काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले ‘भिजिट भिसा’ प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको संकेत दिएको आरोप लगाउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले मानव तस्करहरुलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधीक गिरोहसँग सरकारको कुनै साँठगाँठ त छैन भन्दै आशंका व्यक्त गर्नुभयो ।
“सरकारहरु फेरिन्छन् । मन्त्रीहरु फेरिन्छन् । तर, मानव तस्करहरु सधैँ उन्मुक्त किन हुन्छन् ? यो प्रश्न हाम्रो अगाडि गम्भीर रुपमा उभिएको छ । भिजिट भिसा प्रकरण अपराध मात्र होइन । मानवताको घोर अपमान हो । दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ । यस्तो गम्भीर विषयमा पनि दुई ठुला दल किन मौन छन् ? यो सरकारको आपराधिक गिरोहसँग कुनै सांठगांठ त छैन ? कि यो तपाईहरुको लाचारीपनको संकेत हो,” नेपालीले सरकारलाई प्रश्न गर्नुभयो ।