काठमाडौँ, ३० जेठ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताउनुभएको छ ।
शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १०औँ पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले माओवादी आन्दोलनका शीर्षपंक्तिमा बस्ने मान्छेहरुले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहिद भए, बेपत्ता भए, बलिदान भए भन्ने नाममा अहिले सत्ता कसले खाइरहेको छ, त्यसको ब्याज कसले खाइरहेको छ भन्दा माओवादी आन्दोलनका शीर्षपंक्तिमा बस्ने मान्छेहरुले खाइरहेका छन् । तीनले हिजोको जनयुद्धमाथि न्याय गरेका छैनन् । सहिद बेपत्ता भएका मान्छेको रगत र बलिदानको उचित मूल्यांकन गरेका छैनन् । त्यसैले माओवाद अहिले एउटा ब्राण्ड जस्तो मात्र भएको छ । माओवाद भन्ने ब्राण्ड प्रसिद्ध छ तर त्यसको प्रयोग गरेर ठगी धन्दा भएको छ । हामीले त्यसको विरोध गरेका छौँ ।”
यस्तै, उहाँले भएका उपलब्धिमाथि टेकेर नेपाललाई समृद्धिकरणको दिशातिर लाने भनेर पार्टी सुरु गरे पनि बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि केही कमजोरीहरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भएका उपलब्धिमाथि टेकेर नेपाललाई अब समृद्धिकरणको दिशातिर लाने बेला हो भनेर पार्टी सुरु गरेका थियौँ । तर, हामी कहाँ चुक्यौँ अथवा मेरो कमजोरी कहाँ भयो भनेर समीक्षा नै भएन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि गुम्ने हो कि भन्ने जस्तो अवस्था छ । गणतन्त्रमा टेकेर मात्र समाजवादतिर जान सकिन्छ भन्ने अर्थमा जुन गणतन्त्र ल्याइयो त्यसमा व्यक्तिगत रुपमा बाबुरामकै जोड थियो । किनभने अरुले त गणतन्त्र छाड्दै गएका थिए । र यही गणतन्त्रको रक्षाका लागि नै केही कमजोरीहरु भएको हो ।”