सरकारका प्रतिनिधिहरुले योगको महत्त्व बुझ्नै सकेनन् : योग गुरु दाहाल [भिडिओ]

सरकारका प्रतिनिधिहरुले योगको महत्त्व बुझ्नै सकेनन् : योग गुरु दाहाल [भिडिओ]

काठमाडौँ, ७ असार । योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । अस्थिर मन र शरीररलाई स्थिर बनाउनुको लागि योगले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ ।

योगमार्फत मानिसले आफूभित्रको ऊर्जाको प्रयोग गरेर रोगलाई निरोध गर्न सक्छ भन्ने भनाइ छ । धार्मिक विश्वासअनुसार योगको ८४ आसन भगवान शिवबाट संसारिक जीवलाई प्राप्त भएको विश्वास गरिएको छ । आधुनिक युगमा योगलाई अपरिहार्य ठान्न थालिएको छ । व्यस्त र असन्तुलित जीवन शैलीका कारण स्वास्थ्यमा विभिन्न असरहरु देखिँदा योगलाई एक उपचार पद्धतिको रुपमा अपनाउन थालिएको छ ।

तनाव र मानसिक समस्या वा डिप्रेसनका कारण कति मानिसले आत्महत्यासम्म पनि गर्ने गरेका छन् । यस्तो अवस्थाका लागि पनि योग महत्त्वपूर्ण मानिएको छ । मानव शरीर र दिमागलाई शान्त राख्नका लागि योग आवश्यक ठानिन्छ ।

पूर्वीय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शब्दको प्रयोग हुँदै आएको र हिन्दु धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि लिएर कर्मक्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ ।

योग गुरु भानुभक्त दाहालले मानिसको स्वास्थ्यमा नसर्ने रोगको लागि सबैभन्दा उपयुक्त औषधि र उपचार योग भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार योगले शरीरको प्रणालीहरुलाई ठिक बनाउनका साथै रोगसँग लड्न सक्ने क्षमता बढाउने काम गर्छ ।

‘मानिसको स्वास्थ्यमा नसर्ने रोगको लागि सबैभन्दा उपयुक्त औषधि र उपचार योग हो । बिरामी भएपछि रोग लागेपछि मात्र योग गनुपर्छ भन्ने होइन सानै उमेरदेखि संस्कारको रुपमा योगलाई सिकाउन सक्यौँ भने कालान्तरमा त्यसले धेरै फाइदा दिन सक्छ । रोगसँग लड्ने क्षमता पनि बढ्छ र समग्र रुपमा योगले कुनै बिरामी निको पार्ने भन्दा पनि योगले मानव प्रणालीहरुलाई ठिक बनाउने हुनाले सबैको लागि आवश्यक छ ।’

योग स्वास्थ्यको लागि आवश्यक भएको हुनाले पनि संसारका ३०–३२ प्रतिशतभन्दा बढी मान्छेहरुले योग गर्न थालेको तथ्य बाहिर आएको छ र योगलाई पनि संसारले पनि बुझ्दै गएको उहाँको भनाइ छ । दाहालका अनुसार योगका कुरा पाठ्यक्रमबाट हटाइएको हुनाले पनि यो ओझेलमा परेका साथै सरकारको तहबाट केही कदम चल्ने हो भने योगलाई नेपालमा सहजै विस्तार गर्न सकिन्छ ।

उहाँले भन्नुभयो, ‘व्यक्तिले कुनै पनि कुरा उठायो भने त्यो पार लगाउन सक्ने सम्भावना कम हुन्छ । तर, सरकारले गर्न चाह्यो भने त्यो व्यवस्थित गर्न सक्छ । अहिलेसम्म प्रतिनिधिको रुपमा सरकारमा पुगेका मान्छेहरुसँग योगसम्बन्धी चेतनाको कमीले व्यवस्थित हुन नसकेको होला जस्तो लाग्छ । योगका कतिपय कुरा पाठ्यक्रमबाट हटाइएको हुनाले पनि ओझेलमा परेको हो । यसका लागि हामी सबैको प्रयासले केही सुरुवात भएको छ । तर, सरकारकै तहबाट केही कदम चाल्न जरुरी छ ।’

यसैगरी, योग साधक सुलोज श्रेष्ठले पनि तनाव हुने, रिसाउने, बिर्सिने जस्तो समस्याहरु देखिन थालेको भन्दै योग नियमित गर्न सुझाव दिनहुन्छ ।

उहाँले भन्नुभयो, ‘योग सबैभन्दा पहिला स्वास्थ्यलाई फाइदा गर्छ । स्वास्थ्यभन्दा एउटा शारीरिक र अर्को मानसिक हो । शारीरिक स्वास्थ्यमा शरीर निरोगी हुन्छ, मानसिक स्वास्थ्यलाई बढी फाइदा गर्छ । तनाव हुने, रिसाउने, बिर्सिने जस्तो समस्याहरु देखिन थालेकाले योग जरुरी भइसक्यो ।’

योगको महततवलाई वृद्धि गर्न र यसका बारेमा सजग गराउन स्कुल तहदेखि योग सिकाउनुपर्ने साथै सरकारी तहबाट नै यसलाई प्रवर्द्धन गर्न छुट्टै निकाय बनाउनु पर्ने पनि उहाँको भनाई छ ।

धेरैजसो नेपालीको रोग भनेको ग्याष्टिक र डिप्रेसन भएकाले यसको निधानका लागि नियमित योग गर्नुपर्ने अर्का योग साधक शोभा शर्मा चौलागाइको धारणा छ ।

उहाँ आफैँ पनि लामो समय बिरामी भएकाले अहिले कुनै पनि औषधी बिना योगले नै रोग निको भएको दाबी पनि गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, ‘योग गरेपछि रोग हट्ने गरेको छ । नेपालीको रोग भनेर ग्याष्टिकलाई लिन्छन् । डिप्रेशन पनि बढिरहेको छ । यसका लागि योग धेरै नै फाइदाजनक हुन्छ । म धेरै बिरामी परेको व्यक्ति भए पनि नियमित योग गरेका कारण रोग निको भएको र औषधि पनि प्रयोग छाडेको छु ।’

उहाँले योगको अवस्था पहिलेभन्दा अहिले धेरै राम्रो भए पनि यसलाई बढाउनका लागि ठाउँ ठाउँमा योग शिविर गर्नुपर्ने साथै योगबारे विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने आवश्यक भएको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *