
काठमाडौँ, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “सुशासनको पक्षमा हामीले हरियो रिबन बाँधेका थियौँ, आन्दोलन पनि गरेका थियौँ, छानबिन समितिको माग पनि गरेका थियौँ । तर, यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता सर्दा सबै बिर्सिने हुँदो रहेछ । भन्सार कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । समिति रहरले माग गरेको होइन । अर्थमन्त्रीज्यूलाई काम गर्न नदिने भन्ने पनि होइन ।”
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरेलगत्तै अर्थमन्त्रीले पटक–पटक करका दरहरू चलाएको र सूचना चुहाएको आरोप लागेको छ ।
यसै सम्बन्धमा अर्थमन्त्री वाग्लेले बुधबार अर्थ समितिको बैठकमा उपस्थित हुँदै आफूले विनियोजित विधेयक नचलाएको दाबी गर्नुभएको थियो ।