निर्मला प्रकरणबारे सुक्ष्म अनुसन्धान जारी छ : एसपी खत्री

निर्मला प्रकरणबारे सुक्ष्म अनुसन्धान जारी छ : एसपी खत्री

कञ्चनपुर, २७ जेठ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिनुभएको हो ।

‘निर्मला पन्तको घटना पुरानो हो । यद्यपि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टिमले मिलेसम्म सुक्ष्म रुपमा अनुसन्धान गरिराखेकै छ,’ उहाँले भन्नुभयो ।

जटिल केसहरुको अध्ययन रोक्न नमिल्ने भएकाले अध्ययन र अनुसन्धान जारी रहेको एसपी खत्रीको भनाइ छ ।

‘यो लामो हदम्याद भएको मुद्दा पनि हो र यस्तो जटिल केसहरुलाई अनुसन्धान बीचमा नै रोक्ने कुरै भएन । त्यसैले पनि अनुसन्धान सुक्ष्म रुपमा भइरहेको छ ।’

घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर घटनाको अनुसन्धान गरेको थियो । तत्कालीन अवस्थामा दिलिपसिंह विष्टको डिएनए नमिलेपछि घटनाको अनुसन्धान पेचिलो बनेको थियो ।

निर्मलाको बलात्कार र हत्या प्रकरणमा झन्डै एक सय जनाको डिएनए परीक्षण गरिए पनि डिएनए म्याचिङ भएको थिएन । त्यसपछिको अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *