मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

डम्मर बुढामगर बागलुङ, १३ पुस । एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन । गाउँमा कोही बिरामी परे उपचारका लागि झाँक्रीकहाँ लैजाने चलन थियो । अहिले धेरै ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा प्रदान गर्न थालेका छन् । जसका कारण बिरामी झाँक्रीकहाँभन्दा अस्पतालमै जान थालेका छन् । बिरामी अस्पतालमा गए पनि झाँक्रीहरुलाई कामको खाँचो छैन । हिजोआज जिल्लामा लाग्ने मेला महोत्सवमा उनीलाई झाँक्री नाच प्रदर्शन गर्न भ्याइनभ्याइ छ । झाँक्री नाचले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेको छ । धेरैको रोजाइमा पर्न थालेपछि हरेक मेला महोत्सवमा झाँक्री नाच प्रदर्शन गराउन थालिएको हो । बागलुङमा सुरु भएको आठौँ बागलुङ महोत्सवमा पनि ढोरपाटनको झाँक्री नाच आकर्षणको केन्द्र बनेको छ । करिब १२० किलोमिटर पश्चिमबाट आएका झाँक्रीले बागलुङ बजारमा नाच प्रदर्शन गर्दा हेर्नेको भीड नै लागेको थियो । शरीरमा पहिरिएको विभिन्नथरिका पहिरनले धेरैलाई आकर्षित गर्ने गरेको छ । झाँक्रीले थरिथरिका वन्यजन्तुका छाला, चराचुरुङ्गीका प्वाँखलगायत पुराना मौलिकता बोकेका वस्तुहरु शरीरमा...

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
डम्मर बुढामगर

बागलुङ, १३ पुस । एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन । गाउँमा कोही बिरामी परे उपचारका लागि झाँक्रीकहाँ लैजाने चलन थियो ।

अहिले धेरै ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा प्रदान गर्न थालेका छन् । जसका कारण बिरामी झाँक्रीकहाँभन्दा अस्पतालमै जान थालेका छन् । बिरामी अस्पतालमा गए पनि झाँक्रीहरुलाई कामको खाँचो छैन । हिजोआज जिल्लामा लाग्ने मेला महोत्सवमा उनीलाई झाँक्री नाच प्रदर्शन गर्न भ्याइनभ्याइ छ ।

झाँक्री नाचले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेको छ । धेरैको रोजाइमा पर्न थालेपछि हरेक मेला महोत्सवमा झाँक्री नाच प्रदर्शन गराउन थालिएको हो ।

बागलुङमा सुरु भएको आठौँ बागलुङ महोत्सवमा पनि ढोरपाटनको झाँक्री नाच आकर्षणको केन्द्र बनेको छ । करिब १२० किलोमिटर पश्चिमबाट आएका झाँक्रीले बागलुङ बजारमा नाच प्रदर्शन गर्दा हेर्नेको भीड नै लागेको थियो । शरीरमा पहिरिएको विभिन्नथरिका पहिरनले धेरैलाई आकर्षित गर्ने गरेको छ ।

झाँक्रीले थरिथरिका वन्यजन्तुका छाला, चराचुरुङ्गीका प्वाँखलगायत पुराना मौलिकता बोकेका वस्तुहरु शरीरमा भिरेर काम्दा धेरैलाई आश्चर्य लाग्छ । झाँक्री नाच खासगरी जिल्लाको ढोरपाटन क्षेत्रमा बढी प्रचलित छ । जनजाति तथा दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाचले यसरी चर्चा पाउला भन्ने स्वयम् झाँक्रीहरुलाई नै लागेको थिएन । पछिल्लो समय मेला महोत्सवमा नाच्न बोलाउने गरेको ढोरपाटन नगरपालिका–६ का बलबहादुर विकले बताउनुभयो ।

आफ्नो चारपुस्ता झाँक्री पेसा रहेको उहाँको भनाइ छ । विकले आफ्नो जिजुबाजे, बुबा र आफू झाँक्री बनेको उहाँले बताउनुभयो । आफ्नो बुबाका पालासम्म मेला महोत्सवमा नाच्ने चलन नभएको भन्दै पछिल्लो सात वर्षदेखि झाँक्री नाचको चर्चा हुन थालेको विकले सुनाउनुभयो । आफू चार दशकदेखि झाँक्री काम गर्दै आएको भन्दै पहिले बिरामीलाई झारफुक मात्रै गर्ने गरेको उहाँले बताउनुभयो ।

विकले भन्नुभयो, “झाँक्री नाचको अहिले धेरैतिर चर्चा हुन थालेको छ, पहिले कोही बिरामी प¥यो भने उसैको घरमा गएर झारफुक गर्ने, झाँक्री बस्ने गरिन्थ्यो, तर अहिले त मेलातिर पनि गएर नाच्न थालेका छौँ, यसले हाम्रो पुरानो कला, संस्कृतिको प्रचारप्रसार भएको छ, जो पायो त्यही झाँक्री हुन सक्दैन, झाँक्री भन्ने सामान्य कुरा होइन, झाँक्री हुनलाई त दैविक शक्ति आउनुपर्छ ।”

धामीझाँक्री गरेको आम्दानीबाट धेरैले जीविकोपार्जन गर्ने गर्थे । बिरामी अस्पतालमा जान थालेपछि झाँक्री पेसा पनि सङ्कटमा पर्ने जोखिम बढेको छ । अहिले पनि मानिस बिरामी हुँदा झाँक्रीकहाँ नआउने होइन तर त्यो पहिलेको तुलनामा धेरै कम भएको छ । बिरामी कम भए पनि मेला महोत्सव नाच्दा जाँदा पारिश्रमिक पाइने झाँक्री बोमबहादुर विकले बताउनुभयो । बिरामीलाई सामान्य रोग लागेमा झारफुक गर्ने र अस्पतालमै जान सुझाव दिने गरेको उहाँको भनाइ छ ।

विकले लोपोन्मुख बन्दै गएको झाँक्री नाचलाई जोगाउन र आम्दानीसमेत गर्ने उद्देश्यले यहाँका विभिन्न चाडपर्व, मेला–महोत्सव तथा पर्यटकको स्वागतमा प्रदर्शन गर्ने गरेको बताउनुभयो । पुर्खाले प्रयोग गरेको घण्टा, गरगहना, पशुपक्षीका छाला ओढेर डम्फु बजाउँदै नाच्ने उहाँको भनाइ छ । झाँक्रीले आयुर्वेदिक उपचारसमेत गर्ने विकले सुनाउनुभयो । बान्ता हुने, शरीरमा घाउखटिरा आउने, डुलुवा लाग्नेलगायत बिरामीलाई तन्त्रमन्त्रले निको पार्ने उहाँले दाबी गर्नुभयो ।

“हामीहरुले बिरामीलाई अस्पताल नजाउ भन्दैनौँ, जडीबुटीको केही ज्ञान हुनेहुँदा वनबाट लिएको ओखती दिएर बिरामीलाई सञ्चो बनाउने गर्छौँ, ठुलोठुलो रोग लागेको बिरामीलाई अस्पतालमै जान भन्छौँ”, विकले भन्नुभयो, “पहिलेपहिले बिरामी धेरै आउँथे, अचेल कम भएका छन्, तर झाँक्री बस्नका लागि अहिले पनि बोलाउँछन्, मेला महोत्सवमा जाँदा आम्दानी पनि राम्रै हुने गरेको छ ।”

झाँक्री नाच ढोरपाटनसहित निसीखोला, तमानखोललगायत स्थानमा प्रचलित छ । सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन थालेपछि झाँक्री नाच प्रदर्शनका लागि धेरै ठाउँबाट माग आउने गरेको छ । यो नाचलाई संरक्षणका लागि ढोरपाटन नगरपालिका प्रचारप्रसारमा जोड दिएको उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । पालिकाले झाँक्रीको पोसाक तथा अन्य व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएको उहाँको भनाइ छ । पहिले बिरामीलाई सान्त्वना दिने झाँक्री अहिले पर्यटक आकर्षण गर्ने माध्यम बनेको उपप्रमुख कायत बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हामीहरु गाउँमा जन्मियौँ, गाउँले परिवेशमा हुर्कियौँ, बिरामी पर्दा पनि झाँक्रीकहाँ जानुपर्छ भन्ने सुनियो, देखियो र भोगियो तर अहिले बिरामी परे अस्पतालमै जानुपर्छ, तर झाँक्रीको परम्परालाई पनि संरक्षण गर्नुपर्छ, त्यसले गर्दा हामीहरुले झाँक्रीलाई पनि बिरामीलाई अस्पताल पठाउनुपर्छ भनेर सुझाउँछौँ र मेला, महोत्सव तथा कार्यक्रममा प्रदर्शनका लागि पालिकाले नै अगुवाइ गर्छ ।” –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *