काठमाडौँ, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताउनुभएको छ ।
बिहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उहाँले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा (एमाले) गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको पाँचबुँदे प्रस्तावबारे छलफल अघि बढिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेताले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग समेत वार्ता गरेका छन् । छलफलको मुल बिन्दु छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा अझै निर्णयमा पुग्न सकेको छैन ।”
उहाँले रास्वपा लचक नहुने भन्दै छानबिन संसद्को कुनै विशेष समितिबाट नै गरिनुपर्ने बताउनुभयो ।
“रास्वपाले प्रस्तावमा उल्लेख गरिएका बुँदाहरूभन्दा बढी लचक हुने अवस्था नरहेको स्पष्ट पारेको छ । यसैबीच माओवादी केन्द्र र नेकपा (एमाले)बीच मुद्दा गम्भीर रहेको र यसलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको छ । माओवादी केन्द्रले यो विषयलाई गम्भीर ढंगले हेर्नु पर्ने र न्याय हुने ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएको । पार्टीको धारणा अनुसार छानबिन कुनै विशेष समितिबाट नै गरिनुपर्ने र त्यसको लागि निश्चित तिथि र प्रक्रिया तोक्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले प्रमुख तीन दलहरूले यो विषयको गम्भीरता बुझ्न जरुरी रहेको धारणा राख्नुभयो ।