चोरी भएका २२ दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण

चोरी भएका २२ दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौँ, २५ जेठ । काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ ओटा स्कुटर र १० ओटा मोटरसाइकल सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, इमाडोल, लुभु, गठ्ठाघर र बालकोटलगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २२ वटासहित ४६७ वटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४४ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी व्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवादसमेत दिनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा ४९९ वटा, ०८०/८१ मा ४१७ वटा र ०८१/८२ को आज सम्ममा ४६७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले अनुरोध समेत गर्नुभयो ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *