अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत् विश्वास जित्ने प्रयास [भिडिओ]

काठमाडौँ, ९ जेठ । प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउनुपर्ने बाध्यतामा छ । सामान्यत हुलाक सेवा भनेको चिठीपत्र सम्बन्धित ठाउँमा पुर्‍याउने माध्यम मात्र भन्ने बुझाइलाई चिर्न हुलाक सेवा विभागले विभिन्न माध्यम अपनाउन पनि थालेको छ । आफ्नो अस्तित्व जोगाउन हुलाकले सेवा र कार्यशैलीमा परिवर्तन गर्दै लगेको छ । कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा विगत केही समययता ओझेलमा पर्दै गइरहेको थियो । पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिले हुलाकलाई विस्थापित गर्दै गएको जस्तो पनि देखिन्छ । हुलाक भन्ने वित्तिकै चिठीपत्र आदनप्रदान गर्ने माध्यम मात्र हो भन्ने मानिसको बुझाइका कारण पनि यसको प्रभावकारिता घट्दै गएको हो । देशभित्र र बाहिर चिठीबाहेक अन्य सबै सामान ल्याउन र पठाउन हुलाक प्रयोग गर्ने हो भने वर्तमान समयमा पनि हुलाकलाई जोगाउन सकिने भएकाले विभागले आफ्नो सेवामा फरकपना ल्याउन थालेको हो । निजी क्षेत्रमार्फत् हुने गरेको कुरियर र कार्गो अपरेटर जस्तै सेवा हुलाकले पनि दिएपछि सेवाग्राहीहरु...

अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत् विश्वास जित्ने प्रयास [भिडिओ]

काठमाडौँ, ९ जेठ । प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउनुपर्ने बाध्यतामा छ । सामान्यत हुलाक सेवा भनेको चिठीपत्र सम्बन्धित ठाउँमा पुर्‍याउने माध्यम मात्र भन्ने बुझाइलाई चिर्न हुलाक सेवा विभागले विभिन्न माध्यम अपनाउन पनि थालेको छ । आफ्नो अस्तित्व जोगाउन हुलाकले सेवा र कार्यशैलीमा परिवर्तन गर्दै लगेको छ ।

कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा विगत केही समययता ओझेलमा पर्दै गइरहेको थियो । पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिले हुलाकलाई विस्थापित गर्दै गएको जस्तो पनि देखिन्छ ।

हुलाक भन्ने वित्तिकै चिठीपत्र आदनप्रदान गर्ने माध्यम मात्र हो भन्ने मानिसको बुझाइका कारण पनि यसको प्रभावकारिता घट्दै गएको हो । देशभित्र र बाहिर चिठीबाहेक अन्य सबै सामान ल्याउन र पठाउन हुलाक प्रयोग गर्ने हो भने वर्तमान समयमा पनि हुलाकलाई जोगाउन सकिने भएकाले विभागले आफ्नो सेवामा फरकपना ल्याउन थालेको हो ।

निजी क्षेत्रमार्फत् हुने गरेको कुरियर र कार्गो अपरेटर जस्तै सेवा हुलाकले पनि दिएपछि सेवाग्राहीहरु हुलाकप्रति थोरै भए पनि आकर्षित हुन थालेका छन् ।

यसै सन्दर्भमा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा हुलाकलाई समयसापेक्षित रुपमा विकास गर्दै अगाडि बढेको बताउनुभयो ।

उहाँले अहिलेसम्मलाई हुलाकलाई नागरिक एप, ट्रयाकिङ सिस्टम राख्ने र हुलाक कार्यालयमा क्युआर कोडबाट पैसा तिर्न मिल्ने सिस्टम ल्याएकाले चिठीपत्र मात्र नभइ अत्यावश्वक सामग्रीहरु दैलो–दैलोमा पुर्‍याउने योजनाअनुसार अघि बढिरहेको बताउनुभयो ।

हुलाकमार्फत् आउने सामान घर घरसम्म पुर्‍याउन सक्ने हो भने जनतासँग सिधैँ जोडिने र बिचौलियाहरुले नाफा खाने बाटो नहुने पनि उहाँको भनाइ छ ।

ट्रयाकिङ सिस्टमको कुरा गर्दा हुलाकमार्फत् पठाएको सामान कहाँ पुग्यो र कति समयमा गन्तव्यमा पुग्छ भन्ने कुरा घरै बसेर हेर्न सकिने सिस्टम हो, यस सिस्टम पश्चात पनि हुलाक प्रभावकारी र विश्वासिलो भन्दै गएको छ ।

नेपालको सफ्टवेयर एकदमै राम्रो छ । यसलाई व्यवस्थापन गरेर सही तरिकाले सञ्चालन गर्ने हो भने हुलाक एकदमै राम्रो तरिकाले अगाडि बढ्न सक्छ ।

उहाँले भन्नुभयो, ‘हुलाक पूर्ण रुपमा डिजिटल त भइसकेको छैन । अहिले हुलाकलाई नागरिक एपमा राख्ने सोचेका छौँ । ट्रयाकिङ सिस्टम पनि डिजिटल हो । क्युआर कोडबाट पैसा तिर्न मिल्ने सिस्टम ल्याएका छौँ । पहिला लाइन लगाएर बस्नुपर्ने थियो भने अहिलेबाट लाइन लाग्न पर्दैन । अब विस्तारै दैलो–दैलोमा आफ्नो सामान पुर्‍याउने सपना छ । यस्तो भयो भने बिचौलियाहरु हट्दै जान्छन्, हामी सिधैँ जनतासँग जोडिन सक्छौँ । यसमा डिजिटल हुलाकले सहयोग गर्छ ।’

यसको साथै, उहाँले हुलाक सेवामा जनशक्तिको आवश्यकता पर्ने नै भएको हुनाले पूर्ण रुपमा अनलाइन हुन नसक्ने पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्ण रुपमा डिजिटल कुनै पनि ठाँउमा हुन सक्दैन, सबै काम अनलाइनबाट भए पनि सामान पुर्‍याउनका लागि जनशक्तिको आवश्यकता हुन्छ र हुलाक भनेको डेलिभरी सेवा भएकाले डिजिटल हुनुपर्ने ठाउँमा डिजिटल भएको छ ।

विगतमा हुलाक छायामा परे पनि केही समय यता यसको प्रभावकारिता बढ्दो क्रममा रहेको छ । महानिर्देशक पंगेनीका अनुसार ल्याबमा परीक्षण गर्ने सामान, अस्पतालका कागज, पासपोर्ट, लालपुर्जा, नागरिकता, एटिएम जस्ता महत्त्वपूर्ण कागजातहरु हुलाकमार्फत् नै ल्याउन र पठाउन सकिन्छ । साथै, अमेरिकासँग नेपालबाट जाने सामान हुलाकबाट नै हुनुपर्छ भनेर सम्झौता पनि भएको उनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हुलाकको महत्व धेरै नै भएको छ । ल्याबमा परीक्षण गर्ने सामान, अस्पतालको कागज, पासपोर्ट, लालपुर्जा, नागरिकता, एटिएम जस्ता अति संवेदनशील कुराहरु पनि हुलाकमार्फत् पठाउने गरिएको छ । किनभने हुलाक भनेको विश्वासिलो हुन्छ । अहिले जापानमा केही सामान पठाउनुपर्‍यो भने हुलाकमार्फत् नै पठाउनु पर्छ । अन्य कुरियर वा कार्गोमार्फत् पठाउने हो भने जापानले लिँदैन ।’

विसं १९३५ मा हुलाक घरको स्थापना भइ सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो ।

साथै, मुगु, हुम्ला जस्ता विकट ठाँउमा निजी कुरियर कम्पनीहरुले सामान ल्याउन र लान मान्दैनन् किनभने त्यहाँ हिँडेर जानुपर्छ र निजी कम्पनीहरु आफ्नो नाफा हेरेर मात्र काम गर्ने गर्दछन् तर हुलाकले त्यस्तो ठाउँमा पनि सामान ल्याउने र लाने काम गरिरहेको पनि उहाँको भनाइ रहेको छ ।

विकट ठाँउमा जानको लागि हुलाकको जनशक्ति भने कम भएको पनि उहाँको गुनासो छ ।

‘अहिले पुनःसंरचना भइसकेपछि जनशक्ति थपिएको छ । तर, अझै पुगेको छैन । तराईतिर जहाँ साइकबाट पनि सजिलै पुग्न सकिन्छ, त्यहाँ जनसंख्याको आधारमा धेरै मान्छे राखिएको छ तर त्यो अझै प्रभावकारी भएको छैन,’ उहाँले भन्नुभयो, ‘तर, कुनै दुर्गम जस्तै–हुम्ला, मुगु, जाजरकोट, कालिकोट, पूर्वमा ओखलढुङ्गातिर हेर्ने हो भने कुनै कुनै ठाउँ यस्तो छ जहाँ एउटा वडाबाट अर्को वडा जान एक दिन लाग्छ । यस्तो ठाउँमा जनशक्तिको कमी छ । यो कुराहरु विस्तारै समाधान होला भन्ने आशा छ ।’

यसका साथै, उहाँले काठमाडौँ डिल्लीबजारमा भएको हुलाकको कार्यालयमा चिठी आउने, पठाउने, वितरण गर्ने जस्ता सबै कामहरु हुने गरेको भएपनि ठाउँको अभाव रहेकाले सेवा प्रवाह गर्न कठिन भइरहेको सुनाउनुभयो ।

नागरिक सचेतनामा हुलाक
सरकारले हुलाक सेवाको महत्त्व र प्रभावकारिता वृद्धि गर्न सचेतना कार्यक्रमहरु आयोजना गरिरहेको छ । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जनचेतनामार्फत् हुलाकको प्रभावकारिता बढाइरहेको सुनाउनुभयो ।

उहाँले हुलाकको प्रभावकारितालाई बढाउनका लागि विभिन्न समूदायका विद्यार्थीहरुमा नागरिक सचेतनाका कार्यक्रमहरु गरिरहेको बताउनुभयो । निजी क्षेत्रले पनि विभागसँग समन्वय गरिरहेको जानकारी गराउँदै उहाँले एकले अर्कोलाई सपोर्ट गरेर सँगसँगै अगाडि बढिरहेको सुनाउनुभयो ।

‘हामीले विद्यार्थीहरुलाई पनि थाहा दिनुपर्ने छ । त्यसैले समुदायस्तरमा पनि विद्यार्थीहरुसँग हुलाकलाई लगेको छौँ । पुनःसंरचना भइसकेपछि हुलाक सेवा तपाइँहरुको अंग बनेको छ है भन्ने कुरा गरिरहेका छौँ । नागरिक सचेतनाहरु गर्दै छौँ,’ उहाँले भन्नुभयो ।

त्यस्तै, महानिर्देशक भट्टराईले हुलाक भन्नेबित्तिकै चिठीपत्र भनेर बुझिने गरेको पाइएको भन्दै उहाँले हुलाक भनेको टिकट पनि हो भनेर बिर्सन नमिल्ने धारणा राख्नुभयो ।

नचिनेका प्राकृतिक सम्पदा पुरातात्विक धरोहरहरुलाई उजार गर्ने, इतिहास बचाउने, पर्यटन प्रवर्द्धन र विश्व सम्पदामा सूचीकृत गर्नुपर्ने तर छुटिरहेका कुराहरुलाई वकातल गर्ने जस्ता महत्त्वपूर्ण विषयमा टिकटको ठुलो भूमिका रहने गरेको उहाँले बताउनुभयो ।

यति मात्र होइन उहाँका अनुसार टिकटको माध्यमबाट चोरी भएको बौद्धिक सम्पत्तिहरुलाई समेत टिकटको माध्यमबाट अनुसन्धान गर्न सकिन्छ । त्यसैले हुलाक एक अभिन्न अंग बनेको उहाँको बुझाइ छ ।

७५३ वटा पालिकामा हुलाक
अहिले हुलाक सेवाको पुनःसंरचना भएपछि ७७ जिल्लामा हुलाक पुगेको छ । पहिलाको इलाका हुलाक कार्यालयहरु खारेज भएपछि ७५३ वटा पालिकामा हुलाक पुगेको छ । एक स्थानीय तह, एक हुलाक कार्यक्रम कार्यान्वयन पनि भएको छ ।

हुलाकले इएमएस सेवालाई पनि बढाउदैँ गएको छ । इएमएस (एक्सप्रेस मेल सेवा)अर्थात् उच्च गति, कम प्रिमियम र समयबद्ध ग्यारेन्टी गरिएको डेलिभरी सेवाको सामान्य नाम हो । घरेलु इएमएस सेवा १९९१ मा सात नगरपालिकाहरूबाट सुरु गरिएको थियो र २०१० मा यी स्थानहरूको संख्या ६२ पुगेको छ । अबको हुलाक सूचना प्रविधिमा आधारित हुँदै अघि बढेको छ ।

हाल हुलाक कार्यालयले वैदेशिक र आन्तरिक हुलाकमा तौलको आधारमा दैनिक कारोबारको हिसाबले २० लाखभन्दा बढीको कारोबार गर्ने गरेको विभागले जनाएको छ ।

इएमएसले गर्दा वैदेशिक हुलाक कार्यालयबाट, आदानप्रदान हुने चिठी पत्रहरु बढेको छ । त्यसलाई संख्यामा भन्दा पनि तौलको आधारमा आर्थिक वर्ष ०८०/८१ लाई हेर्ने हो भने वर्षभरि भएको कारोबार अहिले तीन महिनामा नै भएको छ ।

हुलाकबाट जाने पार्सल नेपाली एयरलाइन्सको पहुँच जहाँसम्म पुगेको छ त्यहाँसम्म जान्छ । इएसएस भने निश्चित सम्झौता गरिएको देशहरुमा पुगेको छ र अन्य सामान्य चिठी कूटनीतिक सम्बन्ध भएको सबै देशमा पुगेको छ । यसरी हुलाकले प्रविधिमार्फत् फेरि बजारमा आफ्नो अस्तित्व देखाउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *