‘एक्सन’मा प्रचण्ड, बोलाए विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका छन् । कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको ११ महिनापछि पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवासँग सघन छलफल गरेको प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा संसद्को अवरोध खुलाउन अपनाउन सकिने भावी रणनीति र सत्तापक्षसँगको वार्तालाई कसरी अगाडि बढाउने भन्ने विषयमा एकीकृत धारणा बनाउने प्रयास हुने उनले बताए ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । यही विषयलाई लिएर गत जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक निरन्तर प्रभावित हुँदै आएको छ ।

संसद्को अवरोध खुलाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच अनौपचारिक संवाद पनि जारी छ । यसै क्रममा शनिबार सत्तारुढ दल कांग्रेस सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले देउवासँग भएको संवाद र गतिरोध अन्त्यका सम्भावित विकल्पहरूबारे अन्य विपक्षी दलहरूलाई जानकारी गराउने (ब्रिफिङ गर्ने) कार्यक्रम रहेको छ ।

ब्रिफिङपछि विपक्षी दलहरूले साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ । ‘भिजिट भिसा प्रकरण’मा छानबिन समिति गठनको मागमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *