विवादमा दरबारमार्गको ग्रेनाइट योजना : तर यात्रुले दिए बालेनलाई धन्यवाद

प्रमिला कार्की काठमाडौँ, ८ फागुन । काठमाडौँ महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा विवाद भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरु एवम् अभियन्ताहरुले समेत खुलेरै विरोध जनाइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर सहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ पश्चिमा आधुनिकताबाट उपत्यका ‘विशिष्ट’ बन्नै सक्दैन भन्दै सामाजिक सञ्जालमा विरोध जनाउनुभएको थियो । उहाँले लेख्नुभएको थियो, ‘काठमाडौँ उपत्यकामा नेवाः संस्कृति र सभ्यताको पुनर्जागरण अत्यावश्यक छ । यो सहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ । पश्चिमा आधुनिकताबाट यो उपत्यका ‘विशिष्ट’ बन्नै सक्दैन।’ यतिबेला मेयर बालेन शाहको चुनाव अगाडिको अन्तरवार्तामा बोलेको पूरानो भिडिओ पनि भाइरल भइहरेको छ । जसका कारणले पनि उक्त विषय झन् आलोचित बन्दै गइरहेको छ । जसमा उहाँले भन्नुभएको छ, ‘तपाईंले यी कुरा नबुझिकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । त्यतिकै केही गरिदियो, मोर्डन देखिन्छ भनेर बबाल खालको टाइल लाइदिम्, यहाँनेर मार्बल लाइदिम् भनेर...


प्रमिला कार्की

काठमाडौँ, ८ फागुन । काठमाडौँ महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा विवाद भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरु एवम् अभियन्ताहरुले समेत खुलेरै विरोध जनाइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर सहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ पश्चिमा आधुनिकताबाट उपत्यका ‘विशिष्ट’ बन्नै सक्दैन भन्दै सामाजिक सञ्जालमा विरोध जनाउनुभएको थियो ।

उहाँले लेख्नुभएको थियो, ‘काठमाडौँ उपत्यकामा नेवाः संस्कृति र सभ्यताको पुनर्जागरण अत्यावश्यक छ । यो सहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ । पश्चिमा आधुनिकताबाट यो उपत्यका ‘विशिष्ट’ बन्नै सक्दैन।’

यतिबेला मेयर बालेन शाहको चुनाव अगाडिको अन्तरवार्तामा बोलेको पूरानो भिडिओ पनि भाइरल भइहरेको छ । जसका कारणले पनि उक्त विषय झन् आलोचित बन्दै गइरहेको छ ।

जसमा उहाँले भन्नुभएको छ, ‘तपाईंले यी कुरा नबुझिकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । त्यतिकै केही गरिदियो, मोर्डन देखिन्छ भनेर बबाल खालको टाइल लाइदिम्, यहाँनेर मार्बल लाइदिम् भनेर भएन नि त । मार्बल किन लगाइँदैछ भन्दा यो चिसो ठाउँ हो । मार्बलमा टेक्दाखेरि खुट्टा ठिहिरिन्छ, तपाईं हिँड्दै सक्नुहुन्न । इँटा त त्यति चिसो हुँदैन नि त इँट्टामा तपाईं खाली खुट्टा नै हिँड्नुभयो भने पनि त्यतिसारो चिसो हुँदैन । काठमाडौँ भनेको चिसो ठाउँ हो नि त । अब टुरिजम् बढाउनलाई न्यूरोडमा जानुहुन्छ । कुनै सिसा र एसिपी लगाएको छ, के लगाएको छ । त्यहाँनेर इँट्टा र काठ बाहिर एक्स्पोज हुनेगरी भक्तपुरको जस्तो त्यो भएको भए त त्यहाँ गएपछि फर्कन मन लाग्दैन थियो नि । अहिले त कतिखेर काम सकौँ र न्युरोडबाट फर्किम जस्तो हुन्छ नि । त्यहाँनेर हाम्रो कल्चर नै प्रिजर्भ भएन नि त ।’

हो उहाँको यिनै अभिव्यक्तिको समर्थन जनाउँदै केहीले काठमाडौँको सांस्कृतिक संरक्षणको हिसाबले पनि ग्रेनाइटको प्रयोग उपयुक्त नभएको विचार राखिरहेका छन् भने केही व्यक्तिले चुनाव अगाडि मेयर शाहले गरेको नेवाःसंस्कृतिको संरक्षणको कुरालाई बिर्सिएर आधुनिक प्रविधिमा गएको टिकाटिप्पणी गरिरहेका छन् ।

नेवाः संस्कृति मासिएको छैनः प्रवक्ता
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरले नेवाः शैलीलाई नै ध्यानमा राखेर काठमाडौँमा धेरैजसो स्थानहरुमा काम गरिरहेको भन्दै ठाउँ अनुसारको विकास अनुभूति हुनुपर्छ भन्ने सोचले दरबारमार्ग जस्तो पर्यटकीय स्थललाई आकर्षित बनाउन ग्रेनाइट बिछ्याइएको बताउनुभयो ।

पुराना संरचनाहरु नेवाःशैलीका भएपनि कतिपय नयाँ बनेका संरचनाहरुमा भने अहिलेको आवश्यकता अनुसार विकास हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले नेवाःशैलीलाई नै ध्यान नदिएको भन्ने होइन । ठाउँ अनुसारको विकास अनुभूति हुनुपर्छ । वसन्तपुरमा अहिले ढुङ्गा बिछ्याइरहेको छ । त्यहाँ टायल मार्बल बिछ्याइएको भए हामीले नेवाःशैलीलाई विस्थापित गर्‍यो भन्ने हुन्थ्यो । हामीले धेरै ठाउँ नेवाःशैली आउने गरी कामहरु त गरिरहेका छौँ । त्यसैले जुन ठाउँमा जे कुराको आवश्यकता पर्छ त्यहीँ अनुसारको व्यवस्थापन गर्‍यौँ भने त्यसले राम्रो गर्छ । दरबार स्क्वायर पुरानो शैलीका नै हुन्छन्, नेवाःनै हुन्छन् । तर, नयाँ बनेको संरचनाहरुमा चाहिँ कतिपय चीजहरु अहिलेको आवश्यकता अनुसार विकास हुन्छन् ।’

त्यस्तै, कतिपयले वर्षामा चिप्लिने समस्या हुँदा यात्रुको सुरक्षाका हिसाबले ग्रेनाइट उपयुक्त सामग्री होइन पनि भनेका छन् । तर, पानीकै कारणले मात्र चिप्लिने सम्भावना नरहेको उहाँको दाबी छ । चिप्लिने मात्र डरले यो ग्रेनाईट राख्न हुँदैन भन्ने मत राख्न नमिल्ने प्रवक्ता मानन्धर बताउनुहुन्छ ।

‘हामीले पुराना शैलीका विकासहरुको अनुभव गरिसकेका छौँ । ग्रेनाइटको कुरा गर्दा घर, मलहरुमा चाहिँ अनुभव गरेका छौँ । सार्वजनिक स्थालमा चाहिँ यसको कुरा अनुभव गर्न पाएको छैनौँ । तर, विदेशतिर चाहिँ यसले सुन्दरता देखाएको छ । दरबारमार्ग जहाँ नयाँ राजदरबार भएकाले त्यहाँको व्यवसायलाई मध्यनजर गर्दै लगाइएको हो । त्यहाँ ब्राण्डेड पसलहरु छ, महँगा रेस्टुरेन्ट, नयाँ परिकारको खाना पाउने ठाउँहरु छन्, त्यसैल सबैको सहजका लागि निर्माण गरिएको हो,’उहाँले भन्नुभयो, ‘ठाउँलाई हेरेर विदेशी र स्वदेशीलाई मनमोहक बनाउन ग्रेनाइट बिछ्याइएको छ । अहिले नयाँ बनाइएको बाथरुममा सबै ठाउँमा अहिले मार्बल राखेको हुन्छ । चिप्लिन्छ चिप्लिन्न त तर सफा गरिएन भने, अनेक कुरा जम्मा भयो भने समस्या आउला । डरले ग्रेनाइट नराख्ने भन्न मिल्दैन ।’

त्यस्तै, उहाँले अपाङ्गमैत्रीलाई कतिको ध्यान दिनुभएको छ भन्ने प्रश्नमा भन्नुभयो, ‘अलि सतर्कता अपनाउनुपर्‍यो । पक्कैपनि ह्विलचियरहरु पनि मजाले लान मिल्छ । अरुभन्दा थोरै चिप्लो खालको हुन्छ तर हिँडाइमा ध्यान दियो भने खासै चिप्लँदैन ।’

ग्रेनाइट राखेपछि त्यहाँको व्यापार व्यवसाय समेत बढ्ने उहाँको दाबी छ । ‘पार्किङ हटाएर व्यवसाय चौपट भएको भन्ने होइन । अब ग्रेनाइट राखेपछि त्यहाँ व्यापार बढ्छ । सबैजनालाई हिँड्न मन लाग्छ । गएपछि खान मन लाग्छ । किन्न मन लाग्छ,’उहाँले भन्नुभयो ।

दरबारमार्गमा ग्रेनाइट बिछ्याउँदा धेरै नै विवाद आएको भन्दै हाललाई अरु कुनै ठाउँमा बिछ्याउने योजना नरहेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, उहाँले पाँच करोड १४ लाखको बजेटमा १८७७ वर्ग मिटर स्क्वायर फिट र फुटपाथको लम्बाइ आठ सय मिटर रहेको पनि जानकारी दिनुभयो ।

पैदल यात्रुले साटे खुसी
तर, यता स्थानीय व्यवसायी एवम् पैदल यात्रु भने सन्तुष्ट नै रहेको बताउँछन् । ‘मेयर बालेन आफैँ एक प्राविधिक मान्छे भएको हुनाले चिप्लिने नचिप्लिने कुरा सोचेर नै गरेको विश्वास छ,’यात्रु अनुप खरेलले भन्नुभयो । आफूले पनि ग्रेनाइट बिछ्याइएको ठाउँमा हिँड्दा चिप्लिने जस्तो अनुभव नगरेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘विरोध भन्ने कुरा आई नै हाल्छ, आफ्नो काम गर्दै गर्नुपर्छ । म बालेनको पूरा साथमा छु । बालेन आफैँ एउटा प्राविधिक मान्छे भएको हुनाले चिप्लिने नचिप्लिने कुरा उहाँले सोचेर नै गर्नुभएको होला । यति धेरै पैसा खर्च भइसकेपछि राम्रो तरिकाले नै बनाउने सोच गर्नुभएको होला तर मैले हेर्दा चिप्लिन्छ जस्तो लाग्दैन ।’

यस्तै, पैदल यात्रु राधिका रिजालले पनि ग्रेनाइट बिछ्याएर मेयर शाहले एकदमै राम्रो काम गरेको भन्दै धन्यावद दिनुभयो । उहाँले भन्नुभयो, ‘बालेनलाई धेरै धन्यवाद भन्न चाहन्छु । उहाँले एकदमै राम्रो काम गर्नुभएको छ । उहाँ जस्तै अरुले पनि यसरी काम गर्ने हो भने अत्ति नै राम्रो हुन्छ । पानी परेको बेला चिप्लो हुन्छ कि हुदैन थाहा छैन । भन्नको लागि त नचिप्लिने नै भनेको छ । बालेनले यस्ता धेरै काम गर्नुभएको छ त्यसमा धन्यवाद दिन चाहान्छु ।’

अर्की यात्रु ज्योति थेवेका अनुसार दरबारमार्गमा ग्रेटाइट बिछ्याउने काम एकदमै राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘बालेन मलाई मनपर्ने मेयर हुन् । उहाँले कामहरु पनि राम्रो नै गर्नुभएको छ । यहाँ गरिएको काम एकदमै राम्रो छ । विवाद गर्नलाई विवाद झिकिएको हुनसक्छ । कोही कोही मान्छेको विचार नै त्यस्तै हुन्छ । तर, विस्तारै सबैले बुझ्नु हुन्छ होला । पानी पर्दा केही चिप्लो हुनसक्छ हुँदैन भन्ने होइन ।’ -नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *