काठमाडौं । कुनै समयका निकटतम सहयात्री, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र खर्बपति व्यवसायी एलन मस्कबीचको सम्बन्ध अब शत्रुतामा परिणत भएको छ । एकअर्काविरुद्ध सार्वजनिक रूपमा चलेको कटु आरोप-प्रत्यारोपको शृङ्खलापछि राष्ट्रपति ट्रम्पले मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन् । यस घटनाले अमेरिकी राजनीति र प्रविधिको संसारमा तरंग पैदा गरेको हाे ।
शनिबार एनबीसी न्युजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको सम्बन्ध अन्त्य भएको स्पष्ट पारे । उनलाई ‘के मस्कसँगको तपाईंको सम्बन्ध समाप्त भएको हो ?’ भनेर सोधियो, ट्रम्पले जवाफ दिए, ‘म अनुमान गर्छु, हो ।’ सम्बन्ध सुधार्ने इच्छा छ कि भन्ने प्रश्नमा उनको संक्षिप्त र जवाफ थियो, ‘अहँ ।’
कुनै समय ट्रम्पको चुनावी अभियानमा लाखौं डलर दान दिएका र उनको विजयपछि ह्वाइट हाउसका सल्लाहकारसमेत बनेका मस्कसँगको सम्बन्धमा दरार आउनुको मुख्य कारण ट्रम्पको प्रमुख घरेलु नीति, ‘कर तथा खर्चसम्बन्धी विधेयक’ हो । मस्कले उक्त विधेयकको सार्वजनिक रूपमै कडा आलोचना गरेका थिए । उनको तर्क थियो कि यो विधेयकले राष्ट्रिय घाटामा खर्बौं डलर थप्नेछ र सरकारी खर्च कटौती गर्न उनले नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गर्भनमेन्ट एफिसिएन्सी (डज)’ को प्रयासलाई कमजोर बनाउनेछ ।
१२९ दिनपछि डजबाट बाहिरिएका मस्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भन्दै टिप्पणी गरेका थिए । यसपछि ट्रम्पले पत्रकारहरूसँग आफू ‘मस्कको व्यवहारप्रति निराश’ भएको बताए । त्यसपछि यो विवादले व्यक्तिगत रूप लियो । मस्कले ‘एक्स’मा आफू नभएको भए ट्रम्पले चुनाव जित्न नसक्ने दाबी गरे र ट्रम्पलाई यौन तस्करीको आरोपमा जेलमै मृत्यु भएका विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग जोडेर गम्भीर आरोप लगाए, यद्यपि उक्त पोस्ट पछि हटाइयो ।
यसको जवाफमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा मस्कलाई ‘पागल’को संज्ञा दिँदै उनको कम्पनीले पाएका संघीय सरकारका ठेक्काहरू कटौती गर्ने चेतावनीसमेत दिए । यो विवादमा अधिकांश रिपब्लिकन नेताहरू ट्रम्पको पक्षमा उभिएका छन् । उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा’ प्रस्तुत भएको बताउँदै अब उनलाई पार्टीमा स्वागत नगरिने बताएका छन् । उनले भने, ‘ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ को आलोचना गर्नु मस्कको ठूलो गल्ती थियो ।’
अन्तर्वार्तामा ट्रम्पले मस्कले राष्ट्रपतिको कार्यालयप्रति नै असम्मान देखाएको आरोप लगाए । ‘मलाई लाग्छ यो निकै नराम्रो कुरा हो, किनकि उनले राष्ट्रपतिको कार्यालयप्रति निकै असम्मानजनक व्यवहार गरेका छन् । तपाईं राष्ट्रपतिको कार्यालयप्रति असम्मान गर्न सक्नुहुन्न,’ ट्रम्पले भने ।