
सुरेन्द्र भण्डारी
सुरुङ्गा, ८ असार । झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन । बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्याउने क्षतिका कारण कृषक प्रभावित भएका छन् । तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।
विशेष गरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारी खेती विस्तार हुँदै गएको छ । अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, वर्षौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले कृषकको रोजाइ सुपारीतर्फ बढेको हो ।
बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार एक पटक बगान स्थापना गरेपछि सुपारीले ४० देखि ५० वर्षसम्म उत्पादन दिन सक्छ । नियमित सिँचाइ, मल व्यवस्थापन र सामान्य हेरचाह गरे पुग्ने भएकाले श्रम लागत अन्य नगदेबालीको तुलनामा कम पर्ने उहाँको भनाइ छ । जसका कारण उत्तरी झापाका कृषक सुपारीखेतीतर्फ आकर्षित छन् ।
झापामा सुपारी खेतीको सबैभन्दा ठुलो केन्द्र बुद्धशान्ति गाउँपालिका मानिँदै आएको छ । गाउँपालिकाका वडा नम्बर १, ३, ४ र ५ का किसानको सुपारीखेती घरघरको आम्दानीसँग जोडिएको छ । वडाध्यक्ष वाग्लेका अनुसार गाउँपालिकाका अधिकांश कृषक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारीखेतीमा निर्भर छन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको ग्रामीण अर्थतन्त्रमा सुपारीखेतीको योगदान उल्लेखनीय रहेको बताउनुहुन्छ । उहाँका अनुसार सुपारीबाट नगद आम्दानी हुने भएकाले कृषकको जीवनस्तरमा सुधार आएको छ । वैदेशिक रोजगारीमा जाने युवामध्ये केही यही खेतीतर्फ फर्किन थालेका छन् । हात्तीको नियमित ओहरदोहर हुने क्षेत्र भएकाले धेरै कृषकले धान वा मकैभन्दा सुपारीलाई सुरक्षित विकल्पका रूपमा रोजेको गाउँपालिका अध्यक्ष प्रसाईंको भनाइ छ ।
अर्जुनधारा र मेचीनगरमा विस्तार
अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका क्षेत्रमा सुपारीखेती विस्तार भइरहेको छ । स्थानीय कृषि प्राविधिकका अनुसार यी दुई पालिकाका करिब ४० प्रतिशत कृषक कुनै न कुनै रूपमा सुपारी उत्पादनसँग आबद्ध छन् ।
हात्तीले धान, मकै र तरकारीमा ठुलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने अनुभव कृषकहरूले गरेका छन् । यही कारण पछिल्ला वर्षमा नयाँ बगान स्थापना गर्ने क्रम बढेको छ ।
बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरादह र दमक नगरपालिकामा करिब २० प्रतिशत कृषकले सुपारीखेती गर्दै आएका छन् । सुपारीका बिरुवाको माग बढेसँगै ती क्षेत्रमा व्यावसायिक नर्सरीसमेत सञ्चालनमा आएका छन् । पछिल्लो समय पूर्वपश्चिम महेन्द्र राजमार्ग दक्षिणका कृषकले सुपारीखेती रुचाएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।
सुपारीखेतीको सबैभन्दा ठुलो विशेषता यसको दीर्घकालीन उत्पादन हो उहाँले भन्नुभयो, “बिरुवा रोपेको केही वर्षपछि नियमित उत्पादन सुरु हुन्छ र दशकौँसम्म आम्दानी दिइरहन्छ जसका कारण सुपारीखेतीमा झापाका कृषक आकर्षित हुने गरेका छन् ।”
बुद्धशान्ति–५ का कृषक गजाधर पौडेलले १६ कठ्ठा क्षेत्रफलमा करिब ६०० सुपारीका बिरुवा लगाउनुभएको छ । तीमध्ये करिब ५०० बिरुवाले उत्पादन दिइरहेका छन् । उहाँका अनुसार वार्षिक करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको सुपारी बिक्री हुने गरेको छ । अन्य बालीको तुलनामा सुपारी खेतीमा श्रम कम लाग्ने भएकाले यसबाट राम्रो प्रतिफल प्राप्त भइरहेको उहाँको अनुभव छ । जिल्लाका कतिपय कृषकले ठुलो क्षेत्रफलमा सुपारीखेती गरी वार्षिक आठदेखि १० लाख रूपैयाँसम्म आम्दानी गरिरहेको बताइन्छ ।
सुपारीसँगै अन्तरबाली
झापाका कृषकले सुपारीको बगानमा अदुवा, बेसार, कफी, केरा, तरकारी, खुर्सानी तथा अन्य नगदेबाली अन्तरबालीका रूपमा उत्पादन गर्दै आएका छन् । यसले एउटै जग्गाबाट वर्षभरि विभिन्न स्रोतबाट आम्दानी हुने वातावरण सिर्जना गरेको छ । सुपारीको बोटबिचको खाली स्थान सदुपयोग गर्न सकिने भएकाले उत्पादन लागत घट्ने र आम्दानी बढ्ने गरेको छ ।
सुपारीखेती विस्तारसँगै बिरुवाको माग बढेको छ । बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरमा व्यावसायिक नर्सरी सञ्चालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । वुद्धशान्तिका कृषक आयुष निरौलाका अनुसार सुपारीको नर्सरी सञ्चालन गरेर पनि यहाँका युवाले राम्रो आयआर्जन गरिरहेका छन् । आफू स्वयम् जापान जान लागेको थिए । उहाँले भन्नुभयो, “सुपारीखेती प्रति कृषकको झुकाव देखेपछि आम्दानी गर्न सकिने अठोटका साथ नर्सरी स्थापनामा लागेको हुँ अहिले मनग्य आम्दानी भइरहेको छ ।”
बुद्धशान्ति–५ का कृषक चुडामणि न्यौपानेले सुपारीको नर्सरी सञ्चालनसँगै स्थानीयस्तरमै सुपारी प्रशोधन गर्दै आउनुभएको छ । आधुनिक प्रशोधन प्रविधिको अभावका कारण गुणस्तरीय उत्पादनमा चुनौती रहेको उहाँको भनाइ छ ।
उहाँले सरकारले प्रशोधन प्रविधि, रोग पहिचान, प्राविधिक सेवा तथा निर्यात प्रक्रियामा सहजीकरण गरिदिए सुपारी नेपालको महत्त्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने बताउनुहुन्छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०८० असारमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर चार हजार ११९ हेक्टर क्षेत्रफलमा सुपारीखेती गरिएको छ । त्यसमध्ये चार हजार १९ हेक्टर उत्पादनशील क्षेत्र रहेको छ । प्रतिहेक्टर औसत ३.६४ मेट्रिकटन उत्पादन हुने मन्त्रालयको तथ्याङ्क रहेको छ ।
झापासम्बन्धी पछिल्लो विस्तृत सरकारी तथ्याङ्क उपलब्ध नभए पनि विगतका अध्ययनले जिल्लामा करिब दुई हजार हेक्टर क्षेत्रफलमा सुपारीखेती हुने गरेको देखाएको छ । कृषक र व्यवसायीका अनुसार पछिल्ला वर्षमा यो क्षेत्रफल अझ विस्तार भएको छ ।
झापामा सुपारी उत्पादन बढे पनि प्रशोधन र बजारीकरणमा भने कृषकले विभिन्न समस्या भोग्दै आएका छन् । झापामा सुपारी प्रशोधन गर्ने सहकारी तथा निजी उद्योग स्थापना भए पनि आधुनिक प्रविधि पर्याप्त छैन । बुद्धशान्ति–१ स्थित श्रीकृष्ण सुपारी सहकारी संस्थाले वार्षिक करिब ४०० क्वीन्टल प्रशोधित सुपारी बिक्री गर्ने गरेको जनाएको छ । सहकारीका पदाधिकारीका अनुसार बजारको माग स्थिर भए पनि गुणस्तरीय प्रशोधन उपकरण र निर्यात सहजीकरणको अभावले प्रतिस्पर्धात्मक क्षमता बढाउन कठिन भइरहेको छ ।
कृषकहरूले भारतलगायतका बजारमा निर्यात प्रक्रियालाई सहज बनाउन तथा आधुनिक सुकाउने मेसिन, ग्रेडिङ र प्याकेजिङ प्रविधिमा सरकारी लगानी आवश्यक रहेको बताएका छन् । सुपारीखेतीको व्यवसायीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत सिँचाइ, नर्सरी व्यवस्थापन, प्रशोधन उपकरण, कृषक तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यसअघि ‘एक जिल्ला–एक उत्पादन’ कार्यक्रमअन्तर्गत झापालाई सुपारी उत्पादनको जिल्ला घोषणा गरिएको थियो । त्यसपछि ‘एक गाउँ–एक उत्पादन’ कार्यक्रममार्फत सुपारीखेती विस्तार गर्ने प्रयास भएको छ । जलवायु, माटो र पर्याप्त वर्षाका कारण झापा सुपारी उत्पादनका लागि नेपालको सबैभन्दा उपयुक्त जिल्लामध्ये एक हो । हात्ती प्रभावित क्षेत्रमा अन्य बाली बारम्बार नष्ट भइरहेका बेला सुपारीले कृषकलाई स्थिर नगद आम्दानी दिएको छ ।
यद्यपि, उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ, गुणस्तर मापदण्ड, निर्यात तथा कृषि बिमामा प्रभावकारी नीति लागू गर्न सके सुपारी झापाको मात्र नभइ नेपालको महत्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने सम्भावना देखिएको छ ।
बुद्धशान्ति–२ निवासी सुपारी कृषक रामप्रसाद उप्रेतीले ४० वर्ष अगाडि लगाएको सुपारी निरन्तर आम्दानी दिइरहेकाले अहिले आठ बिघा क्षेत्रफलमा सुपारीखेती गर्दै आएको बताउनुभयो । यहाँ उत्पादित सुपारी राज्यका तर्फबाट तेस्रो मुलुक पु¥याउन पहल गरिदिने हो भने झापावासीको मुख्य आम्दानीको स्रोत नै सुपारी बन्ने उहाँको भनाइ छ । आफूले पछिल्लो समय बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेको बताउनुभयो ।
बुद्धशान्ति–४ का कृषक रुद्रबहादुर भण्डारीले सुपारीको बिरुवा उत्पादन गरेर अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले भण्डारी मल्टीप्रपोज एग्रो फार्म नै सञ्चालन गरेर सुपारीका बिरुवा उत्पादन र बिक्री वितरण गर्दै आउनुभएको छ ।
वन्यजन्तुबाट हुने क्षतिको जोखिम न्यून भएका कारण सुपारीखेती अहिले झापाका हात्ती प्रभावित क्षेत्रका कृषकका लागि केवल वैकल्पिक बाली मात्र होइन । दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ । –रासस