चितवन–१ का उम्मेदवारका अजेन्डामा सुशासन, विकास र रोजगारी

सनद अधिकारी चितवन, २३ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू आ–आफ्ना अजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । यसैबिच चितवन क्षेत्र नम्बर १ मा सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, रोजगारी, कृषि, पर्यटन र नीति निर्माणका विषयलाई केन्द्रमा राख्दै उम्मेदवारहरूले मतदातासमक्ष आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । उम्मेदवारहरूले क्षेत्रको कृषि, पर्यटन, भुलोल तथा युवा नेतृत्व कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्दै योजना र कार्यक्रम अघि सारेका छन् । यसले मतदातामा आफ्नो विश्वसनीयता र जनसमर्थन कायम गर्ने प्रयास स्पष्ट भएको देखिन्छ । नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो अजेन्डा स्पष्ट रहेको बताउँदै सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शासन प्रणाली, नियम–कानुन, विधि र संविधानअनुसार देश सञ्चालन हुनुपर्ने धारणाको आफूले पूर्ण समर्थन गर्ने उहाँले उल्लेख गर्नुभयो । लोकतन्त्रको रक्षा र दिगो शान्तिका लागि नेपाली काङ्ग्रेसले जित्नुपर्ने अवस्था रहेको र लोकतन्त्र बचाउन जनताले काङ्ग्रेसलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हाल बदलिएको काङ्ग्रेसले देश परिवर्तन...

चितवन–१ का उम्मेदवारका अजेन्डामा सुशासन, विकास र रोजगारी
सनद अधिकारी

चितवन, २३ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू आ–आफ्ना अजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । यसैबिच चितवन क्षेत्र नम्बर १ मा सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, रोजगारी, कृषि, पर्यटन र नीति निर्माणका विषयलाई केन्द्रमा राख्दै उम्मेदवारहरूले मतदातासमक्ष आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । उम्मेदवारहरूले क्षेत्रको कृषि, पर्यटन, भुलोल तथा युवा नेतृत्व कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्दै योजना र कार्यक्रम अघि सारेका छन् । यसले मतदातामा आफ्नो विश्वसनीयता र जनसमर्थन कायम गर्ने प्रयास स्पष्ट भएको देखिन्छ ।

नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो अजेन्डा स्पष्ट रहेको बताउँदै सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शासन प्रणाली, नियम–कानुन, विधि र संविधानअनुसार देश सञ्चालन हुनुपर्ने धारणाको आफूले पूर्ण समर्थन गर्ने उहाँले उल्लेख गर्नुभयो । लोकतन्त्रको रक्षा र दिगो शान्तिका लागि नेपाली काङ्ग्रेसले जित्नुपर्ने अवस्था रहेको र लोकतन्त्र बचाउन जनताले काङ्ग्रेसलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हाल बदलिएको काङ्ग्रेसले देश परिवर्तन गर्ने दृष्टिकोणसहितको काङ्ग्रेसको नेतृत्व सभापति गगन कुमार थापाले गरेको उल्लेख गर्दै, नयाँ सोच र नयाँ तरिकाले काङ्ग्रेस अघि बढेकाले जनतामा पार्टीप्रति भरोसा बढेको बताउनुभयो । सोही अनुसार चितवन क्षेत्र नम्बर १ मा पनि आफू नयाँ ढंगबाट अघि बढेको उहाँले उल्लेख गर्नुभयो । आफू पहिलेदेखि नै यस क्षेत्रमा भिज्दै आएको उल्लेख गर्दै उहाँले किसान, मजदुर तथा बौद्धिक वर्गसँग नम्र भावले बसेर सहकार्य गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म पहिलेदेखि किसान, मजदुर, बुद्धिजीवि साथीहरू, शिक्षक–प्राध्यापक सबैसँग नम्र भावले बसिरहेको मान्छे हुँ ।” सामाजिक कामका लागि स्वास्थ्य, शिक्षामा आफूले आर्थिक क्षेत्रमा सहयोग गरेको, भूमिदान गरेको, पुल र बाटो निर्माणमा योगदान दिएको तथा मठ–मन्दिरदेखि धार्मिक र सामाजिक कार्यसम्म सक्रिय सहभागिता रहँदै आएको उहाँले जानकारी दिनुभयो । सबैका साथी बनेर अघि बढ्दा सबैको साथ र सहयोग प्राप्त भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा विभिन्न पार्टीका उम्मेदवारहरू भए पनि आफू जति यस क्षेत्रमा भिजेको सायद अरू कोही नभएको विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार कृष्णराज पन्तले नवयुवाहरूको आन्दोलन सुशासन र रोजगारी खोजीका लागि भएको बताउनुभयो । सुशासन र रोजगारीका लागि सही नीति निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको प्रश्न आज सशक्त रूपमा उठेको उहाँको भनाइ छ । आफू एक अर्थविद् तथा शैक्षिक व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले वर्तमान परिस्थितिमा आवश्यक योग्यता, दक्षता र क्षमता आफूमा रहेको दाबी गर्नुभयो । ४५ वर्ष लामो राजनीतिक तथा सामाजिक यात्राकै कारण चुनाव लड्ने ठोस आधार बनेको उहाँले बताउनुभयो । आजका युवाहरूको भनाइ स्पष्ट रूपमा जान्नेलाई छान्ने रहेको उल्लेख गर्दै अनुभव, योग्यता र वर्तमान राजनीतिक मुभमेन्टका आधारमा आफू यस क्षेत्रका लागि आवश्यक उम्मेदवार भएको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मसँग अनुभव पनि छ, योग्यता पनि छ, र अहिलेको जुन मुभमेन्टले खोजेको तथा यो क्षेत्रका जनताले खोजेको उम्मेदवार म नै हुँ भन्ने मलाई लाग्छ ।” स्थानीय विकास निर्माणका सन्दर्भमा आफूलाई पर्याप्त अनुभव रहेको बताउँदै उहाँले पूर्वी चितवनका बस्ती संरक्षण, सिँचाइका लागि कुलो–नाला, पूर्वी राप्ती सिँचाइ योजना, तटबन्धनलगायतका धेरै काम अझै बाँकी रहेको र त्यसका लागि स्पष्ट खाका आफूले तयार गरेको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जलाई वरदानको रूपमा उल्लेख गर्दै मानव र वन्यजन्तुबीचको सन्तुलन कायम गर्दै सौराहालगायतका क्षेत्रको दिगो विकास गर्नुपर्ने उहाँको धारणा छ । सौराहालाई थप विकसित बनाउने तथा सौराहादेखि परेवाकोटसम्मका समथर र पहाडी भू–भागलाई एकीकृत रूपमा विकास गर्ने योजना अघि सार्ने क्षमता आफूमा रहेको उहाँले बताउनुभयो । नीति निर्माणको तहमा अस्पतालहरूको गुणस्तरीय सेवा विस्तार, विद्यालयको पूर्वाधारसहित गुणस्तरीय शिक्षा र समग्र सामाजिक विकासका लागि बाहिर विज्ञ खोजिरहनु नपर्ने भन्दै आफू स्वयम् यस क्षेत्रको विज्ञ भएको दाबी गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार दावा दोर्जे लामाले चुनावी अभियानमा नेकपा (एमाले) का नीति, विचार र कार्यक्रम सही रहेको बताउनुभयो । संगठनात्मक रूपमा एमाले मजबुत रहेको उल्लेख गर्दै सबै नगरपालिकाका ४२ वटै वडामा वडा कमिटी सक्रिय र टोल कमिटीहरू समेत संगठनात्मक हिसाबले बलिया रहेको जानकारी दिनुभयो । यस क्षेत्रमा एमालेको ऐतिहासिक भूमिका रहेको र विकास निर्माणका स्पष्ट उदाहरणहरू देख्न सकिने उहाँको भनाइ छ । एमालेको कार्यकालमा पूर्वी चितवनमा लाथरदेखि सौराहासम्म वाल निर्माण, सडक, पुल, सिँचाइ तथा भौतिक पूर्वाधारका उल्लेखनीय काम सम्पन्न भएको उहाँले बताउनुभयो । जनतालाई समस्या पर्दा नेकपा एमाले सधैँ जनताको साथमा उभिने र समस्या समाधानतर्फ सक्रिय रूपमा लाग्ने भएकाले पार्टीको जित सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “आम जनतामा ‘दावा दाइ राम्रो र इमानदार मान्छे हो, उहाँलाई नै भोट दिनुपर्छ, जहाँ गए पनि तपाईँलाई नै भोट, तपाईँलाई जिताउने’ भन्ने माहोल छ । मिडियामा अरूको बाढी होला, तर जनतामा मेरो बाढी आएको छ ।” बहुदलीय प्रतिस्पर्धामा एमाले पहिलो र अन्य दलहरू पछि–पछि हुने अवस्था रहेको भन्दै अरुले मिडियामा हल्ला देखिए पनि जनतामा आफ्नो आधार बलियो रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले आफू यसै क्षेत्रबाट पहिल्यै निर्वाचित भइसकेको व्यक्ति भएको बताउनुभयो । बिचको समयमा जेनजी आन्दोलनको अवस्था र पार्टी विस्तारका लागि सक्रिय रूपमा खटिएको र अहिले मतदाताको घर–घरमा पुगेर भेटघाट गरिरहेको उहाँले जानकारी दिनुभयो । मतदाताबाट सुझाव सङ्कलन भइरहेको र औपचारिक घरदैलो कार्यक्रम आगामी ४ गतेदेखि सुरू हुने उहाँले बताउनुभयो । यस क्षेत्रका लागि आफ्नो मुख्य एजेन्डा कृषि रहेको उल्लेख गर्दै किसानका समस्या समाधानलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ । त्यससँगै पर्यटन प्रवद्र्धनमार्फत चितवनलाई आर्थिक समृद्धितर्फ लैजाने योजना रहेको बताउनुभयो । आइटी क्षेत्रका बाधक कानुन हटाएर आइटीमैत्री कानुन निर्माण गर्ने, युवाहरूका लागि आईटी विकास र रोजगारी सिर्जनामा विशेष जोड दिने उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, “आइटी सेक्टरबाट गत वर्ष हाम्रा युवाहरूले ५४–५५ अर्ब रुपैयाँ कमाएर देशमा भित्राएका छन् । त्यस क्षेत्रका लागि आवश्यक कानुन बनाउन र बाधक बनेका कानुन फुकाउन घनिभूत बहस आवश्यक छ ।” स्थानीय तहलाई थप जिम्मेवारी र अधिकार दिने, अधुरा योजना सम्पन्न गर्ने, राप्ती ड्यामलगायत ठुला परियोजनामा पहल गर्ने तथा बजेट वितरण आवश्यकताका आधारमा गर्ने स्पष्ट नीति उहाँले अघि सार्नुभयो । चुनावी क्षेत्रमै सांसदको कार्यालय खोलेर अघिल्लो कार्यकालमा पनि यस क्षेत्रमा काम गरेको स्मरण गराउँदै आफूले मौरी पालक किसान र दुग्ध किसानका समस्या समाधानतर्फ काम अघि बढाएको बताउनुभयो । यो चुनाव हार्दिक र स्वच्छ प्रतिस्पर्धाको चुनाव भएको भन्दै हार्दिकताका साथ चुनाव लड्दा नै लोकतन्त्र सुन्दर बन्ने उहाँको धारणा छ ।

यसैगरी यस क्षेत्रबाट जम्मा १८ जना उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये जनता समाजवादी पार्टी नेपालबाट अजय ठाकुर हजाम, श्रम संस्कृति पार्टीबाट अनिल तामाङ, नेपाल मजदुर किसान पार्टीबाट अर्जुन प्रजा, नेसनल रिपब्लिक नेपालबाट इश्वरी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट गणेशबहादुर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट दुर्गादत्त अर्याल, उज्यालो नेपाल पार्टीबाट धनबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम शर्मा खनाल, राष्ट्रिय जनमोर्चाबाट सीतादेवी क्षेत्री उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा सञ्जय रिजाल, सौरव कँडेल र हरि प्रसाद रेग्मी समेत चुनावी मैदानमा हुनुहुन्छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *