पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल

धरान, २६ जेठ । भोजपुरको अरुण गाउँपालिकामा जन्मिनुभएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय हुनुहुन्छ । उहाँ विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा संरक्षणका लागि सारङ्गी रेट्दै लोकगीत गुनगुनाउनुहुन्छ । सोमबार साँझपख भेडेटारमा भेटिनुभएका गन्धर्वले भन्नुभयो,“मेरा लागि यो मनोरञ्जनको माध्यम मात्र नभइ जीवनका भोगाइ, वैदेशिक रोजगारीका अनुभव तथा सामाजिक चेतनाका सन्देश अभिव्यक्त गर्ने माध्यम पनि हो । यो पुर्ख्यौली पेसाप्रतिको सम्मान पनि हो ।” बुबाको प्रेरणाले १० वर्षकै उमेरदेखि सारङ्गी समात्न सिक्नुभएका हिमालले १५ वर्षको उमेरदेखि व्यावसायिक रूपमा गीत गाइरहेको सुनाउनुभयो । आफ्नो समुदायको मौलिक संस्कृति र पहिचानलाई निरन्तरता दिने क्रममा उहाँ पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरदेखि चितवन, काभ्रे र काठमाडौँसम्म पुगिक्नुभएको छ । कुनै समय सार्वजनिक बस सवारीसाधनमा गीत गाएर जीविका चलाउँदै आउनुभएका हिमालले हाल धरान, भेडेटारलगायत विभिन्न स्थानमा पुगेर सारङ्गीको धुनसँगै विभिन्न गीत सुनाइरेको बताउनुभयो । “जीवनयापनको खोजीमा १९ वर्षको उमेरमा वैदेशिक रोजगारका...

पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल

धरान, २६ जेठ । भोजपुरको अरुण गाउँपालिकामा जन्मिनुभएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय हुनुहुन्छ ।

उहाँ विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा संरक्षणका लागि सारङ्गी रेट्दै लोकगीत गुनगुनाउनुहुन्छ । सोमबार साँझपख भेडेटारमा भेटिनुभएका गन्धर्वले भन्नुभयो,“मेरा लागि यो मनोरञ्जनको माध्यम मात्र नभइ जीवनका भोगाइ, वैदेशिक रोजगारीका अनुभव तथा सामाजिक चेतनाका सन्देश अभिव्यक्त गर्ने माध्यम पनि हो । यो पुर्ख्यौली पेसाप्रतिको सम्मान पनि हो ।”

बुबाको प्रेरणाले १० वर्षकै उमेरदेखि सारङ्गी समात्न सिक्नुभएका हिमालले १५ वर्षको उमेरदेखि व्यावसायिक रूपमा गीत गाइरहेको सुनाउनुभयो । आफ्नो समुदायको मौलिक संस्कृति र पहिचानलाई निरन्तरता दिने क्रममा उहाँ पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरदेखि चितवन, काभ्रे र काठमाडौँसम्म पुगिक्नुभएको छ ।

कुनै समय सार्वजनिक बस सवारीसाधनमा गीत गाएर जीविका चलाउँदै आउनुभएका हिमालले हाल धरान, भेडेटारलगायत विभिन्न स्थानमा पुगेर सारङ्गीको धुनसँगै विभिन्न गीत सुनाइरेको बताउनुभयो । “जीवनयापनको खोजीमा १९ वर्षको उमेरमा वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुपर्‍यो । करिब चार वर्ष वैदेशिक रोजगारीपछि स्वदेश फर्किएर आफ्नै पुर्ख्यौली पेसामा लागेको थिए । त्यसयता निरन्तर सारङ्गी वादन र गायनमा सक्रिय छु”, उहाँले भन्नुभयो ।

सारङ्गी बजाएर मात्र पूर्ण रूपमा जीविकोपार्जन गर्न कठिन हुने अनुभव सुनाउँदै हिमाल भन्नुहुन्छ, “जीविकोपार्जनका हिसाबले समस्या छ, तर बाबु, बाजे बोजुहरूले संरक्षण गर्दै आएको समुदायको पहिचानसँग जोडिएको पेसा भएकाले छोड्न सकिँदैन । नयाँ पुस्ताले पनि यसको जगेर्ना गर्नुपर्छ भन्ने सोचले निरन्तरता दिइरहेको छु ।”

उहाँका अनुसार बर्सात तथा प्रतिकूल मौसममा आम्दानी निकै कम हुने गरेको छ । हिउँद र पर्यटकीय सिजनमा भने मासिक २० हजारदेखि २५ हजार रूपैयाँसम्म कमाइ हुने गरेको छ । बिहानदेखि साँझ ७ बजेसम्म सडकमा बसेर गीत सुनाउँदा पनि कहिलेकाहीँ रित्तो हात फर्किनुपर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

हिमालले भन्नुभयो, “गीत गाएर हुने यही कमाइले मात्रै परिवार धान्न गाह्रो हुन्छ, त्यसैले गाउँमा खेतीपाती पनि गर्नुपर्छ । पहाडमा धान फल्ने खेतबारी छैन, पाखोबारीमा थोरै मकैखेती गरिन्छ, त्यो काम सकेर सहर पस्छु । खेती र सारङ्गीलाई सँगसँगै अघि बढाएर जीवनयापन गरिरहेको छु ।”

यहाँका अधिकांश ठाउँमा विवाह, व्रतबन्धलगायत शुभकार्यमा गन्धर्व कलाकारलाई बोलाएर गीत गाउन लगाउने चलन छ । भजन टोलीसँगै सारङ्गी वादनका लागि कहिलेकाहीँ निम्तो आउने गरेको र त्यस्तो समयमा अलि बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय यस्तो प्रचलनमा कमि आइरहेको र नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदा मौलिक कला सङ्कटमा पर्दै गएको भन्दै हिमालले चिन्ता व्यक्त गर्नुभयो ।

गन्धर्व समुदायजसलाई ‘गाइने’ जातिका रूपमा पनि चिनिन्छ । यो नेपालका लोपोन्मुख तथा अल्पसङ्ख्यक जातिमध्ये एक हो । भोजपुर, कास्की, तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख र सुर्खेतलगायत जिल्लामा यस समुदायको बढी बसोबास रहेको पाइन्छ ।

नेपाली लोकसङ्गीत र लोक जीवनको संरक्षण तथा प्रवर्द्धनमा गन्धर्व समुदायको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । सारङ्गी र मादलजस्ता वाद्यवादनमार्फत लोकसंस्कृतिलाई पुस्तान्तरण गर्दै आएका गन्धर्वहरूले लोकगीतलाई जीविकोपार्जनको माध्यम समेत बनाएका छन् । यिनै लोकस्रष्टाको प्रेरणाबाट पछिल्लो समय अन्य समुदायका मानिसले पनि सारङ्गी बजाउने र बनाउने गरेको पाइन्छ ।

पुर्ख्यौली पेसालाई आधुनिक समयसम्म जीवित राख्न सङ्घर्षरत हिमाल गन्धर्वको जीवनयात्राले नेपाली लोकसंस्कृतिको संरक्षणमा समर्पित एक कलाकारको प्रयासलाई उजागर गरेको छ । “सारङ्गीको प्रत्येक धुनसँगै समाजको यथार्थ र मानिसका पीडा पनि भन्ने गरेका छौँ । आफ्नो समुदायको इतिहास, पहिचान र संस्कृतिलाई जीवन्त बनाइ राख्न पनि यस पेसामा क्रियाशील छु । यसको निरन्तरताका लागि युवा पुस्तालाई जागरूक गर्न सरोकार भएकाहरूले ध्यान दिन आवश्यक छ”, उहाँ भन्नुहुन्छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *