‘आधुनिकताका नाममा परम्परागत संस्कृति बिर्सनु हुँदैन’

सबिता नयाँजू आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ हराउँदै गएको हो ? सूचना–प्रविधिको विस्तार, विश्वव्यापीकरण, बसाइँसराइ, सहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले समाजको स्वरूप बदलिँदै जाँदा हाम्रो सांस्कृतिक पहिचान कति सुरक्षित छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ । विशेषगरी युवापुस्ता, जो परिवर्तनका संवाहक मानिन्छन्, उनीहरू परम्परागत मूल्य, भाषा, रीतिरिवाज र संस्कारबाट टाढिँदै गएका त होइनन् भन्ने बहस अहिले समाजका विभिन्न तहमा भइरहेको छ । संस्कृति भनेको केवल चाडपर्व मनाउने परम्परा मात्र होइन, यसले भाषा, भेषभूषा, कला, संगीत, नृत्य, जीवनशैली, सामाजिक सम्बन्ध, धार्मिक आस्था र सामुदायिक अभ्यासहरूलाई समेट्छ । नेपाल जस्तो बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देशमा संस्कृति नै पहिचानको मूल आधार हो तर पछिल्लो समय विशेषगरी सहर केन्द्रित युवापुस्तामा परम्परागत अभ्यासप्रति चासो घट्दै गएको देखिन्छ । धेरै युवा आफ्नो मातृभाषाभन्दा नेपाली वा अङ्ग्रेजी भाषामा सहज महसुस गर्छन् । कतिपय समुदायमा नयाँ पुस्ताले मातृभाषा बोल्न नजान्ने अवस्था समेत सिर्जना भएको...

‘आधुनिकताका नाममा परम्परागत संस्कृति बिर्सनु हुँदैन’
सबिता नयाँजू

आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ हराउँदै गएको हो ?

सूचना–प्रविधिको विस्तार, विश्वव्यापीकरण, बसाइँसराइ, सहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले समाजको स्वरूप बदलिँदै जाँदा हाम्रो सांस्कृतिक पहिचान कति सुरक्षित छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ । विशेषगरी युवापुस्ता, जो परिवर्तनका संवाहक मानिन्छन्, उनीहरू परम्परागत मूल्य, भाषा, रीतिरिवाज र संस्कारबाट टाढिँदै गएका त होइनन् भन्ने बहस अहिले समाजका विभिन्न तहमा भइरहेको छ ।

संस्कृति भनेको केवल चाडपर्व मनाउने परम्परा मात्र होइन, यसले भाषा, भेषभूषा, कला, संगीत, नृत्य, जीवनशैली, सामाजिक सम्बन्ध, धार्मिक आस्था र सामुदायिक अभ्यासहरूलाई समेट्छ । नेपाल जस्तो बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देशमा संस्कृति नै पहिचानको मूल आधार हो तर पछिल्लो समय विशेषगरी सहर केन्द्रित युवापुस्तामा परम्परागत अभ्यासप्रति चासो घट्दै गएको देखिन्छ । धेरै युवा आफ्नो मातृभाषाभन्दा नेपाली वा अङ्ग्रेजी भाषामा सहज महसुस गर्छन् । कतिपय समुदायमा नयाँ पुस्ताले मातृभाषा बोल्न नजान्ने अवस्था समेत सिर्जना भएको छ । भाषा हराउनु भनेको केवल शब्द हराउनु होइन, त्यससँगै इतिहास, लोककथा, मौखिक परम्परा र सामुदायिक स्मृति पनि हराउनु हो ।

त्यस्तै, चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएको छ । पहिले धार्मिक र सांस्कृतिक अर्थका साथ मनाइने पर्वहरू अहिले धेरैका लागि औपचारिकता वा सामाजिक भेटघाटको माध्यम मात्र बन्न थालेका छन् । दसैँ, तिहार, इन्द्रजात्रा, गाईजात्रा, ल्होसार, उधौली–उभौली जस्ता पर्वहरूको गहिरो सांस्कृतिक सन्देशभन्दा पनि रमाइलो, घुमफिर र सामाजिक सञ्जालमा तस्बिर हाल्ने प्रवृत्ति बढी देखिन्छ ।

यसले पर्वको आत्मा कमजोर भएको जस्तो अनुभूति गराउँछ । परम्परागत भेषभूषा पनि विशेष अवसरमा मात्र सीमित हुँदै गएको छ । दैनिक जीवनमा आधुनिक वा पाश्चात्य पहिरनको प्रभाव स्पष्ट देखिन्छ । तर, शिक्षा र रोजगारीको खोजीमा हुने बसाइँसराइले पनि संस्कृतिमा असर पारेको जस्तो देखिन्छ । गाउँबाट सहर, र देशबाट विदेश जाने युवाहरू नयाँ परिवेशमा घुलमिल हुँदै जाँदा आफ्नो सांस्कृतिक अभ्यासमा परिवर्तन ल्याउँछन् । विदेशी संस्कृतिको प्रभाव, जीवनशैली र मूल्य–मान्यताले उनीहरूको सोचाई परिवर्तन गरेको हुन्छ । यो परिवर्तन स्वाभाविक भए पनि यदि आफ्नै जरा बिर्सिने अवस्था आयो भने सांस्कृतिक निरन्तरतामा समस्या देखापर्न सक्छ । विशेषगरी परम्परागत सीप र कलामा युवापुस्ताको आकर्षण घट्नु चिन्ताको विषय बनेको छ । माटोका भाँडा बनाउने कुमाल, काठ कुँद्ने शिल्पी, धातुकला, ढाकाटोपी बुन्ने कारीगर जस्ता परम्परागत पेशाहरूमा नयाँ पुस्ताको संलग्नता न्यून हुँदै गएको छ । यसले दीर्घकालमा यी सीपहरू लोप हुने जोखिम बढाएको छ ।

यो एउटा पाटो भयो भने फेरि अर्को पाटोमा यस्तो युवा समूह पनि छ जसले संस्कृति र परम्परा जोगाउन लागि परेका छन् । उनीहरु पुर्खाले दिएको सम्पत्ती भावी पुस्तासम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्ने गरेको पाइन्छ ।

परिवर्तनलाई सधैँ नकारात्मक रूपमा मात्र हेर्न मिल्दैन । संस्कृति स्थिर वस्तु होइन, यो समयसँगै परिवर्तनशील हुन्छ । आजका युवाहरूले परम्परालाई नयाँ ढङ्गले प्रस्तुत गर्ने प्रयास पनि गरिरहेका छन् । लोकदोहोरी र देउडा जस्ता परम्परागत संगीत आधुनिक वाद्यवादनसँग मिसिएर नयाँ स्वादमा प्रस्तुत भइरहेका छन् । सामाजिक सञ्जालमार्फत युवाहरूले आफ्नो समुदायको संस्कृति प्रचार–प्रसार गरिरहेका छन् । विभिन्न सांस्कृतिक महोत्सव, कला प्रदर्शनी र नाटकहरूमा युवापुस्ताको सक्रिय सहभागिता पनि देखिन्छ ।

कतिपय युवा आफ्नो मातृभाषा संरक्षणका लागि कक्षा सञ्चालन गरिरहेका छन्, डिजिटल माध्यमबाट लोककथा र गीतहरू अभिलेखीकरण गरिरहेका छन् । यसबाट संस्कृति पूर्ण रूपमा हराउँदै गएको होइन, बरु नयाँ स्वरूपमा रुपान्तरण हुँदै गएको हो कि जस्तो पनि देखिएको छ ।

यद्यपि, यदि परिवार र समाजले संस्कार हस्तान्तरण गर्ने जिम्मेवारी बेवास्ता गरे भने सांस्कृतिक दुरी बढ्न सक्छ । संस्कृतिको संरक्षण केवल सरकारी नीतिले मात्र सम्भव हुँदैन, यसको मूल आधार परिवार र समुदाय हो । बालबालिकालाई सानैदेखि आफ्ना परम्परा, भाषा र इतिहासबारे जानकारी गराउनु आवश्यक हुन्छ । विद्यालय पाठ्यक्रममा स्थानीय इतिहास र संस्कृतिलाई समेट्ने प्रयास हुनुपर्छ । सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तह र राज्यको भूमिका पनि महत्वपूर्ण हुन्छ । पुरातात्त्विक स्थल, गुठी प्रणाली, जात्रा–पर्व र परम्परागत कलाको संरक्षणमा स्पष्ट नीतिगत समर्थन आवश्यक छ ।

विश्वव्यापीकरणले विश्वलाई नजिक ल्याएको छ, तर यसले सांस्कृतिक एकरूपताको खतरा पनि बढाएको छ । यदि सबैले एउटै भाषा, एउटै पहिरन, एउटै सङ्गीत र एउटै जीवनशैली अपनाउन थालेभने स्थानीय विशेषता हराउन सक्छ । विविधता नै संस्कृतिको सौन्दर्य हो । नेपालजस्तो देशमा त झन् विविध संस्कृति नै राष्ट्रिय पहिचानको आधार हो । त्यसैले युवापुस्ताले आधुनिकता अँगाल्दै गर्दा आफ्ना जरा र पहिचानलाई पनि सम्मान गर्न जरुरी छ ।

परम्परागत संस्कृति पूर्ण रूपमा हराउँदै गएको भन्नुभन्दा पनि यसमा भएको नराम्रो परम्परालाई हटाउँदै, परिवर्त गर्दै, परिष्कृत गर्दै अगाडि बढ्न आवश्यक छ । संस्कृति जोगाउनु भनेको विगतलाई जस्ताको त्यस्तै थामेर बस्नु होइन, त्यसलाई वर्तमान सन्दर्भमा सान्दर्भिक बनाउँदै अगाडि बढाउनु हो ।

यदि युवापुस्ताले आफ्नो पहिचानप्रति गर्व गर्ने वातावरण निर्माण भयो, परम्परागत ज्ञान र सीपलाई सम्मान र अवसर प्राप्त भयो, आधुनिकता र परम्पराको सन्तुलन कायम गरियो भने संस्कृति केवल स्मृतिमा सीमित हुने हुँदैन, त्यो भविष्यका पुस्तासम्म जीवित र सशक्त रूपमा हस्तान्तरण हुनेछ । –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *