![‘लालीबजार’ केवल फिल्म होइन, सामाजिक सन्देश हो : अभिनेता बानियाँ [भिडिओ] ‘लालीबजार’ केवल फिल्म होइन, सामाजिक सन्देश हो : अभिनेता बानियाँ [भिडिओ]](https://hamrosambad.com/wp-content/uploads/2026/04/Ramindra-Sing-Baniya.jpeg)
आकाङ्क्षा धामी
काठमाडौँ, १४ वैशाख । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ ।
फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म हो । २०४३ सालदेखि २०५८ सालसम्मको समयावधिलाई समेटिएको यस फिल्मले तत्कालीन समाजमा विद्यमान असमानता, सत्ताको दुरुपयोग र कमजोर समुदायमाथि भएका अन्यायलाई चित्रण गर्ने प्रयास गरेको छ ।
फिल्मको कथावस्तु अनुसार, बादी समुदायका महिलामाथि हुने शोषण, ‘नथी’ जस्ता परम्परागत अभ्यासमार्फत गरिने नियन्त्रण तथा स्थानीय सत्ताधारी वर्गको प्रभावलाई केन्द्रमा राखिएको छ । विशेषगरी एउटा आमाले आफ्नी छोरीलाई त्यस्तो दमनकारी परिवेशबाट जोगाउन गरेको संघर्षलाई फिल्मको मुख्य कथा बनाइएको छ ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा अभिनेता रवीन्द्रसिंह बानियाँले ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभइ सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “लालीबजार फिल्म आउँदै छ र त्यसको प्रचार–प्रसारमा व्यस्त छौँ । फिल्म पश्चिम नेपालको बादी समुदायको कथा र व्यथामा आधारित पिरियड फिल्म हो, जसले २०४३ देखि ०५८ सालसम्मको समयलाई समेट्छ । त्यो समयको सामाजिक संरचना निकै जटिल थियो । आर्थिक रूपमा सबल र सत्तामा पहुँच भएका व्यक्तिहरूले कमजोर समुदायमाथि दबाब र शोषण गर्ने अवस्था थियो । ‘नथी’ भन्ने परम्पराले महिलाहरूलाई सम्पत्तिजस्तो व्यवहार गर्ने प्रवृत्ति देखाउँथ्यो । फिल्ममा एक आमाले आफ्नो छोरीलाई त्यस्तो परिस्थितिबाट बचाउन समाज र सत्तासँग लडेको कथा प्रस्तुत गरिएको छ । म स्वयंले त्यस समयमा प्रभावशाली जमिन्दार वर्गसँग सम्बन्धित पात्रको भूमिका निर्वाह गरेको छु, जसले कथालाई अझ गहिरो बनाउँछ ।”
उहाँले फिल्ममा त्यही परिवेशभित्र एक आमाले आफ्नी छोरीलाई दमनकारी परिस्थितिबाट जोगाउन समाज र सत्तासँग गरेको संघर्षलाई मुख्य कथावस्तु बनाइएको बताउनुभयो । बानियाँ स्वयंले पनि प्रभावशाली जमिन्दार वर्गसँग सम्बन्धित पात्रको भूमिका निर्वाह गरेका छन् ।
उहाँका अनुसार ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभइ सामाजिक दायित्वबोधका साथ निर्माण गरिएको फिल्म हो । “यस फिल्ममार्फत उक्त समुदायले भोगेका पीडा र यथार्थलाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो ।
फिल्म निर्माणका क्रममा टिमले विभिन्न स्थानमा पुगेर अध्ययन, अनुसन्धान तथा स्थानीय समुदायसँग अन्तरक्रिया गरेर कथा तयार पारेको उहाँले जानकारी दिनुभयो ।
अघिल्ला फिल्महरूमा हल्का–फुल्का विषयवस्तु समेटिएको भए पनि यसपटक गम्भीर र संवेदनशील विषय रोजिएको उहाँले बताउनुभयो । साँचो घटना र परिवेशबाट प्रेरित भएकाले फिल्मलाई थप जिम्मेवारीका साथ निर्माण गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “फिल्म केवल व्यापारिक हिसाबले बनाएका होइनौँ । यो हाम्रो सामाजिक दायित्व पनि हो । जसले यस्तो पीडा भोग्नुभयो, उहाँहरूलाई सम्मान र ‘ट्रिब्युट’ दिनु पनि हाम्रो उद्देश्य हो । त्यसैले विभिन्न स्थानमा पुगेर अनुसन्धान गरेर, समुदायसँग नजिकिएर कथा तयार पारेका छौं । अघिल्ला फिल्महरूमा हल्का–फुल्का विषय उठाएका थियौं, तर यसपटक संवेदनशील र गम्भीर विषयमा काम गरेका छौँँ । फिल्म साँचो घटना र परिवेशबाट प्रेरित भएकाले अझ जिम्मेवारीका साथ निर्माण गरिएको हो ।”
दर्शकलाई सम्बोधन गर्दै बानियाँले फिल्म हेर्नुअघि यसको पोस्टर, टिजर, गीत तथा ट्रेलर अवलोकन गर्न र उपयुक्त लागेमात्र हलसम्म पुग्न आग्रह गर्नुभयो । साथै, फिल्म मन परेमा अरूलाई पनि सिफारिस गर्न उहाँले अनुरोध गर्नुभयो ।
उहाँले सीमित स्रोतसाधनका कारण प्रचारमा चुनौती रहेको उल्लेख गर्दै दर्शकको साथ र समर्थन नै फिल्मको मुख्य बल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दर्शकलाई आग्रह छ–पोस्टर, टिजर, गीत र ट्रेलर हेरेर फिल्म राम्रो लाग्छ भन्ने विश्वास भए मात्र हेर्नुहोस् । राम्रो लागेमा अरूलाई पनि सिफारिस गर्नुहोस् । स्रोत सीमित छ, त्यसैले दर्शकको साथ र माया नै हाम्रो मुख्य बल हो ।”
नेपाली फिल्म उद्योगको अवस्था
बानियाँका अनुसार नेपाली फिल्म उद्योग अहिले परिवर्तनको चरणमा रहेको छ । नयाँ पुस्ता अध्ययन, तालिम र अन्तर्राष्ट्रिय अनुभव लिएर फिल्म क्षेत्रमा प्रवेश गरिरहेकोले भविष्यप्रति आशा बढेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले सिक्दै–गर्दै काम गर्नुपथ्र्यो, अहिले सिकेर आउने पुस्ता छ । यसले उद्योगलाई अझ अगाडि लैजान सक्छ ।”
यद्यपि, प्रविधिको तीव्र विकास, विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले उद्योगमा नयाँ चुनौती पनि थपिएको उहाँले उल्लेख गर्नुभयो । ‘प्रविधि अवसर पनि हो, तर त्यसअनुसार हामी तयार हुनुपर्छ,” उहाँले भन्नुभयो ।
‘लालीबजार’ वैशाख १८ गतेदेखि दर्शकमाझ आउँदै छ । सामाजिक यथार्थमा आधारित फरक धारको कथावस्तुका कारण फिल्मले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । –नेपाल न्युज बैङ्क