परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य : पूर्वराष्ट्रपति भण्डारी

परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य : पूर्वराष्ट्रपति भण्डारी

झापा, २४ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउन दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

झापाको विर्तामोडमा आजदेखि सुरु भएको नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै जनस्तरमा परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “अबको हाम्रो प्रमुख गन्तव्य भनेको जनताको जीवनस्तरमा प्रत्यक्ष एवम् सकारात्मक परिवर्तन अनुभूत गराउने दिगो आर्थिक समृद्धि हासिल गर्नु हो । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्नु हो ।”

राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उहाँले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले राज्यका तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षालाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

“विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधनस्रोतसहित प्रयोगशाला, दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व हो । नेपालमा मुलुकका लागि चाहिने अत्यन्तै उपयोगी प्राकृतिक स्रोत र सम्पदाहरू प्रचुर रूपमा उपलब्ध छन्”, उहाँले भन्नुभयो“प्राकृतिक स्रोतसाधनको दिगो र अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धिका साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । त्यसैले अबको शिक्षा प्रणालीको मूल लक्ष्य अनुसन्धान, प्रयोग, आविष्कार, प्रविधि र सिर्जनामार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउने जनशक्ति निर्माणमा केन्द्रित हुने हुनुपर्छ ।”

जेठ २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा भइरहेको छ । कार्यक्रममा कोशी प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालयले आफ्ना विद्यार्थीद्वारा निर्मित वैज्ञानिक प्रयोगका सामग्री प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः चार लाख, तीन लाख, दुई लाख र एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *