काठमाडौँ, २३ साउन । नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान माथि उक्लिएको छ ।
विश्व फुटबलको सर्वोच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७औँ स्थानमा पुगेको हो । नेपाल यसअघि १००औं स्थानमा थियो । यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो । यसअघि नेपाल ९१औँ स्थानसम्म पुगेको कीर्तिमान थियो ।
गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलमा नेपालले वरीयतामा १०७औँ स्थानमा रहेको लाओसलाई ९–० र १५९औँ स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो ।
दक्षिण एसियाली राष्ट्रहरूमा भारत शीर्ष स्थानमा छ । भारत ७ स्थान सुधार गर्दै ६३औँ स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा छ । यस्तै, २४ स्थान माथि उक्लँदै बंगलादेश १०४औँ स्थानमा पुगेको हो । भारत र बंगलादेश दुवै एसियन कपका लागि छनोट भएका छन् ।