अटो चलाएर आत्मनिर्भर बन्दै महिला

हरि परियार ललितपुर, १७ वैशाख । ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहनुभएको थिएन । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उहाँले राहदानीसमेत बनाइसक्नुभएको थियो । त्यसैबिचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गर्नुभयो । “तालिम लिएपछि गाउँमै केही गर्न सकिन्छ कि भन्ने आशा जाग्यो,” उहाँले भन्नुभयो । हाल वाइबाले अटो चलाउने ‘लाइसेन्स’ लिएर गाउँमै अटो चलाउन थाल्नुभएको छ । अटो चलाएर गाउँमै दैनिक तीन हजार रुपैयाँदेखि पाँच हजार रूपैयाँसम्म आम्दानी गर्न थाल्नुभएको छ । यसले उहाँको जीविका चलाउन मात्र सहज नभएर आत्मविश्वाससमेत बढाएको छ । सोही गाउँपालिका–३ की अनिता वलले पनि घरको चुल्होचौकोबाट बाहिर निस्केर कसरी अर्थोपार्जन गर्न सकिएला भन्ने सोचिरहनुभएको थियो । मखमलीकै जस्तो उहाँलाई पनि अटोचालक तालिमले नयाँ अवसर प्रदान गर्‍यो । अहिले अटो चलाएर उहाँले स्वरोजगार महसुस गर्नुभएको छ । उहाँले भन्नुभयो, “आफैँ कमाउन थालेपछि आत्मसम्मान पनि बढ्दो रहेछ ।” सुरूवातमा महिलाले सवारी चलाउँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला
हरि परियार

ललितपुर, १७ वैशाख । ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहनुभएको थिएन । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उहाँले राहदानीसमेत बनाइसक्नुभएको थियो ।

त्यसैबिचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गर्नुभयो । “तालिम लिएपछि गाउँमै केही गर्न सकिन्छ कि भन्ने आशा जाग्यो,” उहाँले भन्नुभयो । हाल वाइबाले अटो चलाउने ‘लाइसेन्स’ लिएर गाउँमै अटो चलाउन थाल्नुभएको छ । अटो चलाएर गाउँमै दैनिक तीन हजार रुपैयाँदेखि पाँच हजार रूपैयाँसम्म आम्दानी गर्न थाल्नुभएको छ । यसले उहाँको जीविका चलाउन मात्र सहज नभएर आत्मविश्वाससमेत बढाएको छ ।

सोही गाउँपालिका–३ की अनिता वलले पनि घरको चुल्होचौकोबाट बाहिर निस्केर कसरी अर्थोपार्जन गर्न सकिएला भन्ने सोचिरहनुभएको थियो । मखमलीकै जस्तो उहाँलाई पनि अटोचालक तालिमले नयाँ अवसर प्रदान गर्‍यो । अहिले अटो चलाएर उहाँले स्वरोजगार महसुस गर्नुभएको छ । उहाँले भन्नुभयो, “आफैँ कमाउन थालेपछि आत्मसम्मान पनि बढ्दो रहेछ ।”

सुरूवातमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर, अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहज रूपमा सेवा लिन थालेको उहाँको अनुभव छ ।

महाङ्काल गाउँपालिकाले कृषि, पर्यटनलगायत अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाबाट बाहिरिने जनसङ्ख्या घटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । पालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार अटो ड्राइभिङ तालिमले मखमली र अनिता जस्ता बेरोजगार महिलाको जीवनमा परिवर्तन ल्याएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएको तालिममा २२ गृहिणी सहभागी थिए, जसमध्ये १५ जनाले चालक अनुमतिपत्र प्राप्त गरेका छन् । तीमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन् ।

उपाध्यक्ष गोलेका अनुसार तालिममा सहभागीमध्ये केहीले बिचमै तालिम छाडेका थिए । तालिम लिएकामध्ये बाँकी १३ जना व्यवसायमा जोडिन प्रयासरत छन् । पालिकाले अटो व्यवसाय सुरू गर्न चालक अनुमति पत्र प्राप्त गरेका दुई जनालाई दुई लाख २५ हजार रुपैयाँको दरले आर्थिक अनुदान उपलब्ध गराएको छ । यसले उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सहज भएको हो ।

गाउँपालिकाले अन्य १३ जनालाई पनि अनुदान उपलब्ध गराउन प्रयत्न गरिरहेको छ । “यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयस्तरमा यातायात सेवा पनि सहज बनाएको छ,” उपाध्यक्ष गोलेले भन्नुभयो ।

गाउँपालिकाले वडा नम्बर १ देखि ६ सम्म सञ्चालन हुने अटो सेवाका लागि भाडा दरसमेत निर्धारण गरेको छ । केही सडक कच्ची भएकाले यात्रा चुनौतीपूर्ण भए पनि सेवा विस्तार हुँदै गएको छ । महाङ्काल गाउँपालिकाले अटो ड्राइभिङसँगै अचार बनाउने, सिलाइकटाइ, च्याउखेती लगायतका तालिम सञ्चालन गर्दै महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *