‘काजी’ मा प्रेमको सुक्ष्म अनुभूति, विपिन भन्छन्- ‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’

आकाङ्क्षा धामी काठमाडौँ, २ जेठ । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताउनुभयो । उहाँका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो । उहाँले भन्नुभयो, “पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौँ । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्‍यो ।” विपिनका अनुसार चलचित्रले प्रेमलाई केवल ठुला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । उहाँले श्रीमान्–श्रीमतीबिचको समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखिएको बताउनुभयो ।...

‘काजी’ मा प्रेमको सुक्ष्म अनुभूति, विपिन भन्छन्- ‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’
आकाङ्क्षा धामी

काठमाडौँ, २ जेठ । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताउनुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताउनुभयो । उहाँका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।

उहाँले भन्नुभयो, “पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौँ । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्‍यो ।”

विपिनका अनुसार चलचित्रले प्रेमलाई केवल ठुला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । उहाँले श्रीमान्–श्रीमतीबिचको समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुसीमा आफ्नो खुसी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सुक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ ।”

उहाँका अनुसार चलचित्रले प्रेमलाई केवल संवाद वा भावनामा सीमित नगरी व्यवहारिक जीवनका साना–साना पक्षमा खोजेको छ । “ठुला–ठुला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले सुक्ष्म ढङ्गले देखाएको छ,” उहाँले भन्नुभयो, “मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले ‘काजी–कजिनीको प्रेम पो प्रेम’ भन्नु हुनेछ ।”

विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाउनुभयो । उहाँले काजीको पात्रलाई आफ्नो जीवनसँग नजिक महसुस गरेको बताउनुभयो ।

“म आफैँ पनि एउटा श्रीमान् हुँ । त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु । अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,” उहाँले भन्नुभयो ।

चलचित्रको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उहाँले बताउनुभयो । प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उहाँले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताउनुभयो ।

अभिनयबारे बोल्दै विपिनले आफूले हरेक पात्रलाई फरक बनाउने प्रयास गर्ने गरेको उल्लेख गर्नुभयो । दर्शकको अपेक्षाले जिम्मेवारी बढाएको स्वीकार्दै उहाँले अझ राम्रो काम प्रस्तुत गर्ने प्रयास जारी रहने बताउनुभयो ।

“दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो विश्वासले दबाब पनि दिन्छ र कामप्रतिको जिम्मेवारी पनि बढाउँछ,” उहाँले भन्नुभयो ।

कलाकारले आफूले चाहेको भूमिका रोज्न नसक्ने भन्दै आफूलाई दिइएको पात्रलाई न्याय गर्नु नै मुख्य जिम्मेवारी भएको विपिनले बताउनुभयो । “यदि कलाकारले आफैँ भूमिका रोज्ने हो भने ऊ कास्टिङ निर्देशक बन्छ,” उहाँले हास्दै भन्नुभयो, “मलाई यो पात्रका लागि निर्माण टोलीले रोजेको हो, मैले त्यसलाई स्वीकृति दिएको हुँ ।

चलचित्रको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उहाँले अहिलेको नेपाली चलचित्रभन्दा फरक स्वाद दर्शकले ‘काजी’मा पाउने दाबी गर्नुभयो । विशेषगरी ‘वारि बर पारी पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि चलचित्रले राम्रो माहोल बनाइरहेको उहाँको भनाइ छ ।

उहाँले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले चलचित्र प्रचारमा ठुलो सहयोग पुगेको उल्लेख गर्दै राम्रो कथा, बलियो प्रस्तुति र टिमवर्क नै दर्शक हलसम्म तान्ने मुख्य आधार भएको बताउनुभयो ।

चलचित्रमा केकी अधिकारीको पनि अभिनय रहेको छ । विपिनका अनुसार निर्देशक, निर्माता र सम्पूर्ण कलाकार टोलीले इमान्दारीपूर्वक मेहनत गरेका छन् । छायाङ्कनका क्रममा भएको एउटा रमाइलो घटना पनि उहाँले सुनाउनुभयो । काभ्रेमा गीत छायाङ्कनका लागि जाँदा गुगल म्यापले गलत बाटो देखाउँदा टोली खोलामै फसेको उहाँले सम्झिनुभयो । “त्यतिबेला निकै तनाव भयो, तर अहिले सम्झिँदा रमाइलो लाग्छ,’ उहाँले हास्दै भन्नुभयो ।

उहाँले दर्शकलाई ‘काजी’ हेर्न आग्रह गर्दै यो चलचित्रले निराश नबनाउने विश्वास व्यक्त गर्नुभयो । “यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ । अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोणको चलचित्र हो,” उहाँले भन्नुभयो ।

दर्शकको विश्वासले जिम्मेवारी थप बढाउने उहाँले स्वीकार गर्नुभयो । “दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो माया र विश्वासले अझ राम्रो गर्न दबाब दिन्छ, यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ, अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोण र स्वाद बोकेको चलचित्र हो ‘काजी,” उहाँले भन्नुभयो ।

उहाँले अझै आफूले धेरै कुरा देखाउन बाँकी रहेको पनि बताउनुभयो । “अहिलेसम्म के देखाएको छु र ? अझै धेरै गर्न बाँकी छ । चाहेको पात्र पाउने दिन अझै आउन बाँकी छ,” उहाँले भन्नुभयो ।

अभिनय क्षेत्रमा पूर्णता सम्भव नरहेको भन्दै विपिनले हरेक फिल्मले नयाँ सिकाइ दिने अनुभव सुनाउनुभयो । “हरेक फिल्मपछि अब सिकियो जस्तो लाग्छ । तर, अर्को फिल्म गर्दा फेरि अघिल्ला गल्ती महसुस हुन्छन्,” उहाँले भन्नुभयो, “म आफ्नो कमजोरी आफैँ खोज्ने गर्छु ।”

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गर्नुभएको हो ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहनुभएको छ । चिन्तन राजभण्डारीको छायाङ्कन, कालीप्रसाद बास्कोटाको सङ्गीत र विपिन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ । –नेपाल न्युज बैङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *