‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने भक्तपुरले बुझेको छ, यो देशभरले बुझ्नुपर्छ : इतिहासविद् प्राडा.श्रेष्ठ [भिडिओ]

सबिता नयाँजू प्राडा.पुरुषोत्तम लोचन श्रेष्ठ इतिहासविद् एवं संस्कृतिविद् हुनुहुन्छ । विशेषगरी काठमाडौँ उपत्यकाका ऐतिहासिक, सांस्कृतिक सम्पदा एवम् पोखरीहरुका बारेमा गहन अध्ययन गर्नुभएको छ । यसै सिलसिलामा नेपाल न्यूज बैंकले प्राडा.श्रेष्ठसँग भक्तपुरका ऐतिहासिक पोखरीहरुका सन्दर्भमा कुराकानी गरेको छ । भक्तपुरमा कतिवटा ऐतिहासिक पोखरीहरु छन् ? भक्तपुर पोखरीहरुको पनि सहर हो । झण्डै ५० वटाभन्दा बढी ऐतिहासिक, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्त्वका प्राचिन मध्यकालीन र पूर्व आधुनिककालीन पोखरीहरु छन् । ती पोखरीहरुको ऐतिहासिक महत्त्व के छ ? खासगरी भक्तपुरको सर्वप्राचिन पोखरी भक्तपुर सहरको पश्चिमपट्टी रहेको ठुलो सिद्धपोखरी हो । वास्तुतन्त्र विधि अनुरुप बनेको त्यो पोखरी १२औँ शताब्दीतिर बनेको देखिन्छ । त्यतिबेला भक्तपुर समग्र नेपाल मण्डलको राजधानी नगरीका रुपमा आफ्नो रुप लिँदै थियो । त्यहीँ क्रममा विभिन्न दरबार, जात जातिका मानिसहरु, संगीत, धर्म, संस्कृतिहरुले विकसित रुप लिइरहेका बेला पोखरी पनि स्थापित भएको पाइन्छ । वास्तवमा राजधानी नगर हुन के कति प्रावधानहरु चाहिन्छ, त्यसको परिपूर्तिका लागि राजधानी नगरलाई स्वभायमान बनाउन समेत सिद्धपोखरी राजधानी नगरको रुपका...

‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने भक्तपुरले बुझेको छ, यो देशभरले बुझ्नुपर्छ : इतिहासविद् प्राडा.श्रेष्ठ [भिडिओ]
सबिता नयाँजू

प्राडा.पुरुषोत्तम लोचन श्रेष्ठ इतिहासविद् एवं संस्कृतिविद् हुनुहुन्छ । विशेषगरी काठमाडौँ उपत्यकाका ऐतिहासिक, सांस्कृतिक सम्पदा एवम् पोखरीहरुका बारेमा गहन अध्ययन गर्नुभएको छ । यसै सिलसिलामा नेपाल न्यूज बैंकले प्राडा.श्रेष्ठसँग भक्तपुरका ऐतिहासिक पोखरीहरुका सन्दर्भमा कुराकानी गरेको छ ।

भक्तपुरमा कतिवटा ऐतिहासिक पोखरीहरु छन् ?
भक्तपुर पोखरीहरुको पनि सहर हो । झण्डै ५० वटाभन्दा बढी ऐतिहासिक, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्त्वका प्राचिन मध्यकालीन र पूर्व आधुनिककालीन पोखरीहरु छन् ।

ती पोखरीहरुको ऐतिहासिक महत्त्व के छ ?
खासगरी भक्तपुरको सर्वप्राचिन पोखरी भक्तपुर सहरको पश्चिमपट्टी रहेको ठुलो सिद्धपोखरी हो । वास्तुतन्त्र विधि अनुरुप बनेको त्यो पोखरी १२औँ शताब्दीतिर बनेको देखिन्छ । त्यतिबेला भक्तपुर समग्र नेपाल मण्डलको राजधानी नगरीका रुपमा आफ्नो रुप लिँदै थियो । त्यहीँ क्रममा विभिन्न दरबार, जात जातिका मानिसहरु, संगीत, धर्म, संस्कृतिहरुले विकसित रुप लिइरहेका बेला पोखरी पनि स्थापित भएको पाइन्छ । वास्तवमा राजधानी नगर हुन के कति प्रावधानहरु चाहिन्छ, त्यसको परिपूर्तिका लागि राजधानी नगरलाई स्वभायमान बनाउन समेत सिद्धपोखरी राजधानी नगरको रुपका स्थापना हुने क्रमसँगै बनेको देखिन्छ ।

भक्तपुरलाई राजधानी नगरको रुपमा स्थापित गर्ने राजा आनन्ददेव हुन् । आनन्द देवका दाजु इन्द्रदेवले आफ्नै नाममा त्यो पोखरी बनाउन लगाएको देखिन्छ । त्यसको प्राचिन नाम ‘इन्द्र दह’ हो । भगवान इन्द्रले स्नान गरेको पोखरी भएकाले इन्द्र दह नाम धार्मिक, सांस्कृतिक जीवनमा चलिआएको छ । त्यो बेग्लै कुरा भयो । तर, ऐतिहासिक दृष्टिले पोखरी शक्तिशाली युवराज इन्द्रदेवको समयतिर नेपाल सम्वत् २३८ तिर बनेको देखिन्छ । त्यसबेला सबैभन्दा ठुलो पोखरी थियो । त्यसैले नेवा लोक जीवनमा पोखरीलाई ‘पुखु’ पनि भनिन्छ । आजसम्म पनि त्यो नाम चलिआएको छ । आठौँ शताब्दीदेखि १२औँसम्म सिद्ध तान्त्रिकहरुको युग थियो । सिद्ध तान्त्रिकहरुले जनजीवनमा पिर मर्काहरुलाई समेत बुझेर पन्छ्याउन सहयोग पुर्‍याए र तिनै आफ्ना अद्भूत कामहरुले जनजीवनमा ख्याति पाएको सिद्ध तान्त्रिकहरुको युगमा बनेको पोखरी भएकाले पनि अर्को नाम ‘सिद्धपोखरी’ रहन गएको देखिन्छ ।

पछिल्लो समय मल्ल कालमा आएर इन्द्रजात्राको समयतिर सिद्धपोखरीमा ठुलो मेला लाग्ने गर्छ । त्यसैगरी दसैँको समयतिर पनि हामी नवरात्र जाने परम्परा छ । नवरात्र जाने जुन एउटा संस्कृति छ, त्यस सन्दर्भमा ईन्द्रायणी सिद्ध हुने दिन सिद्धपोखरीमा इन्द्रायणीको रुपमा दर्शन पूजन गर्न जाने क्रम छ र ठुलो मेला लाग्छ । त्यस्तैगरी सिद्धपोखरीको ठिक दक्षिणपट्टी अर्को एउटा पोखरी छ । जुन ‘भाज्या पुखु’ नामले प्रसिद्ध छ । त्यो पोखरी १२औँ शताब्दीतिर नै बनेको देखिन्छ । वास्तुतन्त्र विधिअन्तर्गत नै बनेकाले सहरको स्वभा नै बढाउने त्यो साह्रै सुन्दर पोखरी हो । पोखरीको माझमा शिखर शैलीको एउटा सुन्दर मन्दिर पनि बनेको थियो । त्यसको अलग्गै विशेषता छ । हाम्रो अध्ययनका आधारमा पोखरीको मध्य भागमा जलाशय भएकाले जलको मध्य भागमा सुरिलो शिखर शैलीको मन्दिर रहेको देखिन्छ । त्यो जलेश्वर महादेवको मन्दिर समेत बनेकाले पोखरी भक्तपुरको सान थियो । नेपाल सम्बत ७८१ तिर कान्तिपुर, ललितपुरका राजाहरु प्रताप मल्ल, श्रीनिवास मल्ल मिलेर भक्तपुरमा भयकंर आक्रमण गरे । तर, भक्तपुर मजबुत थियो, त्यहाँका पर्खाल ढोकाहरु फोरेर सहर कब्जा गर्न नसकेपछि उनीहरु सहर बाहिर हुँदै ‘भाज्या पुखु’ पनि कब्जा गर्न पुगे । त्यहाँ उनीहरुले सैनिक छाउनी शिविर खडा गरे । त्यहाँको मन्दिर पनि भत्काए र पोखरी पनि बिगारे । त्यहाँका महत्त्वपूर्ण सुन्दर कलाकृतिहरु उठाएर विशेष गरेर प्रताप मल्लले लगे ।

सल्लाघारीमा रहेको रानी पोखरीका कलाकृतिहरुलाई बिगारेर उठाएर लगे र हनुमान ढोका राजदरबार सजाए । यसरी प्रताप मल्लको कारण भाज्या पुखुको वास्तुशैली धेरै नै प्रभावित भएको देखिन्छ । त्यसैबाट प्रभावित भएर प्रताप मल्लले कान्तिपुरको हनुमानढोका राजदरबारको पूर्वपट्टि एउटा पोखरी बनाउन लगाए । जुन पोखरी भक्तपुरको भाज्यापुखु भन्दा आकारमा ठुलो देखिएको छ । त्यो मन्दिरको पनि मध्य भागमा एउटा शिखरशैली, भाज्यापुखुकै मन्दिरको शैली अनुरुप मन्दिर बनाउन लगाएको पाइन्छ । कान्तिपुरको रानीपोखरी भक्तपुरको भाज्यापुखुकै अर्को अनुकरण हो भन्ने बुझ्न सकिन्छ । भक्तपुरमा यति महत्त्वका अनेक पोखरीहरु छन् ।

जहाँसम्म सिद्ध पोखरीकै कुरा छ पोखरीको पूर्वपट्टी फाँटमा प्राचिन मूर्तिहरु छन् । त्यसमध्ये चौथो शताब्दीको अन्त्यतिरको ब्रम्हामूर्ति छ । नेपालमा हालसम्म रहेका प्राचिन ब्रम्हाका मूर्तिहरुमा सर्वप्राचिन भक्तपुरको पूर्वपट्टी ब्रम्हाका मूर्तिहरुसँगै गणेशका मूर्तिहरु पनि छन् । १२औँ शताब्दीतिर देखिने शिलालेख पनि छन् । तर, शिलालेख एउटा खाली शरीर मात्र छ । त्यसको आत्मा त उडिसक्यो, भन्न खोजेको कुरा के हो भने, शिलालेखमा रहेका अक्षरहरु सबै नै मेटिसकिएका छन् । अलिकति भए पनि वा एकदुई अक्षर पनि पढौँ भने रंगहरु पोतिएकाले पढ्न सक्ने अवस्था छैन । त्यसमा रहेका आकृतिहरुलाई हेर्दा १२औँ शताब्दीको देखिन आउँछ । लाग्छ सिद्धपोखरी १२औँ शताब्दीमा राजधानी नगरको रुपमा पूर्वाधारहरु बनाउने क्रमसँगै सिद्धपोखरी पुनःनिर्माण भएको जस्तो पनि लाग्छ । यो पोखरीको अस्तित्वलाई प्राचिनकालदेखि लिच्छिविकालतिर लान सकिन्छ । सिद्धपोखरीलाई ३६४ को कालखण्डमा पर्खालले घेर्ने काम भएको थियो । पछिल्लो कालमा भीमसेन थापाको समयमा पोखरीको पुनःनिर्माण भएकोे देखिन्छ । पछिल्लो समयमा आएर राजा महेन्द्रको समयमा पनि पोखरीको जीर्णोद्धार भएको देखिन्छ ।

पहिला त्यहाँ शिलालेख थियो । तर, अहिले त्यो देखिँदैन । उनको राज्यअभिषेकको समयमा पोखरीको जीर्णोद्वार गरेको देखिन्छ । त्यसपछि पछिल्लो समयमा आएर झारपातले भरिएर पोखरी डरलाग्दो देखिएको थियो । पछि भक्तपुर नगरपालिकाले स्थानीय स्रोत, साधन र सीपको प्रयोग गरेर पोखरीको मुहारै फेरिदिएको छ । नेपालका सुन्दर पोखरीमध्ये सिद्ध पोखरीलाई लिन सकिन्छ ।

भक्तपुरमा अन्य पोखरीहरु पनि छन्, जस्तै, भक्तपुर सहरको पूर्वतिर ‘यातु बहारे पुखु’ नामले प्रसिद्ध छ । त्यस्तै, कालदह, लामगाहा, भक्तपुर राजदरबारभित्रै पनि राजकीय महत्त्व पाएका पोखरीहरु छन् । कतिपय पोखरीहरु नियतिको मारमा लोप पनि भइरहेका छन् । लोप भइरहेका पोखरीहरुलाई स्थानीय सरकार र नागरिकहरुले जगेर्ना गर्नुपर्छ । पोखरीहरु सुन्दरताका लागि मात्र नभइ आकस्मिक प्रयोगका लागि पनि हो । पूजाआजाको लागि पनि पोखरी चाहिन्छ । जतिपनि ठुलाठुला पोखरीहरु छन् यी सबै धार्मिक, सांस्कृतिक महत्त्वका छन् । आजसम्म पनि जीवन्तता पाउँदै आएको देखिन्छन् ।

ठुला पोखरीहरु बाहेक नगरभित्र पनि थुप्रै पोखरीहरु छन् । तिनीहरु चर्चामा आउन नसकेका हुन् कि के हो ?
वास्तवमा चर्चामा आउन नसकेका पनि हुन् । कतिपय अध्ययन अनुसन्धानका दायरामा नपरेका कारणले र सामाजिक सञ्जालको दृष्टिमा नपरेकाले पनि ओझेलमा परेका देखिन्छन् । यसका साथै कतिपय पोखरीहरु लोप पनि भएर गइसकेका छन् । तर केही पोखरीहरु कुनै न कुनै रुपमा अझै पनि अस्तित्वमा छन् । ती पोखरीहरु अहिले पनि धार्मिक, सांस्कृतिक प्रयोजनमा आइरहेको छ । जस्तै सहरको पश्चिमतर्फ ‘न पुखु’ छ । त्यो पोखरी असाध्यै फोहोर थियो र भक्तपुर नगरपालिकाले त्यो पोखरीलाई पनि पुनःजीवन प्रदान गरेको छ । सारै सुन्दर पोखरीको रुपमा देखिएको छ । त्यो पोखरी पनि पूर्वमध्यकालतिर नै बनेको देखिन्छ । रातको समयमा बनेको पोखरीको नाम ‘नक पोखरी’ भनिएको छ । ६ सय वर्ष अगाडि, गोपालराज वंशावलीमा रातको समयमा त्यो पोखरीको तान्त्रिक विधिपूर्वक प्रतिष्ठा गरेको कुरा पनि आएको छ ।

यसरी खोज्दै जाने हो भने भक्तपुरमा पोखरीहरु धेरै भेटिन सक्छन् तर हाम्रो अध्ययनमा ५० वटाभन्दा पनि बढी पोखरीहरु छन् । हाल अस्तित्वमा रहेका सहरभित्र र बाहिर गरेर समग्रमा लगभग दुई दर्जन जति पोखरीहरु अहिले अस्तित्वमा होलान् ।

अहिले अस्तित्वमा रहेको पोखरीहरुलाई लोप हुन नदिनको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
अहिले एउटा खुसीको कुरा छ । किनभने हाम्रो सम्पदा, हाम्रो पहिचान हो भन्ने कुरालाई यहाँका युवा पुस्ताहरुले बुझिसकेका छन् । त्यो राम्रो पक्ष हो । भक्तपुरमा सुरु भएको यो लहर नेपालभर नै जाओस् । र सम्पदा हाम्रो पहिचान हो, सम्पदाको संरक्षण, सम्वर्द्धन गर्नुपर्छ भन्ने एउटा भावना विकास होस् । यहाँका सम्पदाहरुको संरक्षण गर्नको लागि एउटा इँटा र ढुंगा पनि यताउती पार्दैनन् । सम्पदा बचाउनु पर्छ भन्नेतिर लागेका छन् । पोखरी मात्र नभइ ढुंगेधारा, जलद्रोनीहरु र जलसँग सम्बन्धित सम्पदाहरु मात्र नभइ अनेक सम्पदाहरु पनि संरक्षण गर्नेतर्फ लागेका छन् । किनभने त्यो हाम्रो पहिचान हो र एउटा गौरव एवम् शानको कुरा पनि हो । आजको संसार पर्यटनसँग जोडिएको छ । संसारको कुना काप्चाबाट यस्ता सम्पदाहरु हेर्न पर्यटकहरु आउँछन् । त्यसकारण सम्पदाहरुलाई मात्र बचाएर राख्न सक्यौं भने भोलिका पुस्ताहरुलाई दिने एउटा अनुपम नासो हुन सक्छ ।

पोखरीहरुको सुधार र संरक्षण गर्ने क्रममा ऐतिहासिक महत्वका वस्तुहरु लोप हुँदै गए भन्ने गुनासाहरु आइरहेका छन् नि !
यी मूर्त सम्पदाहरुहरु संरक्षण गर्नुपर्छ भन्ने कुराको चेतना सर्वसाधारणमा आइसकेका छ । ऐतिहासिक, पुरातत्विक र धार्मिक महत्त्वका सम्पदाहरु चाहे भौतिक होस् वा अभौतिक हुन् । यी सबै हाम्रो पहिचान र संस्कृति हो । यसलाई बचाउनुपर्छ भन्ने लहर चलिआएको छ । यसले भोलिका दिनमा शिलालेखहरुमा कसैले पनि रंग लगाउन जाँदैनन् । यस्ता शिलालेखहरु बचाउनेतर्फ युवाहरु लागेकै छन् र हामी त्यो आशा पनि गर्छौँ ।

हाम्रो चाँगुमा एउटा मूर्ति छ त्यो मूर्तिको शिर मात्रै छ । उसको शरीर छैन, त्यो पाँचौँ शताब्दीदेखि आएको मूर्ति हो । त्यस्तो मूर्ति विश्वमा हाम्रो भक्तपुरको चाँगुमा बाहेक अन्त छैन । त्यो मूर्ति अर्धपुरुषेश्वरको हो । दायाँतिर शक्ति र प्रकृति छ, बायाँतिर शिव वा पुरुष छ । यो अर्धपुरुषेश्वरको मूर्ति हो, अर्धनारीश्वरको होइन । यसले के देखाउँछ भने मूर्ति प्रमाणका आधारमा के लाग्छ भने पाँचौँ शताब्दीभन्दा अगाडिसम्म पनि समाज मातृपरक समाज थियो । मातृप्रधान समाज थियो । पछि पुरुषप्रधान हुँदै गयो । यस्ता दुर्लभ सम्पदाहरु हाम्रो देशमा छन् । यस्ता सम्पदाहरुलाई हामीले बचाउनुपर्छ भन्ने एउटा वैचारिक क्रान्ति वा लहर आएको छ । बोलीमा भनेका कुरा जनजीवनले व्यवहारमा देखाउने हो भने यो सम्पदालाई संरक्षण गर्न सकिन्छ ।

भक्तपुरमा रहेको कमल पोखरी जुन छ यो पनि एउटा प्रसिद्ध पोखरी हो । यसको महत्त्वबारे हजुरलाई केही जानकारी छ ?
पोखरीको बारेमा भन्दैगर्दा कमल पोखरीको बारेमा भन्न बिर्सिएछु । कमल पोखरी नेवा लोक जीवनमा सांस्कृतिक जीवनमा चलेको नाम ‘यातु बहारे पुखु’ हो । कमलको फुल फुल्ने विषेशताले पोखरीलाई कमलपोखरी भनिएको हो । कमलपोखरीको पूर्वपट्टी जोडी चैत्य छन् ती चैत्य १६औँ शताब्दीतिर गंगालक्ष्मी या गंगा महारानीले भक्त्तपुरमा प्रसिद्ध छ । त्रिभुवन मल्ल, त्रैलोक्य मल्ल र गंगा रानीको संयुक्त शासनकालमा बनेको चैत्य हो भनिएको छ । सँगै गणेशको मन्दिर पनि छ, त्यहाँ देवालीका मूर्तिहरु पनि छन् । मानिसहरु पोखरीको पवित्र जल लिएर आफ्नो देवाली पूजा गर्न जाने चलन पनि छ । त्यो पोखरी त्यहाँ भन्दा अगाडि रहेको देखिन्छ । गोपालराज वंशावली आजभन्दा ६०० वर्ष अगाडि लेखिएको जयस्थिति मल्लको समयमा सम्पादन गरिएको गोपालराज वंशावलीमा पनि पोखरी उल्लेख गरिएको देखिन्छ ।

भक्तपुरमा रहेको केही पोखरीहरु रहस्यमय तरिकाले पनि निर्माण भएको भन्ने सुन्नमा आएको छ । यसमा कतिको सत्यता छ ?
तथ्य, सत्य त लोकजीवनमा आफ्नै ठाउँमा होला । म विद्यार्थी छँदा स्कुलमा पढदा धेरै बदमास थिए । स्कुलबाट भागेर पौडी खेल्न जान्थौँ । पौडी नखेलेको भक्तपुरमा कुनै पनि पोखरी छैन । खोला पनि छैनन् । हनुमान घाटमा डाइभ हान्थौँ । तर, अहिले त्यो डाइभ हान्ने स्थिति छैन । राम मन्दिरमा मंगल तिर्थमा डाइभ हान्थ्यौँ । अहिले कहाँ शुद्ध पानी पाइन्छ त, कमलपोखरीमा पनि पौडी खेलियो । सिद्धपोखरीमा त पूरै जीवन बित्यो । पौडी खेल्न सिकेकै सिद्धपोखरीबाट हो । झार, घाँसले दिउँसो मान्छे जान डराउथे । त्यहाँ भीमसेन थापाले राखेको डुङ्गा थियो ।

त्यो बिग्रेको डुङ्गामा हामी पानीमुनी डुब्थ्यौँ । त्यतिबेला पाँच टाउके नागले तानेर लैजान्छ भनेर कहानी सुनेका थियौँ । त्यहाँ लामो समयसम्म डुबुल्की मार्दा पनि नागले नतानेको कथा आफैँमा महत्त्व मात्र छ । अब सिद्धपोखरीमा ठिमीमा मानिसहरु जान हुँदैन भन्ने मान्यता पनि छ । श्रीमतीलाई नाग हेर्ने इच्छा भएर तान्त्रिकले अक्षता फुकेर हिर्काएछन् । भयकंर नागको रुप धारणा गरेछन् । श्रीमतीले साधन गरेको अक्षता हान्न बिर्सेछन् । तिनी भागिन् । सिद्धपोखरीको अर्को नागलाई उनले मारे । यस्तै कथाहरु छन् । हरेक पोखरीहरुको हरेक सम्पदाहरुको आफ्नै कथा रहेको पाइन्छ । त्यो कथा नै मूर्तिको वा सम्पदाको संविधान हो । किनभने नेपाल त किंवदन्तीहरुको कथै कथाको देश हो । पोखरीहरुसँग पनि कथाहरु जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *