‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदै छ ?’

प्रकाश सिलवाल काठमाडौँ, २१ चैत । ‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडिओ कलमा चासोपूर्वक सोध्ने व्यक्ति उनका प्राचार्य वा शिक्षक होइनन् । गृष्माका नातेदार वा अभिभावक पनि होइनन् । त्यसरी स्नेहपूर्वक चिन्ता राख्ने सामाजिक अभियन्ता याङजोम शेर्पाले गृष्मालाई मात्र होइन अरु धेरै एसइई विद्यार्थीलाई उनीहरुको परीक्षा र भविष्यको बाटोबारे सोधिरहनुभएको छ । याङजोमलाई यसरी हरेक वर्ष एसइईका विद्यार्थीलाई चासो राखेर परीक्षा तयारी कक्षा तथा प्रोत्साहन जगाउन तिनै विद्यार्थी र अभिभावकले प्रेरणा दिएका हुन् । याङजोमले आफूले सानो हुँदा त्यो दुर्गम गाउँमा पढ्नका लागि खेप्नु परेको सङ्घर्ष र त्यसबाट अहिले राष्ट्रियस्तरमा चिनिएको व्यक्तित्व प्रेरणाको स्रोत हो । सानैमा आमा गुमाएकी याङजोमले अहिलेका नानीबाबुले आफूले जस्तो अभिभावकविहीन हुनु नपरोस् भन्ने कुराले पनि प्रेरणा पाएर उत्प्रेरणा दिन थाल्नुभएको हो । इमानदार भएर मेहनतका साथ निरन्तर कर्म गरेमा माथिल्लो तहमा पुग्न सकिन्छ भन्ने उदाहरण उहाँले विद्यार्थीमाझ पुर्‍याउनुभएको...

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदै छ ?’
प्रकाश सिलवाल

काठमाडौँ, २१ चैत । ‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडिओ कलमा चासोपूर्वक सोध्ने व्यक्ति उनका प्राचार्य वा शिक्षक होइनन् । गृष्माका नातेदार वा अभिभावक पनि होइनन् । त्यसरी स्नेहपूर्वक चिन्ता राख्ने सामाजिक अभियन्ता याङजोम शेर्पाले गृष्मालाई मात्र होइन अरु धेरै एसइई विद्यार्थीलाई उनीहरुको परीक्षा र भविष्यको बाटोबारे सोधिरहनुभएको छ ।

याङजोमलाई यसरी हरेक वर्ष एसइईका विद्यार्थीलाई चासो राखेर परीक्षा तयारी कक्षा तथा प्रोत्साहन जगाउन तिनै विद्यार्थी र अभिभावकले प्रेरणा दिएका हुन् । याङजोमले आफूले सानो हुँदा त्यो दुर्गम गाउँमा पढ्नका लागि खेप्नु परेको सङ्घर्ष र त्यसबाट अहिले राष्ट्रियस्तरमा चिनिएको व्यक्तित्व प्रेरणाको स्रोत हो । सानैमा आमा गुमाएकी याङजोमले अहिलेका नानीबाबुले आफूले जस्तो अभिभावकविहीन हुनु नपरोस् भन्ने कुराले पनि प्रेरणा पाएर उत्प्रेरणा दिन थाल्नुभएको हो । इमानदार भएर मेहनतका साथ निरन्तर कर्म गरेमा माथिल्लो तहमा पुग्न सकिन्छ भन्ने उदाहरण उहाँले विद्यार्थीमाझ पुर्‍याउनुभएको छ ।

याङजोमको घर ताप्लेजुङको दुर्गम तर सुन्दर गाउँ फत्ताङलुङको घुन्सामा हो, जहाँबाट जिल्ला सदरमुकाम फुङलिङ पुग्न त्यसबेला पैदलमा सात दिन लाग्थ्यो । पाँचौँ सन्तानका रुपमा पाउँदा उपचार अभावमा कठिन पीडा भोगेर याङजोमकी आमाको दुःखद् निधन भएको थियो ।

आमाको निधनपछि याङजोमले तेह्रथुमको आठराई सङ्क्रान्ति बजारस्थित फुपुको होटेलमा सघाउँदै विद्यालय शिक्षा पढ्नुभएको थियो । अहिले उहाँ विद्यालय तहका कैयौँ विद्यार्थीको शैक्षिक आमा बनेर विद्यालय–विद्यालय र भर्चुअल दुनियाँमा छाउनुभएको छ । सामाजिक सञ्जालमा याङजोमले विद्यार्थी भाइ बहिनीका लागि पढाइका कुराका साथै स्वास्थ्य, शिक्षा, अनुशासन र उत्प्रेरणामूलक खुराकहरु निरन्तर प्रवाह गरिरहनुभएको छ ।

केही वर्षअघि गृह जिल्लाबाट एक आमाले शेर्पालाई फोन गरेर आफ्नो स्नातक गरेका छोरालाई जागिर लगाइदिन आग्रह गरेकी थिइन् । याङजोमले ती विद्यार्थी र आमालाई सँगै लिएर चिनेको एक कम्पनीका प्रमुखको भेट गराउनुभयो । ती प्रमुखले विद्यार्थीलाई उनले पढेका विषयमा प्रश्नहरु सोधे तर चार वर्ष पढेर प्रमाणपत्र पाएका ती विद्यार्थीको व्यावहारिक ज्ञान कमजोर पाइयो ।

पढेर जागिर नपाउने त छन् नै, माध्यमिक तहसम्म पढ्नै नपाउने बालबालिका पनि धेरै छन् । प्रमाणपत्र भएर जागिर नपाउने अनि गरिबी र विविध कारणले राम्रो पढ्न नसकेका विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको देशव्यापी अभियान लिएर तीन वर्षदेखि याङजोम शेर्पा विद्यार्थी, शिक्षक र अभिभावकमाझ पुग्नुभएको छ । यस अभियानको टोलीमा ३५ विषय विज्ञ शिक्षक जोडिएका छन् ।

भिडिओ कलमा गृष्मा र उनकी आमा गीता अधिकारीले परीक्षा राम्रो हुँदै गएको तथा यसरी चासो राख्दा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिएपछि याङजोमलाई थप ऊर्जा मिलेको छ । “मेरो सम्पति भनेकै विद्यार्थी र अभिभावकको खुसी हो । उहाँहरुको सफलताले हाम्रो अभियानको सार्थकता दिएको छ ।” याङजोमले भन्नुभयो, “हामीले एसइईका विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा मात्रै चलाइनौँ, उत्प्रेरणा कक्षा पनि सञ्चालन गर्यौँ । यसको सकारात्मक प्रभाव परेको छ ।”

अघिल्ला वर्षमा उन्नती फाउण्डेसनले सुरू गरेको यो यात्रा अहिले घुन्सा फाउण्डेसनबाट एम्बिसन गुरूको प्राविधिक सहयोगमा सञ्चालित छ । विद्यालयमा भइरहेकाक कोचिङ कक्षाभन्दा यो अनलाइन कक्षा प्रभावकारी भएको विद्यार्थी, शिक्षक र अभिभावकले आफूहरुलाई प्रतिक्रिया दिएको याङजोमले बताउनुभयो ।

विसं २०८० मा ३० हजार विद्यार्थीबाट सुरु गरिएको निःशुल्क अनलाइन कक्षा २०८१ सालमा एक लाख ८१ हजार र २०८२ सालमा एक लाख ७२ हजार विद्यार्थी जोडिएका थिए । विषय विज्ञ र प्रविधिमा पोख्न शिक्षकले नेपाली र अङ्ग्रेजीमा माध्यममा निरन्तर अनलाइन कक्षा दिनुले विद्यार्थीका लागि यो ‘ब्रम्हास्त्र’ सावित हुने ठानिएको छ । गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा ४८ प्रतिशत मात्रै विद्यार्थी सफल भइरहेको समस्यालाई सुधार्न दूरसञ्चार सेवा प्रदायक कम्पनीको सहयोगमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायलाई आव्हान गर्नुभएको थियो ।

सरकारी निकायले दिएका अनलाइन कक्षाहरुको प्रभाव आमरुपमा पर्न नसकेका बेला सामुदायिकस्तरमा घुन्सा फाउण्डेशनले आफूलाई यस कार्यमा अग्रमोर्चामा प्रस्तुत गरेको छ । गतवर्ष अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशतले परीक्षाफलमा सुधार आएको थियो ।

नेपाल ट्रष्टका सञ्चालक समिति सदस्य रहनुभएका याङजोमले यसवर्ष ३४ जिल्लामा ‘मोटिभेसनल क्लास’ दिँदा शैक्षिक सुधारका लागि थप अनुभव र ज्ञान मिलेको बताउनुभयो । यस्ता उप्रेरणामूलक कक्षामा आनी छोइङ डोल्मा जस्ता व्यक्तित्वलाई पनि प्रस्तुत गर्ने गरिएको छ ।

“विद्यार्थीलाई कक्षा कोठाको पर्खालभित्रको पढाइमा मात्रै सीमित राख्नुहुँदैन । वर्षभरि मेहिनत गरेर पढेको र बुझेका कुरा परीक्षामा तोकिएको समयभित्र निर्भयताका साथ प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रा अनलाइन कक्षा र भौतिकरुपमा गरिएकाका मोटिभेसन क्लासले विद्यार्थीमा त्यस प्रकारको मनोबल दिएको छ ।”

अभियन्ता याङजोम कुनै विद्यालयको कक्षामा पुगेर विद्यार्थीलाई सुरूमै भन्ने गर्नुहुन्छ, “नानीबाबहरु, तिमीहरुको आमा बुबा हुनुहुन्छ होला । हुनेहरु भाग्यमानी हुनुहुन्छ । हुने र नहुनेहरुका लागि म अर्की आमा हो । म तिमीहरुको शिक्षा र भविष्यलाई गोरेटोमा लैजान टेवा दिने एउटी आमा सम्झिए पनि हुन्छ । तिमीहरुको उज्ज्वल भविष्यका लागि हामी एउटा साहारा बन्न सक्छौँ, मेहिनत गर्ने त तिमीहरुले नै हो ।’’

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले यही चैत १९ गतेदेखि २९ गते देशभर एकै पटक विगतमा झैँ यो परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षाका लागि यस वर्ष पाँच लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *