बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने

बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर सञ्चालन गरिने भएको हो । सेन्टरको जेठ २४ गते औपचारिक शुभारम्भ हुनेछ । शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवलमै पहिलो पटक मधुमेह र थाइराइडका बिरामीहरूले विशेषज्ञ चिकित्सकको सेवा सहितको सेन्टर सञ्चालन सुरु गरिएको बताएको हो ।

नेपालमा मधुमेह तथा थाइराइडको उपचार सुरु गर्ने डाक्टरहरूमध्येका प्रमुख एक डाक्टर डा.ज्योति भट्टराईको सल्लाह , सहकार्य र अनुगमनमा रहने यस सेन्टरमा मधुमेह, थाइराइडसम्बन्धी समस्या, मोटोपन, कम उचाइ, कोलेस्ट्रोल, यौन दुर्बलता, महिनावारी गडबडी, निसन्तान वा गर्भ नरहने, पी.सी.ओ.डी भिटामिन डीको कमी, युरिक एसिड बढ्ने लगायतका अन्य हर्मोन सम्बन्धीको उपचार हुनेछन् ।

रुपन्देहीको बुटवल तथा लुम्बिनी प्रदेश वरिपरिका जिल्लामा रहेका बिरामीहरूको सहजताका लागि सेन्टरले धेरै टेवा पुर्‍याउने सेन्टरका मेडिकल डाइरेक्टर डा. वरिष्ठ मधुमेह रोग विशेषज्ञ डाक्टर किरण आचार्यले जानकारी दिए । उनले बिरामीको उत्कृष्ट उपचारका साथै बिरामीहरूलाई नम्र व्यवहार, बिरामी कुरुवाका लागि उचित व्यवस्थापन, विश्वासिलो ल्याब र सहुलियत औषधिको व्यवस्था गरिने बताए । विशेषज्ञ सेवा सहितको क्लिनिकबाट यस भेगका बिरामीहरूलाई काठमाडौँ धाउनुपर्ने र महँगो खर्च गर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

सेन्टरमा हालका लागि ३ जना डाक्टरहरूबाट सेवा प्रदान गरिने जनाइएको छ । नेपालकै वरिष्ठ इन्डोडाइनोलोजिस्ट डाक्टर ज्योति भट्टराईले हरेक ३–३ महिनामा सेवा प्रदान गर्नेछन् भने अर्का प्रख्यात इन्डोक्राइनोलोजिस्ट डाक्टर विनय भट्टराई हरेक महिना एक पटक उपलब्ध हुने बताइएको छ ।

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डाक्टर किरण आचार्य हरेक हप्ता ४ दिन बुधवारदेखि शनिवारसम्म उपलब्ध हुनेछन् । जटिल र अप्ठ्यारो रोग/बिरामीहरूको उपचार तीनै जना डाक्टरको सल्लाहमा हुनेछ भने काठमाडौँ रिफर गर्नुपर्ने बिरामीहरूलाई मेट्रो काठमाडौँ अस्पतालमा रिफर गरी विशेष सहुलियतमा उपचार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *