
काठमाडौँ, ११ वैशाख । झापा बुधबारेका डा.नारद भारद्वाज झापा आन्दोलनका अगुवा हुनुहुन्छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै करिब १४ वर्ष जेल जीवन बिताएका भारद्वाज ‘झापा विद्रोह’का क्रममा सबैभन्दा कान्छा आन्दोलनकारी हुनुहुन्थ्यो । आन्दोलनमा सहभागि भएका कारण १८ वर्षकै उमेरमा उहाँलाई २०३० सालमा तत्कालीन सरकारले पक्राउ गरेको थियो ।
झापा चन्द्रगढीदेखि वीरगञ्ज र काठमाडौँका विभिन्न जेलहरुमा १४ वर्ष जेल बस्नेक्रममा उहाँले स्वअध्ययन गरी उच्च शिक्षा हासिल गर्नुभयो ।
भारतको नक्सालवादी आन्दोलनबाट प्रभावित भएर ०२८ सालमा सुरू भएको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी रूपमा पुनःगठन गर्ने झापा विद्रोहमा भारद्वाजसँगै राधाकृष्ण मैनाली, केपी ओली, सिपी मैनाली, मोहनचन्द्र अधिकारीलगायत दर्जन बढी नेताहरू सक्रिय सहभागि थिए ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन र विभिन्न देशको राजदूतको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएका डा.भारद्वाजले नेपालमा लोकतन्त्रको मूल्य र मान्यताअनुसार काम नभएको दुखेसो गर्नुहुन्छ ।
०४६ सालमा निरंकुश व्यवस्थाविरुद्ध आन्दोलन गरेर प्रजातन्त्र पुनःस्थापित गरेको स्मरण गर्दै उहाँले लोकतन्त्रको जग अझै बस्न नसकेको बताउनुभयो ।
“हामीले निरंकुश व्यवस्था कि लोकतन्त्र भन्ने विषयको एउटा महाजनमत संग्रह जितेर लोकतन्त्र स्थापना गर्यौँ । निरंकुश राजतन्त्रलाई विस्थापित गर्यौँ । शान्तिपूर्ण र समझदारीमा आधारित राजनीतिक व्यवस्थाहरु विकास गरेका छौँ । बहुदलीय व्यवस्था भनेको संसदीय राजनीतिमा आधारित हुन्छ । संसदीय राजनीति भनेको आवधिक चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सरकार सञ्चालन गर्ने प्रणाली हो तर पछि माओवादी जनयुद्धका क्रममा सशस्त्र बलबाट सत्ता परिवर्तन गर्ने हिंसात्मक राजनीति सुरू भयो तर असफल भयो,” उहाँले अगाडि भन्नुभयो, “अहिले सबै दलहरु शान्तिपूर्ण राजनीतिको बाटोमा आइसकेका छन् तर संसदीय मूल्य र मान्यतामा जनताको अपेक्षा धेरै हुने भएकाले छिटो विकास एवम् समृद्धि चाहेका छन् । सो अनुसार काम हुन नसक्नु दुर्भाग्यपूर्ण छ ।”
गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ जनताको अपेक्षा अनुसार काम गर्न नसक्नु, भ्रष्टाचार र कुशासन हुनु साथै पुस्तान्तरण हुन नसक्नु महत्त्वपूर्ण कारण भएको उहाँको बुझाइ छ ।
“हामीले परिकल्पना गरेको लोकतन्त्र वा व्यवस्था भनेको बहुदलीय नै हो । लोकतन्त्रका मूल्य मान्यताअनुसार नै काम गर्ने हो । तर, हाल जेनजी विद्रोहबाट आएको सरकारले जनताको अपेक्षा पूरा गरेन भने फेरि पाँच वर्षमा अर्को विद्रोह हुनसक्छ । तर, त्यस्तो अवस्था हुन दिनु हुँदैन,” डा.भारद्वाजले अगाडि भन्नुभयो, “हुनतः विकास भनेको रातारात हुने होइन । हाल भएको विकासको अवस्था हेर्ने हो भने पनि निराशाजनक छैन ।”
लोकतान्त्रिक व्यवस्था भनेको मर्यादित, जन अपेक्षित र नैतिक आधारमा सुव्यवस्थित भएर स्थापित हुने व्यवस्था भएकाले त्यसको सही सदुपयोग नगरे देश दुषचक्रमा फस्ने र त्यसलाई उपयोग गरेर विदेशीहरुले सार्वभौकिता, स्वतन्त्रतामाथि आक्रमण गर्नसक्ने उहाँले बताउनुभयो ।
वालेन्द्र शाह नेतृत्वको सरकारले ट्रेड युनियन र विद्यार्थी युनियनहरु खारेजी गर्ने घोषणा लोकतान्त्रिक संविधान विरोधी भएको उहाँले औँल्याउनुभयो ।
“विद्यार्थी संगठनहरु खारेज गर्ने अनि अमेरिकन युथ काउन्सिललाई चाहिँ स्वतन्त्रता दिने, अमेरिकन युथ काउन्सिल खोलेर दुई शक्ति राष्ट्रहरुको शक्ति स्थापित गर्ने प्रयास गर्नु हुँदैन । ती काउन्सिलहरुमा नेपाली युवाहरु आवद्धता गराएर उनीहरुलाई संघर्षमा उतार्ने प्रयास हुनसक्ने भएकाले सचेत रहनुपर्छ । त्यसैले मजदुर र विद्यार्थीहरुको अधिकार कटौतीको कुरा जायज होइन,” उहाँले भन्नुभयो । विद्यार्थी संगठन खारेज गरेर संघर्षलाई फराकिलो पार्ने काम वर्तमान सरकारले गर्न नहुने बताउनुभयो ।
झापा आन्दोलनमा संलग्नता
झापा आन्दोलनका क्रममा पक्राउ परेपछि १४ वर्ष जेल बसेर छुटेपछि विश्वविद्यालयको अध्यापनमा सहभागि भएको हुँ । ०३० सालमा साथीहरु राधाकृष्ण मैनाली, सिपी मैनाली, केपी शर्मा ओली, नरेश खरेल, धनेन्द्र वस्नेतलगायत आन्दोलनमा सहभागि थियौँ । झलनाथ खनाल पनि झापा आन्दोलनमा पक्राउ पर्नुभएको हो । तर, उहाँ चाँडै छुट्नुभयो । सुवास नेम्बाङ चाहिँ विद्यार्थी नेताका रुपमा आन्दोलनमा सहभागी हुनुभएको हो ।
त्यतिबेला पञ्चायती व्यवस्थाको चरम दमन थियो । जेलमा पनि अगुवा बन्दीहरुलाई अलग्गै राखेर शारीरिक यातना दिने गरिन्थ्यो । मैले धेरै पटक यातना सहेको छु । आन्दोलनका क्रममा घर छाडेर भूमिगत भएका हौँ । पूर्णकालीन पार्टीको कार्यकर्ता भएर सक्रियता जनाएको पनि हुँ । मलाई ०३० साल साउन २० गते झापाको गरामुनि भन्ने स्थानबाट पक्राउ गरेर चन्द्रगढी कारागार लगिएको थियो ।
पछि वीरगञ्ज जेलमा लगेपछि चाहिँ जेल व्रिदोह भएको थियो । त्यहाँ धेरै बन्दीहरुलाई कुटेर मारियो । दुई किसिमका बन्दीहरुको भएकाले दुई पक्षबिच झडप हुँदा धेरै मान्छेहरु मरेका थिए । सोही बेला जेल फोरेर भाग्ने काण्ड पनि मच्चियो । त्यहीबेला हामीलाई काठमाडौँ ल्याइएको थियो । मलाई सेन्ट्रल जेलमा राखियो तर पछि छुट्ने बेलामा तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठसँग वार्ता भयो । सोही बेला केपी ओली, राधाकृष्ण मैनालीसँग प्रधानमन्त्रीले वार्ता गर्नुभयो र छुट्नेक्रम सुरू भएको हो । सबैभन्दा पहिले ओलीजी छुट्नुभयो । त्यसपछि क्रमशः सबै छुटे र एक वर्षपछि झापा आन्दोलनका बन्दीहरुलाई आम माफी दिएर छुटाइयो ।
त्यसपछि ०४५ सालको चैतमा आन्दोलन सुरू भइहाल्यो । त्यसपछि ०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढल्यो । बहुदलीय व्यवस्था स्थापित भयो । यस्ता धेरै राजनीतिक आन्दोलनमा व्यक्तिहरु मरेका छन् ।
राजनीतिक आन्दोलनको विषय राजनीतिक रुपमै टुंग्याउनुपर्छ । तर, अहिले जेनजी आन्दोलनका क्रममा मारिएका भाइबहिनीहरुको सन्दर्भमा राजनीतिककर्मीहरुलाई तेजबोद् गर्ने, उनीहरुको छविलाई कलंकित गर्ने, विभिन्न ज्यान मुद्दाहरु लगाउने काम भइरहेको छ त्यो गलत हो । त्यो राजनीतिक प्रतिशोध हो र पूर्वाग्रही सोच हो । –नेपाल न्युज बैङ्क