अनौपचारिक अर्थतन्त्रका कारण सामाजिक विकास असन्तुलित भयो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताएका छन् ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गरेका हुन् ।

उनले राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति रहँदै आएको र अहिले पनि त्यसमा सुधार हुन नसकेको स्पष्ट पारे । कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको दाबी गरे ।

महासचिव पोखरेलले अहिले समाजमा गणतन्त्रभन्दा पञ्चायत नै ठिक भन्दै पूर्वपञ्चहरु र राजावादीहरूले आर्थिक, सामाजिक र विकासमा राजनीतिक दल र तिनका नेतृत्वले प्रभावकारी काम नगरेको भन्दै जनताका बिचमा भ्रमपूर्ण प्रचारहरू गरिरहेको टिप्पणी गरे ।

उनले भने ‘अहिले एक प्रकारको सामाजिक रुपमा धारणा छ । नेपालका राजनीतिक दलहरू र तीनको नेतृत्व आर्थिक, सामाजिक र विकासका प्रश्नमा चाहिँ प्रभावकारी भएनन् । अझ पूर्वपञ्चहरु र राजावादीहरू त भन्न थालेका छन्, लोकतन्त्रले के दियो ? गणतन्त्रले के दियो ? बरु पञ्चायत नै ठिक थियो भन्ने अर्थमा जनताका बिचमा भ्रमपूर्ण प्रचारहरू गरिरहेको अवस्था छ । पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने त मुलुकले उल्लेखनीय प्रगति गरेको छ । यसमा प्रश्न नउठ्नुपर्ने जस्तो लाग्छ । पञ्चायतको अन्तिम समयमा नेपालको आर्थिक, सामाजिक सूचकहरू के थिए भन्ने कुरालाई आधार बनाएर विश्लेषण गर्ने हो भने नेपालमा निकै ठूलो परिवर्तन भएको छ । तर विश्व अर्थ व्यवस्थामा भएको परिवर्तनअनुसार नेपालको अर्थतन्त्रको विकास भएको छ कि छैन भन्ने कोणबाट हेर्ने हो भने त्यसअनुसार हुन सकेको छैन । त्यसले गर्दा हामी विश्व अर्थ व्यवस्था र मानवीय आवश्यकताका परिप्रेक्ष्यमा हाम्रो अर्थतन्त्रको गति जुन रुपमा अघि बढ्नुपर्थ्यो त्यस रुपमा बढ्न सकेको छैन ।

विश्व अर्थव्यवस्था र नेपालको जनताको आवश्यकताको परिप्रेक्ष्यमा हाम्रो अर्थतन्त्रको गति बढाउने कुरा चुनौतीका रुपमा छ । त्यसमाथि कोभिड पछाडि प्राय मुलुकहरूको अर्थव्यवस्था ऋणात्मक भयो त्यसैगरी हाम्रो पनि अवस्था त्यही भयो । तर, त्यतिबेला विश्व अर्थव्यवस्थामा जुन प्रकारको नकारात्मक प्रभाव पर्याे त्यसको तुलनामा हाम्रो अर्थव्यवस्थामा नकारात्मक प्रभाव कम परेको हो । त्यसपछि नेपालमा राजनीति यति धेरै अन्तरसंघर्षपूर्ण, उतारचढावपूर्ण र द्वन्दबाट गुज्रियो अनि नेपालको अर्थव्यवस्था एक प्रकारले मन्दीको तहमा प्रवेश गर्याे । मन्दीको अवस्थामा पुगेको अर्थव्यवस्थाको सबैभन्दा ठूलो मार राज्यको ट्रेजरीमा पर्याे । राज्यको ट्रेजरीमा परिसकेपछि राज्यले दिने सेवा सुविधा र विकास निर्माणका कामहरूमा त्यसको प्रभाव पर्नगयो । नेपालको अर्थ व्यवस्थाको मन्दीको ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त आदि इत्यादिमा त्यसको प्रत्यक्ष असर देखियो र आज हामी यसो हेर्दा घरजग्गा कारोबारमा परेको असर सबैभन्दा बढी कहाँ परेको छ भन्दा निर्माण उद्योगमा परेको छ ।

नेपाल सरकारका थुप्रै आयोजनाहरूका जिम्मा लिएका ठेकेदारहरूले काम नगरीकन हाम्रा आयोजनाहरू रुग्ण अवस्थामा छन् । अर्थात्, हामी कस्ता भयौँ भन्दा एकप्रकारले राज्यको अर्थ व्यवस्थालाई परिचालन कुराका सन्दर्भमा वैधानिक तरिकाबाट आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न सकिरहेकै छैनौँ । हाम्रो राज्यका नीतिहरूका कारणले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलशाली भएर गएको छ । अनौपचारिक अर्थतन्त्रले हाम्रो आर्थिक सामाजिक विकासलाई असन्तुलित बनाइदिएको छ । राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतिहरू रहँदै आए । अहिले पनि पूरै सुधार भएको छ भन्ने मलाई लाग्दैन ।’

उनले पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको र पञ्चायतको अन्तिम समयको आर्थिक, सामाजिक सूचकहरूलाई आधार बनाएर विश्लेषण गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *