पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची, २४ जेठ । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ । पहिलो पटक रक गार्डेन पुग्ने आगन्तुकहरू त्यहाँका चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्य चकित हुने गरेका छन् । कतिपय ठाउँमा मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारी झै देखिने हुँदा धेरैले प्रकृतिको अनुपम सिर्जना भनेर चर्चा गर्ने गर्छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र ढुङ्गाको जङ्गल जस्तै देखिन्छ, जसले आगन्तुकलाई एकैपटक रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ । पछिल्लो समय यो गार्डेन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू यहाँ घुम्न आउने क्रम बढ्दो छ । स्थानीयका अनुसार...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची, २४ जेठ । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।

सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ ।

पहिलो पटक रक गार्डेन पुग्ने आगन्तुकहरू त्यहाँका चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्य चकित हुने गरेका छन् । कतिपय ठाउँमा मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारी झै देखिने हुँदा धेरैले प्रकृतिको अनुपम सिर्जना भनेर चर्चा गर्ने गर्छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र ढुङ्गाको जङ्गल जस्तै देखिन्छ, जसले आगन्तुकलाई एकैपटक रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ ।

पछिल्लो समय यो गार्डेन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू यहाँ घुम्न आउने क्रम बढ्दो छ । स्थानीयका अनुसार यहाँको स्वच्छ वातावरण, चिसो मौसम र प्राकृतिक दृश्यावलोकनले सहरको भीडभाडबाट केही समय टाढा पुगेर मानसिक ताजगी प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले पछिल्लो समय प्रचारप्रसारसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको बताउनुभयो । “प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यो क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै छ । हामीले यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो ।

यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले योजनाबद्ध रूपमा विभिन्न कामअघि बढाएको छ । हाल पर्यटकहरूको सहजताका लागि शौचालय, विश्रामस्थल (ट्रस्ट) तथा मन्दिर निर्माण गरिएको छ । यी संरचनाले आगन्तुकको बसाइँलाई थप सहज र आरामदायी बनाएको जानकारी दिँदै वडाध्यक्ष आचार्यले गार्डेनको प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै दीर्घकालीन पर्यटन विकास रणनीति तयार पारिरहेको बताउनुभयो ।

नगर क्षेत्रमै पहिचान र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएकाले यसको विकास र उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीय युवा नारायण आचार्यको भनाइ छ । “हाल जिल्लाभित्रबाट बढी पर्यटक आउने गरेका छन्, तर बाहिरी जिल्लासम्म यसको पहिचान पु¥याउन सकियो भने यसको महत्त्व अझ बढ्नेछ । त्यसका लागि स्थानीय तहले थप योजना अगाडि बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
रक गार्डेनको अर्को विशेषता भनेको यहाँबाट देखिने विशाल भू–दृश्य हो । यस स्थानबाट सन्धिखर्क नगरपालिका मात्र होइन, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकालगायत पाल्पा र प्युठान जिल्लाका केही भूभागहरू अवलोकन गर्न सकिन्छ ।

लुम्बिनी र सुपा देउराली मन्दिरमा आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकियो भने जिल्लाको पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुन सन्धिखर्कका स्थानीय व्यवसायी डिलाराम भुसालले बताउनुभयो । “यसले होटल, यातायात, व्यापारलगायत स्थानीय व्यवसायमा प्रत्यक्ष लाभ पुर्‍याउनेछ ।”

रक गार्डेनलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । “पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने र आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

लुम्बिनी र सुपा देउरालीमा आएका पर्यटकलाई खाँचीकोट भगवती मनिदर तथा राज्य, सन्धिखर्कको सिद्धेश्वर मन्दिर, अर्घा भगवती हुँदै यस स्थानमा लैजाने गरी योजना बनाउन सकेमा यस स्थानमा पर्यटकहरू थप बढ्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

“प्रकृतिले आफैँ निर्माण गरेको डिभर्नाको यो अद्भूत ढुङ्गाको संसार साँच्चिकै नेपालकै नमूना पर्यटकीय सम्पदा बन्ने सम्भावना बोकेको छ । यसको व्यापक प्रचारप्रसार, संरक्षण र पूर्वाधार विकासमा सरोकारवाला सबै पक्षको ध्यान पुग्न सके रक गार्डेन अर्घाखाँचीको पर्यटन नक्सामा चम्किलो गन्तव्यका रूपमा स्थापित हुने सम्भावना छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले भन्नुभयो ।

रक गार्डेन केवल एउटा प्राकृतिकस्थल मात्र नभई अर्घाखाँचीको समृद्ध भविष्यको आधार बन्न सक्ने अमूल्य सम्भावनाको क्षेत्र भएकाले नगरले यसका विकासमा ध्यान दिइरहेको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विशाल सम्भावनाले भरिएको यो क्षेत्रले जिल्लाकै पहिचान स्थापित गर्ने सम्भावना रहेकाले विकासका लागि सबैले ध्यान दिन आवश्यक रहेको खनालले बताउनुभयो । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *