
काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ । उहाँ गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उहाँ स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुग्नुभएको हो । बेइजिङस्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ ।
चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने तालिका छ ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।