बुटवल । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश, बुटवल रुपन्देहीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुटवलको कालिका मानवज्ञान माविमा सम्पन्न भएको छ ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीका अनुसार उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम गर्दै त्रुटिरहित तवरले परीक्षण सम्पन्न गर्ने र विद्यार्थीहरुको एक बर्ष सम्मको मेहेनतको वास्तविक मुल्यांकन हुने गरि परीक्षण हुने बताउनुभयो ।
उहाँले बुटवल आसपासमा लामो समय शिक्षण पेशा र उत्तरपुस्तिका परीक्षण गर्नुभएका गुरुहरुलाई सहजकर्ताको रुपमा राखिएको बताउनुभयो । उहाँले ३० वटा बिषयको उत्तरपुस्तिका परिक्षण कार्यका लागि कम्तिमा सन् २०२२ मा स्नातकोत्तर तह उत्तीर्ण गरि सम्बन्धित बिषय कम्तीमा ३ बर्ष अध्यापन गरेका बिषयगत शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी प्रदान गरिने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयहरुमा कक्षा १२ अध्यापनरत ३०० भन्दा बढी बिषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षण सम्बन्धी ध्यान दिनुपर्ने कुराहरुका बारेमा कार्यालय प्रमुख रमाकान्त तिवारीले अभिमुखीकरण गर्नु भएको थियो ।
बिषयगतरुपमा सहजीकरणका लागि १० वटा बिषयका बिषयगत शिक्षकहरुलाई जिम्मेवारी प्रदान गरि प्रश्न पत्र र उत्तरकुन्जिकाको बारेमा छुट्टाछुट्टै रुपमा गहन छलफल गराइएको र नमुना उत्तरपुस्तिका परीक्षण कार्य समेत सम्पन्न गराइ परीक्षणमा देखापर्न सक्ने त्रुटिका बारेमा सम्पूर्ण परीक्षकहरुलाई जानकारी गराईएको प्रमुख तिवारीले बताउनु भयो।
सो अभिमुखीकरण कार्यक्रममा अनिवार्य नेपाली बिषयमा बिष्णु हरि ज्ञवाली र लेखनाथ पौडेल, अनिवार्य अङ्ग्रेजीमा चण्डी प्रसाद पाण्डे र युवराज पन्थी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा बिषयमा लेखनाथ खनाल र गुणाखर भट्टराई, अर्थशास्त्रमा सुदर्शन रेग्मी, भौतिकशास्त्रमा कृष्ण प्रसाद अधिकारी , रसायनशास्त्रमा दिपक थापा, अनिवार्य गणितमा मानध्वज गिरी, शिक्षा र विकासमा गोबिन्द भुसाल तथा शैक्षणिक विधि बिषयमा सुमीत्रा सापकोटा र जमुना पाण्डेले सम्बन्धित बिषयको परीक्षण सम्बन्धमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा कालिका मानवज्ञान मा. वि. का प्रधानाध्यापक दिनेश थापाले परीक्षण केन्द्रमा परीक्षकहरुलाई सहज वातावरणमा उत्तरपुस्तिका परीक्षण गर्न मिल्ने वातावरण निर्माण हुने र आवश्यक सहयोग गर्न विद्यालय तत्पर रहेको जानकारी गराउदै विद्यार्थीहरुको वास्तविक मुल्यांकन हुनुपर्नेमा जोड दिनुभयो।
अभिमुखिकरण कार्यक्रमको सन्चालन राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले गर्नु भएको थियो। शाखा अधिकृत भण्डारीले करिब ४०० जना योग्यता प्राप्त बिषयगत शिक्षकहरुको सहभागितामा मिति २०८२ जेठ २५ गतेदेखी उत्तरपुस्तिका परीक्षण कार्य प्रारम्भ हुने र १५ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राष्ट्रिय परीक्षा बोर्ड, बुटवलले राखेको जानकारी दिनुभयो ।