
मङ्गलबारे, १० वैशाख । डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौँ इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै एनआरटी फाइनलमा पुगेको हो । त्यसअघि एनआरटीका लागि विज्ञान खड्का तथा रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए । आजको खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए । उनले आठ हजार एक रूपैयाँ नगद र ट्रफि प्राप्त गरे ।
विजेता टोली एनआरटीले यही वैशाख १२ गते शनिबार मच्छिन्द्र फटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ । विजेता टोलीले १० लाख रूपैयाँ र उपविजेताले पाँच लाख रूपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा आठ टोली सहभागी थिए ।