तिलोत्तमाको नीति कार्यक्रम : कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य र यूवा प्राथमिकतामा

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौँ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य र यूवालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषितर्फ ‘वैज्ञानिक कृषि प्रणालीको सम्मान दिगो कृषि तिलोत्तमाको अभियान’ अन्तर्गत परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक एवम् वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने,  युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादन र कृषि उद्यम गर्ने उत्कृष्ट कृषक एवम् उद्यमीहरुलाई पुरस्कृत गर्ने, विगतमा घोषणा गरिएका अन्नबाली पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र, गहुँ पकेट क्षेत्र, तेलहन पकेट क्षेत्र, च्याउ पकेट क्षेत्र, बाखा पकेट क्षेत्र, दुग्ध उत्पादन पकेट क्षेत्र तथा मत्स्य उत्पादन पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी उक्त कार्यक्रमलाई निरन्तरता दिने, तिलोत्तमा कृषक सेवा कार्ड वितरण गर्ने, सरकारले सिफारिस गरेका उन्नत जातका गहुँको बिउ, तरकारीका बिउ, घाँसका बिउ तथा व्यवसायिक तरकारी खेती, फलफूल खेती, फूल खेतीहरुमा दिइदै आएको अनुदानलाई निरन्तरता दिने साथै चैते धान खेति गर्ने कृषकलाई प्रोत्साहन गर्ने, तिलोत्तमा गौशाला र बाउन्नकोटी गौशालाको सुदृढीकरण गरी छाडा चौपाया व्यवस्थापन गर्ने कार्यक्रम समेटिएको नगर प्रमुख खाँणले बताए ।

यस्तै पशुको नश्ल सुधारका लागि कृत्रीम गर्भाधान, बाँझोपनको उपचार, विभिन्न रोगहरुविरुद्धका भ्याक्सिन दिने कार्यक्रमहरु थप व्यवस्थित गरी प्रभावकारी बनाइने, ‘एक खेतीः बहु आय नीति’ अन्तर्गत पुष्प खेती गर्नेहरुलाई मौरी पालन गर्न मौरीको घार तथा धान खेतीमा हाँस पालन गर्न हाँसका चल्लाहरु अनुदानमा उपलब्ध गराउने, ‘गरौँ चक्लाबन्दी खेती’ अभियानअन्तर्गत १० विगाहा क्षेत्रफल वा सोभन्दा बढी क्षेत्रफलको जग्गा चक्लाबन्दी गरी खेती गर्ने र २० विगाहा क्षेत्रफलभन्दा बढी जग्गामा समूह बनाई सामूहिक खेती गर्ने समूहलाई लागत साझेदारीमा ट्याक्टर तथा थ्रेसर खरिदमा अनुदान उपलब्ध गराउने, ‘युवा श्रमको परिचालन वडा वडामा व्यवसायिक पशुपालन’ कार्यक्रमअन्तर्गत व्यवसायिक रुपमा गाई, भैँसी, बाखा, बंगुर पालन गर्न अभिप्रेरित गर्ने रणनीति बनाई आवश्यक सहायक सामाग्री र उपकरणहरु अनुदानमा उपलब्ध गराउने कार्यक्रम समेटिएको छ ।

यस्तै शिक्षातर्फ आर्थिक वर्ष २०८२-०८३ लाई शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरि विद्यालयहरुमा शैक्षिक सुधारको योजना लागू गर्ने, तिलोत्तमा नगरपालिकाको शैक्षिक सुधारका निम्ति सामुदायिक शैक्षिक सस्थाहरुको भौतिक तथा शैक्षिक पूर्वाधारको अडिट गर्ने, बाल विकास कक्षादेखि नै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै आधारभूत तथा माध्यामिक विद्यालयको नतिजा सुधार गर्न बाल विकास कक्षाकोठाको स्तरोन्नति गरी प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको क्षमता गुणस्तरवृद्धि गर्दै एक विद्यालय एक सिर्जनशील कार्यक्रम विद्यार्थीगुणीय चक्र,  सिर्जनशील शुक्रबार, च्यालेन्ज फन्डलगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

अन्वेषण तथा नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिँदै ‘पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने’, सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको भर्नादर वृद्धि गर्न विगत वर्षदेखि सामुदायिक विद्यालयहरुलाई प्रदान गरेका अनुदानका यातायातका साधन उपलब्ध गराउने नीतिलाई निरन्तरता दिई यातायात व्यवथापन खर्च उपलब्ध गराइने नगर प्रमुख खाँणले बताए ।

यस्तै, पूर्वाधार विकास क्षेत्रतर्फ गुणस्तरीय सडक निर्माण तथा मर्मतका लागि पुर्वाधार एम्बुलेन्स सहितको प्राविधिक टिम बनाई परिचालन गरी आ.व. २०८२÷०८३ लाई सडक मर्मत वर्ष घोषणा गरिने भएको छ । टुक्रे योजना एकीकृत गरी सोहीबमोजिमका योजना सिफारिस गर्ने नीति अबलम्बन गर्ने, नगर क्षेत्रभित्र बाँकी रहेका मुख्य बजार÷चोकहरुमा सिसी क्यामेरा जडान गर्ने, भूमिगत पानी रिचार्जको लागि रिचार्ज पोखरी निर्माण कार्यलाई निरन्तरता दिने, खरको÷फुसको छानामुक्त नगरपालिका घोषणा गर्ने, नहर, खोला, घोला, कुलोमा भैरहेको फोहोर नियन्त्रण गर्न पुराना घरहरुमा सोस्ता बनाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्ने नगर प्रमुख खाँणले बताए ।

नगरपालिकाले कार्यान्वयन गर्ने पूँजीगत बजेटलाई लक्ष्यबमोजिम खर्च गर्ने, चालू खर्चमा मितव्ययिता अपनाउने, पूँजीगत खर्च बढाउन सम्बद्ध जनशक्तिहरुको क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने साथै कुल खर्चमा बेरुजु प्रतिशत घटाउँदै लैजान बेरुजु समपरीक्षणलाई प्राथमिकतामा राखी बेरुजु समपरीक्षण कार्यदल गठन गरी परिचालन गरिने उनले बताए ।

यस्तै स्वास्थयतर्फ महिला स्वास्थ्य स्वयम् सेविकाहरुको अनिवार्य अवकास हुँदा सम्मान स्वरुप ५० हजार उपलब्ध गराउने, अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया, थालेसिमिया रोगका बिमारीहरुको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तिब्रता दिने, ‘आमा नै घरको प्रथम चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरवासीमा बढ्दो नसर्ने रोगको प्रकोप न्यूनीकरण गर्न आयुर्वेद जीवनशैली भान्सा सुधार, योग ध्यान साधना कार्यक्रमलाई प्राथमिकता दिइने छ ।

यस्तै, ‘युवाको लागि नगर नगरका लागि युवा’ युवाहरुलाई उद्यमशीलतामा जोड्न युवाले सञ्चालन गर्ने व्यवसाय दर्तामा निश्चित प्रतिशत छुट दिने, ‘दक्ष जनशक्तिः तिलोत्तमाको सम्पत्ति’ अन्तर्गत तिलोत्तमा नगरपालिका युवाहरुलाई राज्यले प्रदान गर्ने विभिन्न अवसरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन युवाहरुलाई विशेष तालिम संचालन गर्ने, नगरले खुलाउने रोजगारीका अवसरहरुमा युवाहरुलाई विशेष प्रथामिकता दिने नीति कार्यक्रममा उल्लेख छ ।

यस्तै तिलोत्तमा नगरपालिकालाई खेलकुदको हबको रुपमा विकास गर्दै खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण गर्ने, अग्रज खेलाडीलाई र उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गर्ने, बालमैत्री स्थानीय शासनलाई थप दिगो बनाउँदै बालबालिकाको क्षेत्रमा लगानी अभिवृद्धि गर्ने, हरेक भौतिक निर्माणलाई बालमैत्री, अपाङ्गता मैत्री, लैंङ्गिक मैत्री र ज्येष्ठ नागरिकमैत्री बनाउँदै लगिने  ‘ग्रीन तिलोत्तमा, क्लीन तिलोत्तमा’ को नारालाई सार्थकता बनाउन नगर सफाइ अभियानलाई निरन्तरता दिने, फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त ठाउँ पहिचान गर्दै फोहोरमैला प्रशोधन व्यवस्थापन केन्द्रको स्थापना गर्ने, उज्यालो तिलोत्तमा अभियानलाई निरन्तरता दिँदै नगरका १७ वटा स्थानमा उच्च स्तरका स्ट्रिट लाइट जडान गर्ने तथा पत्थरडाँडा र ड्राइभरटोलमा हाइमास्ट लाइट जडान गर्ने र वढी दुर्घटना हुने सडकका घुम्ती तथा चोकहरुमा रिफ्लेक्टीक ऐना (मिरर) जडान गर्ने नगरप्रमुख खाँणले बताए ।

शंकरनगर वनवाटिका भित्र निर्माणाधिन तिलोत्तमा बहुउद्देश्यीय भ्यू टावरलाई नगरपालिकाको आफ्नै स्रोतमार्फत निर्माण सम्पन्न गरी यसै वर्ष सञ्चालन गर्ने व्यवस्था मिलाउने, तिलोत्तमा सामुदायिक पार्कमा फलफूल बगैंचा, कहरिया सामुदायिक वन क्षेत्रभित्र बोटानिकल गार्डेन निर्माण गरी उक्त पार्क र वनको आय आर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाइने छ । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आर्कषित गर्न एवम् पर्यटकको बसाइ अवधि बढाउन कुञ्जपार्क रात्रीकालीन उद्यानमा निर्माणाधीन म्यूजिकल वाटर फाउण्टेनलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *