विपन्न र असाहयको पेट भर्ने समिरको मनकारी कर्म : ‘आशाको भोजन’

प्रमिला कार्की काठमाडौँ, २९ फागुन । समिर दाहाल पेशाले इन्जिनियर हुनुहुन्छ । पढेर र बुझेर इन्जिनियर बन्नुभएका उहाँको जीवनले अहिले फरक मोड लिएको छ । हस्पिटालिटी क्षेत्रबाट उहाँले नयाँ व्यवसायमा सक्रियता बढाउनुभएको छ । ‘ओके टु वियर’ नाम दिएर उहाँले सानो क्याफे सुरु गर्नुभएको छ । तर, क्याफेले व्यापार मात्र गरिरहेको छैन, सामाजिक भावले ‘आशाको भोजन’सेवा पनि दिइरहेको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै उहाँले पेसाले इन्जिनियर भएपनि संयोगवस हस्पिटालिटी लाइनमा जोडिएको बताउनुभयो । उहाँले धेरै सपना राखेर सानो क्याफे जगदेखि सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पेसाले चाहिँ म इन्जिनियर हुँ । संयोगवस हस्पिटालिटी लाइनमा पनि जोडिन पुगे । विगत पाँच वर्षदेखि यसमा आवद्ध छु । धेरै सपना राखेर सानो क्याफे जगदेखि सुरु गरेका छौँ ।’ समिरलाई समाजको दुःख, अप्ठ्यारो र भोकमरी देख्दा गहिरो चिन्ता र विचार उत्पन्न भएको थियो । ‘म बाटो हिँड्दै गर्दा धेरै अप्ठ्यारोमा परेका मानिसहरु देख्थें, त्यसले मलाई सोच्न बाध्य बनायो । आफ्नो समाजमा...


प्रमिला कार्की

काठमाडौँ, २९ फागुन । समिर दाहाल पेशाले इन्जिनियर हुनुहुन्छ । पढेर र बुझेर इन्जिनियर बन्नुभएका उहाँको जीवनले अहिले फरक मोड लिएको छ । हस्पिटालिटी क्षेत्रबाट उहाँले नयाँ व्यवसायमा सक्रियता बढाउनुभएको छ ।

‘ओके टु वियर’ नाम दिएर उहाँले सानो क्याफे सुरु गर्नुभएको छ । तर, क्याफेले व्यापार मात्र गरिरहेको छैन, सामाजिक भावले ‘आशाको भोजन’सेवा पनि दिइरहेको छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै उहाँले पेसाले इन्जिनियर भएपनि संयोगवस हस्पिटालिटी लाइनमा जोडिएको बताउनुभयो । उहाँले धेरै सपना राखेर सानो क्याफे जगदेखि सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पेसाले चाहिँ म इन्जिनियर हुँ । संयोगवस हस्पिटालिटी लाइनमा पनि जोडिन पुगे । विगत पाँच वर्षदेखि यसमा आवद्ध छु । धेरै सपना राखेर सानो क्याफे जगदेखि सुरु गरेका छौँ ।’

समिरलाई समाजको दुःख, अप्ठ्यारो र भोकमरी देख्दा गहिरो चिन्ता र विचार उत्पन्न भएको थियो । ‘म बाटो हिँड्दै गर्दा धेरै अप्ठ्यारोमा परेका मानिसहरु देख्थें, त्यसले मलाई सोच्न बाध्य बनायो । आफ्नो समाजमा के योगदान दिन सक्छौँ, यही कुराले पिरोलिरहयो’ उहाँले थप्नुभयो, ‘सक्ने मान्छेले सामाजिक कार्यमा भाग लिन सक्नुपर्छ ।सबै पैसा कमाउनमा लिप्त छौँ, तर कसैले मद्धत किन गर्दैन, समाजले हामीलाई धेरै दिएका छ, हामीले के दिन सक्यौँ ?’

यसै कारण समिरले ‘आशाको भोजन’ सुरु गर्नुभएको हो । उहाँको उद्देश्य भनेको त्यो व्यक्ति जसको भोक मेट्ने पैसा छैन, उसलाई सहयोग गर्नु हो । क्याफेमा आउने व्यक्तिहरूले चाहेर नचाहेर सहयोग गर्नसक्ने वातावरण बनाइएको छ ।

समिरका अनुसार,‘हामीले खुवाएका व्यक्तिहरूको संख्या २० पुगिसकेको छ र यसले ठुलो सन्तुष्टि दिएको छ । यद्यपि हाम्रो लागि यो थोरै संख्या हो तर क्याफे सुरु गर्दै गर्दा नयाँ सोच विचारका साथ कामलाई अघि बढाएका थियौँ ।’

समिरको यस अभियानको खास विशेषता भनेको समाजको लागि कम खर्चमा खाना उपलब्ध गराउनु हो । २० जनालाई निःशुल्क भोजन दिइसकेको क्याफेले कोही व्यक्तिले पैसा तिर्न सक्दैन भने पनि टिमको तर्फबाट सहयोग गर्ने गर्छन् ।

‘हामीले १५ प्रतिशत छुट दिन्छौँ र कुपन नभएको अवस्थामा पनि हाम्रो तर्फबाट खुवाइन्छ,’ उहाँले भन्नुभयो । ‘यसले समाजसेवाको भावना र इमानदारिता प्रकट गर्छ ।’

यसैगरी समिरले समाजसेवा र व्यापारलाई सँगै अघि बढाउँदै, आफ्ना साथीहरूको साथमा सानो पाइलाका रुपमा यस्तो कामको थालनी गरेको बताउनुभयो ।

उहाँले विदेश जानु मात्र ठुलो सपना नभइ सीप र मेहनतले हरेक ठाउँमा सफलता मिल्ने बताउनुभयो । साथै स्वदेशमा पैसाको कारण रोक्न नसकिएको भन्ने गलत भाष्यमा असमर्थन जनाउँदै उहाँ पैसाले नभइ सीपले नरोकेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा पनि आफ्नो समाजमा केही गरेर खुसीसँग बाँच्न सकिन्छ । विदेश जानु मात्र ठुलो सपना होइन, सीप र मेहनतले हरेक ठाउँमा सफलता मिल्छ । सबैले विदेश जानैपर्ने अवस्था त म देख्दिनँ । विदेशमा हेर्दैमा राम्रो लाइफ स्टाइल छ भन्ने म चाहिँ मान्दिँन । किनकी जहाँ गएर पनि दुःख नै गर्ने हो । काम नै गर्ने हो । यहाँ परिवारसँग बसेर काम गर्न पाउनुको छुट्टै आनन्द छ । साथी सर्कल सबै विदेश गएको देखेर पनि जाने चलन छ । जानेलाई रोक्न पनि सकिँदैन । नेपालमा नै बसेर केही गर्ने इच्छा राखिन्छ भने कसैले छेकेको छैन । पैसा कारण नै नेपालमा केही गर्न रोक्यो पनि भन्ने गर्छन् । पैसा होइन सीपले रोक्छ । मान्छेमा सीप हुन पर्‍यो । सीप जहाँ पनि बिक्छ । यहाँ नबिकेको सीप विदेशमा बिक्छ भन्ने म चाहिँ मान्दिनँ ।’

यसैगरी उहाँले ‘आशाको भोजन’को उद्देश्य भनेको एक छाक पनि खान नसक्नेहरुका लागि यस्तो अभियान सुरु गरेको बताउनुभयो । विपन्न र श्रमजीवि वर्गहरु दिनभरि काम गर्छन् । एक छाक खान पनि गाह्रो छ । त्यसैले आशाको भोजन भनेर यस्तो आशा दिन सकौँ कि पैसा नभए पनि खान मन हुनेहरु बन्चित हुन नपरोस भन्ने हो ।’

उहाँले भन्नुभयो, ‘बच्चाबेलादेखि नै आफ्ना आमा हजुरआमा सरहको मानिसलाई सडकमा भोकभोकै देख्दा अति नै नराम्रो लाग्थ्यो । केही गर्न पाए हुन्थ्यो भन्ने सोच आउने गर्दथ्यो । सरकारले केही गरेको छैन । उद्धार मनले कसैले सहयोग गर्न चाहन्छ भने किन नगर्ने भन्ने सोच छ ।’

यसरी समिरले ‘आशाको भोजन’ सँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गरिरहनुभएको छ । उहाँको उद्देश्य समाजमा भोक र समाजसेवामा एउटा सानो उदाहरण प्रस्तुत गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *