
कैलाली, १२ असार । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो । तर, यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठिकविपरीत बनेको छ ।
बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि वर्षा नहुँदा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । यसले किसानको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसी बिहान–बेलुका खेत पुगेर धानको अवस्था हेर्नुहुन्छ । समय–समयमा आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गर्नु अहिले उहाँको दैनिकी बनेको छ ।
“रोपाइँ त बोरिङको पानीले गरियो, तर त्यसपछि पानी नै परेन,” उहाँले भन्नुभयो, “धानका बिरुवा पहेँलिन थालेका छन् । अब केही दिनभित्र पानी परेन भने धेरै क्षति हुन्छ । मेहनत र लगानी सबै खेर जाने चिन्ता छ ।” उहाँका अनुसार अहिले बोरिङमा पानी आउँदैन जसका कारण सिँचाइ गर्न पनि समस्या छ ।
घोडाघोडी नगरपालिका–८ का अर्का किसान डम्बर विष्ट पनि हरेक दिन खेत पुगेर धानको अवस्था नियाल्नुहुन्छ । उहाँले पनि अरूको बोरिङ प्रयोग गरेर प्रति घण्टा पाँच सय रुपैयाँ तिरेर रोपाइँ सम्पन्न गर्नुभएको थियो । रोपाइँपछि एक पटक सिँचाइ गरे पनि वर्षा नहुँदा धान सुक्दै गएको उहाँ बताउनुहुन्छ ।
“बोरिङ चलाउँदा खर्च धेरै हुन्छ । डिजेल र बिजुली दुवै महङ्गो छ,” उहाँले भन्नुभयो, “कति पटक पानी हाल्ने ? पानी नपर्दा खेत सुक्दै गएको छ । अब वर्षा भएन भने उत्पादनमा ठुलो असर पर्छ ।”
घोडाघोडी नगरपालिका–८ का किसान देशराज चौधरीले यस वर्ष धानखेतीमा मल, बीउ, रोपाइँ र मजदुरीमा ठूलो लगानी गरिसकेको बताउनुभयो । तर, समयमै वर्षा नहुँदा त्यो लगानी जोखिममा परेको उहाँको भनाइ छ ।
“हामीले खेती गर्नेबेला सबै खर्च गरिसक्यौँ”, उहाँले भन्नुभयो, “तर अहिले आकाशले साथ दिएको छैन । बोरिङबाट रोपाइँ गरियो, तर सिँचाइका लागि पटक–पटक बोरिङ चलाउन सक्ने अवस्था छैन । खर्च धान्नै गाह्रो भएको छ ।” उहाँका अनुसार भूमिगत पानीको सतह पनि घट्दै गएकाले पहिले सहजै पानी आउने बोरिङबाट अहिले पर्याप्त पानी आउन छाडेको छ । यसले किसानलाई थप समस्यामा पारेको छ ।
कैलालीका अधिकांश किसान बोरिङको भरमा धान रोप्ने गरेका छन् । तर, रोपाइँपछि धानको वृद्धि र संरक्षणका लागि आवश्यक सिँचाइ भने वर्षाको पानीमै निर्भर रहने गरेको किसानहरू बताउँछन् । यस वर्ष असार लाग्दासमेत वर्षा नहुँदा खेतमा चिरा पर्न थालेका छन् भने धानका बिरुवाको वृद्धि रोकिएको छ । कतिपय ठाउँमा बिरुवा पहेँलिन थालेका छन् भने केही खेतमा सुक्न थालेको छ ।
रामु बूढाथोकीका अनुसार सुरुमा बोरिङको पानीले सहजै रोपाइँ सम्पन्न भए पनि अहिले बोरिङमा पानी नै आउन छाडेको छ । “पहिले केही घन्टा चलाउँदा पुग्ने पानी आउँथ्यो”, उहाँले भन्नुभयो, “अहिले घन्टौँ मोटर चलाउँदा पनि खेतमा पानी पुग्दैन । यस्तो अवस्था रहिरहे धान जोगाउनै मुस्किल हुन्छ ।”
किसानको अहिलेको मुख्य समस्या केवल वर्षा नहुनु मात्र होइन, सिँचाइको बढ्दो लागत पनि हो । बोरिङ सञ्चालन गर्न डिजेल वा विद्युतको खर्च बढेकाले सबै किसानले आवश्यकताअनुसार पानी हाल्न सकेका छैनन् । त्यसको प्रत्यक्ष असर धानबालीमा देखिन थालेको छ ।
खडेरीका बिच पनि कैलालीका किसान धान रोपाइँमा व्यस्त छन् । नहर, खोला तथा बोरिङबाट उपलब्ध सीमित पानीको भरमा उनीहरूले रोपाइँ गरिरहेका छन् । घोडाघोडी नगरपालिका–३ का किसान भीम चौधरीका अनुसार वर्षा नहुँदा रोपाइँ गर्न कठिन भए पनि धेरै दिनअघि राखिएको धानको बीउ छिप्पिन थालेकाले बाध्य भएर रोपाइँ गर्नुपरेको हो ।
“बीउ राखेको धेरै समय भइसक्यो, अब झन् ढिलो गर्यौँ भने बीउ बिग्रिन्छ,” उहाँले भन्नुभयो, “त्यसैले महङ्गो खर्च गरेर भए पनि बोरिङ र नहरको पानीको भरमा रोपाइँ गरिरहेका छौँ । अब समयमै पानी परे मात्रै बाली जोगिन्छ ।”
स्थानीय किसान समयमै पर्याप्त वर्षा भए अझै पनि धान जोगाउन सकिने आशामा छन् । अहिले कैलालीका किसानको एउटै अपेक्षा छ । समयमै पर्याप्त वर्षा होस् र खेतमा रोपिएका धानका बिरुवाले फेरि हरियाली फर्काउन सकुन् ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा यहाँ वार्षिक करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसमध्ये करिब तीन प्रतिशत क्षेत्रफलमा चैते धान खेती गरिन्छ । यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले सिँचाइका वैकल्पिक स्रोतको भरमा रोपाइँ गरिरहेका छन् भने रोपाइँ सम्पन्न भएका खेतमा पनि धानका बिरुवा सुक्न थालेपछि किसानको चिन्ता बढ्दै गएको छ । –रासस