मेघा कलेजद्वारा निःशुल्क होटल व्यवस्थापन तालिमदेखि ‘स्वाद उत्सवसम्मः दक्षताको नयाँ आयाम

बुटवल । रुपन्देहीको प्रतिष्ठित वेष्ट्रन मेघा कलेजले आगामी शैक्षिक सत्रसँगै परम्परागत शिक्षालाई अझ निखार्दै, होटल व्यवस्थापन क्षेत्रमा नयाँ उपलब्धि र उत्सवमय अवसरहरू प्रस्तुत गर्ने भएको छ।

प्राचार्य अधिवक्ता किसु शर्माले बिहीबार पत्रकार सम्मेलनमार्फत कलेज परिसरमै विविध कार्यक्रम घोषणा गर्दै असार १ गतेदेखि कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि १० दिने पूर्णरूपले निःशुल्क होटल व्यवस्थापन तालिम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

उहाँले तालिममा २०० विद्यार्थी सहभागि हुने लक्ष्य राखिएको बताउँदै अनुभवी सेफ दिपक राउतले व्यावहारिक मार्गदर्शन प्रदान गर्ने बताउनुभयो । उक्त तालिमले विद्यार्थीहरूलाई किचन व्यवस्थापन, अतिथी सेवा, भान्सा विभाजन र गुणस्तरीय खानाका विधाहरूमा जानकारी दिने वेष्ट्रन मेघा कलेजले जनाएको छ ।

फुड फेस्टिबल र संस्कृति महाअभियान

कलेजले असार १देखी १० गते सम्म “स्वाद उत्सव ” आयोजना गर्दै नेपाली परिकारहरूको विविध झलक प्रस्तुत गर्ने तयारी गरेको छ। भदौको पहिलो सप्ताहमा “स्वाद र संस्कृति महाअभियान” नारासहित महाअभियान र फुड फेस्ट डेमो हुनेछन्, जसले स्थानीय र राष्ट्रिय परिकारप्रेमीलाई आकर्षित गर्नेछ।

नयाँ सुविधासँगै बिएचएम भर्ना खुल्ला
नयाँ शैक्षिक सत्रमा बीएचएम र एमबीए कार्यक्रमको भर्ना पनि खुलेको कलेजले जनाएको छ। कलेजका अध्यक्ष मेघराज पन्थले बुटवल पश्चिमको नमुना रिजोर्टबाट सबै यात्रा सुरु भएको यस कलेजले २०७४ सालदेखि होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको बताउनुभयो ।

उहाँले हालसम्म ४५० जना विद्यार्थीले होटल व्यवस्थापनमा दक्षता हासिल गरी उत्तीर्ण भइसकेका जानकारी दिनुभयो । वेष्ट्रन मेघा कलेजका अनुसार नयाँ सुविधाहरू अन्तर्गत तेस्रो सेमेस्टरमा व्यक्तित्व विकास कक्षा, पाँचौँ सेमेस्टरमा जापानी भाषा र छैटौँ सेमेस्टरमा चिनियाँ भाषा अध्यापन थप गरिएको छ।साथै, विभिन्न देशको अध्ययन भ्रमण र प्रायोगिक कार्यशालाका अवसरहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बजारमा अग्रस्थान दिन सहायता पुग्ने कलेजले जनाएको छ ।

सामाजिक उत्तरदायित्व र समुदायसँगको समन्वय
कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत असार ३ गते मंगलबार क्याम्पसमा रक्तदान कार्यक्रम पनि आयोजना गर्दैछ। यस इभेन्टले विद्यार्थी र स्थानीय समुदायबीच आपसी सहयोग र मानवता प्रबर्धन गर्ने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *