कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी [भिडिओ]

सनतोषी रावल काठमाडौँ, २१ चैत । नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको संवादमा उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत् पहुँच विस्तार भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “०५६ सालमा म सांसद हुँदा २७ वटा गाविसमध्ये कतैपनि मोटर पुगेको थिएन । तर, अहिले ६ वटाबाहेक सबै वडामा गाडी पुगेको छ । विगतमा टेलिफोन र बिजुलीसमेत नपुगेका गाउँहरूमा अहिले टावर र विद्युत् सेवा विस्तार भइसकेको छ, जसले आधारभूत जीवनस्तरमा सुधार ल्याएको छ ।” तर, भौतिक विकाससँगै आर्थिक विकास हुन नसकेको उहाँले बताउनुभयो। “मानिसको आयआर्जनको अवस्था अझै कमजोर छ, युवाहरू अहिले पनि भारत गएर मौसमी काम गर्न बाध्य छन्,” उहाँले भन्नुभयो । जिल्लामा उद्योग, व्यवसायिक खेती तथा रोजगारी सिर्जना गर्ने क्षेत्रको अभाव प्रमुख समस्या रहेको उहाँको भनाइ छ । गिरीले बाजुरामा जडिबुटी,...

कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी [भिडिओ]
सनतोषी रावल

काठमाडौँ, २१ चैत । नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताउनुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको संवादमा उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत् पहुँच विस्तार भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “०५६ सालमा म सांसद हुँदा २७ वटा गाविसमध्ये कतैपनि मोटर पुगेको थिएन । तर, अहिले ६ वटाबाहेक सबै वडामा गाडी पुगेको छ । विगतमा टेलिफोन र बिजुलीसमेत नपुगेका गाउँहरूमा अहिले टावर र विद्युत् सेवा विस्तार भइसकेको छ, जसले आधारभूत जीवनस्तरमा सुधार ल्याएको छ ।”

तर, भौतिक विकाससँगै आर्थिक विकास हुन नसकेको उहाँले बताउनुभयो। “मानिसको आयआर्जनको अवस्था अझै कमजोर छ, युवाहरू अहिले पनि भारत गएर मौसमी काम गर्न बाध्य छन्,” उहाँले भन्नुभयो । जिल्लामा उद्योग, व्यवसायिक खेती तथा रोजगारी सिर्जना गर्ने क्षेत्रको अभाव प्रमुख समस्या रहेको उहाँको भनाइ छ ।

गिरीले बाजुरामा जडिबुटी, खानी र पर्यटनको ठुलो सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रलाई उपयोग गर्न सके रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । “गौमुल र हिमाली क्षेत्रमा जडिबुटी प्रशस्त छन्, खानीहरू पनि छन्, ती क्षेत्रमा लगानी भित्र्याएर उद्योग सञ्चालन गर्न सकियो भने स्थानीयले रोजगारी पाउँछन्,” उहाँले भन्नुभयो ।

उहाँले बुढीनन्दा ताललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “जिपिएस मापनअनुसार बुढीनन्दा ताल तिलिचोभन्दा अग्लो देखिएको छ । यसलाई अन्तर्राष्ट्रिय सूचीमा राख्न सके पर्यटनमा ठुलो टेवा पुग्छ । साथै खप्तड, बडिमालिका जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासले पनि आर्थिक गतिविधि बढ्ने छ ।”

देशको समग्र अर्थतन्त्र कमजोर हुँदा अपेक्षित बजेट विनियोजन गर्न कठिनाइ भएको पनि गिरीले बताउनुभयो । “राजस्व संकलन लक्ष्यअनुसार भइरहेको छैन, बजेट अभावले जिल्लाका सम्भावनाहरू कार्यान्वयनमा लैजान गाह्रो भइरहेको छ,” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले सेती लोकमार्ग, कर्णाली राजमार्ग स्तरोन्नती तथा मुगु कर्णाली जलविद्युत् आयोजना जस्ता ठुला परियोजनालाई ‘गेम चेन्जर’ का रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “यी परियोजनाले दीर्घकालीन रूपमा रोजगारी र आर्थिक गतिविधि बढाउँछन्,” उहाँले भन्नुभयो ।

उहाँले बाजुराको विकासका लागि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । “संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरेर इमानदार प्रयास गरे बाजुराको विकास सम्भव छ,” उहाँले भन्नुभयो, “जनताले दिएको विश्वास कहिल्यै टुट्न दिने छैन । जनताले दिएको भरोसा टुट्न दिने छैन, इमानदार प्रयास जारी राख्छु ।” –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *