घोराही कारागारमा बायोग्यास

दाङ, २४ जेठ । दाङको घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय बढ्दो फोहोरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख लक्ष्मणसिँह राठौरले १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दिसाजन्य फोहोर व्यवस्थापनमा निकै चुनौती भइरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम गरेका हौँ । ५० घनमिटर क्षमताको बायोग्यासबाट हाल ८० जनाको लागि खाना पकाउनमा सहयोग पुगेको छ ।”

विभिन्न ठाउँमा फोहोरजन्य वस्तु व्यवस्थापनमा समस्या भइरहेको समयमा आफूहरूले अरुलाई पनि सन्देश दिने उद्देश्यले बायोग्यास उत्पादन गरिएको राठौरको भनाइ छ । “फोहर अभावले हाल क्षमताअनुसार उत्पादन गर्न सकेका छैनौँ । आगामी दिनमा फोहोर बढाउन सकियो भने अझ धेरै बायोग्यास उत्पादन हुनेछ,” उहाँले भन्नुभयो, “यसले गर्दा एलपी ग्यासको बचत र दिसाजज्य फोहोरलाई व्यवस्थापन गर्न निकै सहज भएको छ ।”

हाल घोराही कारागारमा ४२७ जना कैदीबन्दी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *