही बेला मैले अस्पतालमा बसेर गीत लेखें ।”
एआईको प्रभाव र भविष्यको सोच
पोखरेल एआई (कृत्रिम बौद्धिकता)लाई आवश्यक मान्छन्, तर सीमित रुपमा । “एआईले सिर्जना गर्न सक्छ, तर त्यो मानवीय भावनासँग मेल खान सक्दैन,’ उहाँको तर्क छ ।
रोयल्टी प्रणालीमा सुधार आवश्यक
रोयल्टी संकलन प्रणालीमा व्यापक सुधारको माग गर्दै उहाँले सरकारलाई चेतावनी दिनुभएको छ । “नेपालमा रेडियो, टेलिभिजनमा बज्ने गीतको तथ्यांक राख्ने सर्भर राख्नुपर्छ,” उहाँले भन्नुभयो । हालै दुई महिनाअघि सबैभन्दा बढी रोयल्टी भुक्तानी पाउने संगीतकर्मी उहाँ स्वयं रहे पनि, प्रणाली अझै स्पष्ट नभएको उहाँ बताउनुहुन्छ ।
उत्पादनबाट मञ्चसम्मको यात्रा
चलचित्र ‘दिलमाया’को गीत ‘छुट्छ कि साथ, टुट्छ कि नाता’ उहाँका पहिलो गीतमध्ये पर्दछ । त्यसपछि ‘बाटो मोडेर गयौँ’ ‘किन आजकल तिम्रो मन मौलो भो’ जस्ता गीतहरूले उहाँलाई लोकप्रिय बनाए । अब चाडपर्वसँग जोडिएका गीत सार्वजनिक गर्ने तयारीमा रहनुभएका पोखरेल भन्नुहुन्छ, “संगीत मेरो जीवन हो, भावना हो, यही नै मेरो पहिचान हो ।” नेपाल न्यूज बैंक